

दीपक भट्ट प्रकरण: ‘विचौलिया साम्राज्य’ प्रहरीसम्म फैलिएको खुलासा, हतियार खरिददेखि शेयर बजारसम्म चलखेल
काठमाडौँ । शेयर कारोबारमा गम्भीर अनियमितता गरेको आरोपमा पक्राउ परेका विवादास्पद व्यापारी दीपक भट्टको प्रभाव राजनीतिक र आर्थिक क्षेत्रसँगै सुरक्षा निकायसम्म फैलिएको खुलासा हुन थालेको छ। पछिल्ला तथ्यहरूले भट्टले वर्षौंदेखि ‘विचौलिया नेटवर्क’ मार्फत राज्य संयन्त्रमा गहिरो पहुँच बनाएको संकेत गरेका छन्।
भट्टलाई सहयोग गरेको आरोप लागेका उच्च तहका निजामती कर्मचारीहरू—सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशकदेखि आन्तरिक राजस्व विभागका प्रमुखसम्म—लाई विभिन्न प्रदेशमा सरुवा गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले भट्टसँग जोडिएका गृहमन्त्री सुधन गुरुङलाई राजीनामा गराएपछि यस प्रकरणले थप राजनीतिक तरंग ल्याएको छ।
तर, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलभित्र भट्टसँग सम्बन्धित अधिकारीहरू भने हालसम्म औपचारिक छानबिनको दायरामा नआएको स्रोतको दाबी छ। भट्टले प्रहरीको प्रवन्ध शाखामार्फत ठेक्कापट्टामा प्रभाव जमाउँदै आएको र आईजीपी नियुक्तिसम्म ‘चलखेल’ गर्ने गरेको आरोप छ।
पूर्वप्रहरी अधिकारीहरूका अनुसार विभिन्न समयका उच्च पदस्थ प्रहरी अधिकारीहरूले भट्टलाई सहयोग गरेका थिए। विशेषतः प्रवन्ध शाखामा कार्यरत रहँदा केही अधिकृतहरूले खरिद प्रक्रियामा अनियमितता गर्न सहयोग गरेको आरोप छ। वाटर क्यानन खरिद प्रकरणमा सामान दाखिला नहुँदै भुक्तानी भएको विषयमा अख्तियारले समेत चासो देखाएको थियो।
प्रहरीभित्रका केही पूर्वअधिकारीहरू त भट्टको प्रत्यक्ष सहयोगीका रूपमा काम गर्दै आएको आरोपसमेत छ। हाल पनि केही बहालवाला तथा पूर्वअधिकारी र ठेकेदार समूहले भट्टलाई सहयोग गरिरहेको स्रोतको भनाइ छ।
यस प्रकरणको अर्को महत्वपूर्ण पक्ष हतियार खरिदसँग जोडिएको छ। भट्टले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका लागि ठूला हतियार खरिद ठेक्कामा प्रभाव जमाउने प्रयास गर्दै आएको खुलासा भएको छ। चार वर्षअघि करिब १ अर्ब ४० करोड रुपैयाँ बराबरको हतियार खरिद ठेक्का हात पारे पनि विवादपछि प्रक्रिया रोकिएको थियो।
त्यसपछि पुराना ठेक्काको म्याद थप गर्ने प्रावधान राखेर सार्वजनिक खरिद नियमावली संशोधन गराइएको र त्यसबाट लाभ उठाउने प्रयास भएको आरोप छ। भट्टले आफ्नो अनुकूल ठेक्का सुनिश्चित गर्न राजनीतिक नेतृत्व र सुरक्षा निकायका उच्च अधिकारीहरूलाई दबाब दिएकोसमेत बाहिर आएको छ।
२०७९ सालमा नेपाल प्रहरी र सशस्त्र प्रहरीमार्फत करोडौँ डलर बराबरको हतियार खरिद सम्झौता भएका थिए। तीमध्ये केही सम्झौताहरू विवादपछि स्थगित गरिएका थिए। भट्टसँग सम्बन्धित कम्पनीमार्फत पेस्तोल, सटगन, गोली र टियर ग्यास खरिद गर्ने सम्झौता भएको विवरण सार्वजनिक भएको छ।
शेयर बजारमा समेत भट्टको ठूलो चलखेल देखिएको छ। धितोपत्र बोर्डको सुपरिवेक्षणले भट्टले बजार मूल्य प्रभावित पार्ने, कृत्रिम उतारचढाव ल्याउने र जालसाजीपूर्ण कारोबार गरेको निष्कर्ष निकालेको छ। भृकुटी स्टक ब्रोकिङ कम्पनीमार्फत वास्तविक लेनदेनबिना करोडौँको कारोबार गरिएको प्रतिवेदनमा उल्लेख छ।
भट्टले विभिन्न वित्तीय संस्थाबाट अर्बौँ रुपैयाँ निकालेर बीमा तथा वित्तीय कम्पनीहरूको ठूलो मात्रामा शेयर खरिद गरेको देखिएको छ। ती कारोबारमै अनियमितता भएको अनुसन्धानबाट खुलेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई वर्षअघि नै भट्टमाथि छानबिन गर्न पत्राचार गरे पनि प्रक्रिया अघि बढ्न सकेको थिएन। तर, हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनलाई पक्राउ गरी विस्तृत अनुसन्धान गरिरहेको छ। सो विभागले भट्टलाई सहयोग गर्ने प्रहरी अधिकारीहरूको सूची तयार पारेर बयान लिने तयारी थालेपछि प्रहरी संगठनभित्रै हलचल मच्चिएको बताइएको छ।
दीपक भट्ट प्रकरणले नेपालको प्रशासनिक, राजनीतिक र सुरक्षा संयन्त्रभित्रको ‘सेटिङ संस्कार’ फेरि एकपटक उजागर गरेको छ। अनुसन्धानको दायरा फराकिलो बन्दै जाँदा थप उच्च तहका व्यक्तिहरू तानिन सक्ने आकलन गरिएको छ।
समाज
थप सामाग्री-
विशेष महाधिवेशनकै कारण कांग्रेस पराजित : पूर्णबहादुर खड्का
-
मनाङेलाई नियन्त्रणपछि रिहा: प्रहरीको दोहोरो मापदण्डमाथि प्रश्न
-
शेखर गोल्छा प्रकरण : सर्वोच्चको कडा आदेश, २४ घण्टाभित्र उपस्थित गराउन निर्देशन
-
लाइसेन्स वितरणमा नयाँ कडाइ: उमेर हद र स्वास्थ्य मापदण्डमा व्यापक परिवर्तनको प्रस्ताव
-
बाराको तीनदिने ‘इज्तेमा’ शान्तिपूर्ण रूपमा सम्पन्न, लाखौं श्रद्धालुको सहभागिता
प्रहरी निरीक्षक बसन्त कुमार दाहालको सम्मानजनक बिदाई
९ घण्टा अगाडि
2.1kViews 225 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रहरी सेवामा लामो समय योगदान पुर्याएका प्रहरी निरीक्षक बसन्त…



