प्रधानन्यायाधीश सिफारिसमा गगन थापाको कडा आपत्ति : ‘प्रधानमन्त्रीले संविधानको धज्जी उडाउनुभयो’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानन्यायाधीश सिफारिस प्रक्रियामा प्रधानमन्त्री बालेन्द्र शाहले संविधानको मर्मविपरीत निर्णय गरेको भन्दै गम्भीर आपत्ति जनाएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले संवैधानिक परिषद्को निर्णय प्रक्रियामाथि प्रश्न उठाउँदै प्रधानमन्त्रीको भूमिकाप्रति तीव्र असन्तुष्टि व्यक्त गरे । उनले प्रधानन्यायाधीश सिफारिस प्रक्रियाले संवैधानिक व्यवस्था र परिषद्को उद्देश्यलाई नै कमजोर बनाएको आरोप लगाए ।

थापाले भने, ‘संवैधानिक परिषद्मा प्रधानमन्त्रीको दादागिरी चल्न हुँदैन भनेर स्पष्ट शब्दमा व्यवस्था गरिएको छ । तर अहिलेको निर्णय प्रक्रियाले त्यसको पूर्ण रूपमा धज्जी उडाइएको छ ।’

उनका अनुसार संवैधानिक परिषद्सम्बन्धी व्यवस्थाको मूल उद्देश्य प्रधानमन्त्रीको एकल प्रभावलाई नियन्त्रण गर्नु भए पनि पछिल्लो निर्णयले त्यसको ठीक विपरीत सन्देश दिएको छ । उनले न्यायपालिकाजस्तो संवेदनशील संस्थामा परम्परा, वरिष्ठता र संस्थागत मर्यादालाई बेवास्ता गरिएको बताए ।

बिहीबार बसेको संवैधानिक परिषद्को बैठकमा प्रधानमन्त्री शाहले सर्वोच्च अदालतका चौथो वरीयतामा रहेका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेका थिए । नेपालको न्यायिक इतिहासमै वरिष्ठतम् न्यायाधीशलाई पन्छाएर रोलक्रमको चौथो नम्बरमा रहेका न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको यो पहिलो घटना बनेको छ ।

यसै विषयलाई लिएर राजनीतिक वृत्त, कानुन व्यवसायी तथा न्याय क्षेत्रभित्र व्यापक बहस सुरु भएको छ । विपक्षी दलहरूले निर्णयलाई न्यायपालिकाको स्वतन्त्रता र संस्थागत अभ्यासमाथिको हस्तक्षेपका रूपमा व्याख्या गर्न थालेका छन् ।

Facebook Comments Box
TOP
109 Shares