बजेट अधिवेशन आजदेखि सुरु, राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

काठमाडौँ — सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि सुरु हुँदैछ। अधिवेशनको पहिलो दिनमै सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको छ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरिका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ। नेपालको संविधानको धारा ९५ बमोजिम अपराह्न ४:०० बजे नीति तथा कार्यक्रम प्रस्तुत गरिनेछ।

उक्त धारामा प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन तथा प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुपर्ने व्यवस्था गरिएको छ।

संयुक्त बैठकमा उपस्थित हुन प्रतिनिधिसभा तथा राष्ट्रियसभा सदस्यहरूलाई संसद् सचिवालयले अपराह्न ३:४५ बजेभित्रै संसद् भवनमा उपस्थित हुन अनुरोध गरेको छ।

छुट्टाछुट्टै बैठक र प्रारम्भिक कार्यसूची

संयुक्त बैठकअघि अपराह्न २:०० बजे प्रतिनिधिसभा र राष्ट्रियसभाका छुट्टाछुट्टै बैठकहरू बस्ने कार्यसूची तय गरिएको छ।

प्रतिनिधिसभाको बैठकमा प्रारम्भमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी प्राप्त पत्रबारे जानकारी दिइनेछ। त्यसपछि मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई अवगत गराइनेछ।

त्यसैगरी सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गरिनेछ। साथै प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २६० बमोजिम जारी गरिएको बाधा अड्काउ फुकाउ अनुमोदनका लागि पेस गरिनेछ। नियमावलीको मस्यौदा पनि सोही बैठकमा प्रस्तुत गरिनेछ।

अध्यादेशहरू पनि सदनमा पेस हुने

यस अधिवेशनमा सरकारले जारी गरेका विभिन्न आठ वटा अध्यादेशहरू पनि प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनमा पेस गर्ने कार्यसूची रहेको छ।

तीमध्ये सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ तथा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश, २०८३ लगायत प्रमुख रहेका छन्।

संसद् सचिवालयले सम्पूर्ण तयारी पूरा भएको जनाउँदै अधिवेशन सुचारु रूपमा सञ्चालन हुने विश्वास व्यक्त गरेको छ।

 

Facebook Comments Box
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
२ दिन अगाडि

1.3kViews 187 Shares Share on Facebook Share on Twitter रुपन्देही । नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले…

TOP
260 Shares