हिरासतमा युवकको मृत्यु प्रकरण : छानबिनका लागि उच्चस्तरीय समिति गठन

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले सिन्धुलीमा हिरासतमा रहेका एक युवकको मृत्यु भएको घटनाबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ। घटनाको तथ्यगत र वस्तुनिष्ठ अनुसन्धान सुनिश्चित गर्न प्रहरी महानिरीक्षकको सचिवालयबाट समिति गठन गरिएको हो।

सिन्धुलीको सुनकोशी गाउँपालिका–३ का २३ वर्षीय दल बहादुर विक जबरजस्ती करणी मुद्दामा अनुसन्धानका क्रममा जिल्ला अदालतबाट म्याद थप भई इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा राखिएका थिए। उनी वैशाख ७ गते बिहान हिरासत कक्षको शौचालयमा आफ्नै लगाएको कालो सटेको पातो प्रयोग गरी झुन्डिएको अवस्थामा फेला परेका थिए।

गम्भीर अवस्थामा फेला परेका विकलाई उपचारका लागि लगिए पनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि सत्यतथ्य पत्ता लगाउन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जका प्रहरी नायब महानिरीक्षक दिनेश कुमार आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ। समितिमा मानव स्रोत तथा प्रशासन शाखाका प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्रनाथ पौडेल, केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक इन्द्रजित सुनार, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक प्रेम रेग्मी र प्रहरी नायब उपरीक्षक राजेन्द्र सापकोटा सदस्य रहेका छन्।

प्रहरी प्रधान कार्यालयले घटनाको सूक्ष्म अध्ययन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्न समितिलाई निर्देशन दिएको छ।

उक्त घटनाले हिरासत व्यवस्थापन, सुरक्षा सतर्कता र मानवअधिकार पालनासम्बन्धी प्रश्नहरू उठाएको छ। छानबिन समितिको प्रतिवेदनले घटनाको वास्तविकता सार्वजनिक गर्नुका साथै भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुधारका उपायहरू सुझाउने अपेक्षा गरिएको छ।

Facebook Comments Box
TOP
468 Shares