बाराको तीनदिने ‘इज्तेमा’ शान्तिपूर्ण रूपमा सम्पन्न, लाखौं श्रद्धालुको सहभागिता

बारा — बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. २४ मा गत शनिबारदेखि सुरु भएको तीनदिने इस्लामिक ‘इज्तेमा’ सोमबार भव्य र शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। धार्मिक सद्भाव र अनुशासनको उदाहरण प्रस्तुत गर्दै सम्पन्न कार्यक्रममा लाखौं मुस्लिम श्रद्धालुको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रम अवधिभर बेमौसमी वर्षा, हिलो तथा पहिलो दिनको अत्यधिक गर्मीका बाबजुद श्रद्धालुहरूको उत्साहमा कुनै कमी देखिएन। छिमेकी जिल्लाहरूबाट सोमबार बिहानैदेखि ठूलो संख्यामा सहभागीहरू इज्तेमा स्थलतर्फ आएका कारण क्षेत्रभर भीडभाड बढेको थियो।

अन्तिम दिन बिहान आयोजना गरिएको विशेष सामूहिक दुआ (प्रार्थना) मा लाखौं श्रद्धालु सहभागी भएका थिए। उक्त प्रार्थनामा देशमा शान्ति, सुव्यवस्था, आपसी भ्रातृत्व तथा मानव कल्याणको कामना गरिएको थियो। साथै, साना–ठूला सबै प्रकारका पापबाट क्षमा माग्दै विश्व कल्याणको कामना गरिएको सहभागीहरूले बताएका छन्।

कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, सांसद रहबर अन्सारी, रौतहट क्षेत्र नं. २ का सांसद मो फर्दोस आलम, साथै विभिन्न स्थानीय तहका प्रमुख तथा मुस्लिम धर्मगुरुहरूको उपस्थिति रहेको थियो।

दुआपछि सहभागीहरू आ–आफ्नो गन्तव्यतर्फ फर्किन थालेपछि सडक क्षेत्रमा केही समय ट्राफिक चाप देखिएको थियो। ट्राफिक व्यवस्थापनका लागि नेपाल प्रहरी तथा स्वयंसेवकहरू सक्रिय रूपमा खटिएका थिए।

सम्पूर्ण कार्यक्रमको सुरक्षा व्यवस्थापन इलाका प्रहरी कार्यालय सिमराका प्रमुख दिलीप क्षेत्रीको कमाण्डमा सम्पन्न भएको हो। कुनै पनि अप्रिय घटना नभई कार्यक्रम सफलतापूर्वक सम्पन्न हुनु आयोजक र प्रशासन दुवैका लागि उल्लेखनीय उपलब्धि मानिएको छ।

Facebook Comments Box
देशभर मनसुनी प्रभाव : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
२ दिन अगाडि

1.4kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज पनि विभिन्न…

TOP
465 Shares