भिजिट भिसाको आवरणमा नेपाली महिलालाई घरेलु कामदार बनाउने मानव तस्करीको नयाँ शैली सार्वजनिक

काठमाडौँ । नेपाली चेलीहरुलाई भिजिट भिसाको आवरणमा घरेलु कामदारका रूपमा खाडी मुलुकतर्फ तस्करी गर्ने गरिएको तथ्य फेरि सार्वजनिक भएको छ। पर्यटक भिसामा एक देश हुँदै अर्को देश पुर्‍याएर घरेलु कामदारका रूपमा राख्ने गरिएको पाइएको हो।

सरकारले महिलालाई घरेलु कामदारका रूपमा खाडी मुलुक पठाउन केही वर्षअघि नै प्रतिबन्ध लगाएको थियो। अत्यधिक श्रम शोषण र यौन दुर्व्यवहारका घटना सार्वजनिक भएपछि यस्तो निर्णय गरिएको हो। तर, प्रतिबन्धका बाबजुद पनि अवैध माध्यमबाट महिलाहरू खाडी मुलुक पुग्ने क्रम रोकिएको छैन।

यसले नेपालको अध्यागमन प्रणाली, विमानस्थल सुरक्षा र राज्यको निगरानी क्षमतामाथि गम्भीर प्रश्न उठाएको छ।

हालैको घटनामा गंगा बिक र अस्मिता सुनार परियार भिजिट भिसामा काठमाडौँबाट ओमन जाने भन्दै प्रस्थान गरेका थिए। उनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओमन जाने र फर्किने टिकट देखाएका थिए। तर, उनीहरू ओमन नगई दुबई हुँदै कुवेत पुगेको खुलासा भएको छ।

जानकारी अनुसार उनीहरू दुबई पुगेपछि जजिरा एयरवेजमार्फत कुवेत गएका थिए। अझ गम्भीर कुरा, उनीहरूको कुवेत यात्रा पहिले नै ‘कन्फर्म’ अवस्थामा रहेको पाइएको छ। यसले उनीहरूको वास्तविक गन्तव्य परिवर्तन कसरी र किन भयो भन्ने प्रश्न उठाएको छ।

यदि उनीहरू ओमनका लागि नेपालबाट प्रस्थान गरेका थिए भने दुबई पुगेपछि कुवेतको टिकट कसले र किन परिवर्तन गर्‍यो भन्ने विषय अझै स्पष्ट भएको छैन। साथै, विमानस्थल अध्यागमनले यस्तो परिवर्तनबारे किन निगरानी गर्न सकेन भन्ने प्रश्न पनि उठेको छ।

पछिल्लो समय भिजिट भिसा मानव तस्करीको प्रमुख माध्यम बनेको देखिएको छ। वैदेशिक रोजगार विभागले श्रम स्वीकृतिबिना घरेलु कामका लागि महिलालाई खाडी मुलुक पठाउन रोक लगाएपछि दलालहरूले नयाँ बाटो अपनाएको आरोप छ।

यसअन्तर्गत महिलालाई ‘पर्यटक’ वा ‘आफन्त भेट्न जाने’ बहानामा नेपालबाट दुबई, मस्कटजस्ता ट्रान्जिट मुलुक हुँदै अन्तिम गन्तव्यमा पुर्‍याइन्छ। त्यसपछि उनीहरूलाई कुवेत, साउदी अरब लगायतका मुलुकमा घरेलु कामदारका रूपमा राख्ने, पासपोर्ट खोस्ने र सम्पर्कविहीन बनाउने गरिएको बताइन्छ। कतिपय अवस्थामा यौन शोषणसमेत हुने गरेको मानव अधिकारकर्मीहरूले बताएका छन्।

मानव अधिकारकर्मीहरूका अनुसार यो मानव बेचबिखनको आधुनिक र जटिल स्वरूप हो। उनीहरूको भनाइमा नेपालको अध्यागमन प्रणाली कमजोर भएकाले यस्ता घटना रोक्न कठिन भएको छ।

एक मानव अधिकारकर्मीका अनुसार, “उनीहरू भिजिट भिसामा गएका हुन् तर फर्किए कि फर्किएनन् भन्ने अनुगमन प्रभावकारी छैन। फितलो अध्यागमन प्रणालीका कारण यस्तो गतिविधि रोक्न सकिएको छैन।”

यस घटनाले नेपालको पासपोर्ट प्रणाली र वैदेशिक यात्रा निगरानी संरचनामाथि पनि प्रश्न उठाएको छ। स्रोतहरूका अनुसार यस्तो मानव तस्करी केवल दलालमार्फत मात्र सम्भव नभई एजेन्सी नेटवर्क, ट्राभल व्यवस्थापन, भिसा सेटिङ र ट्रान्जिट समन्वयसम्म जोडिएको हुनसक्ने आशंका गरिएको छ।

अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालले कुवेतमा घरेलु कामदार पठाउन लगाइएको प्रतिबन्ध अझै कायम रहेको बताएका छन्। उनले भने, “कुवेतमा रोक लगाइएको छ, त्यो जारी नै छ। ट्रान्जिट बनाएर जाने विषयमा हामीले पनि निगरानी गरिरहेका छौँ।”

सरकारले प्रतिबन्ध लगाए पनि भिजिट भिसाको आडमा भइरहेको यस्तो गतिविधिले राज्य संयन्त्रको प्रभावकारिता र नियन्त्रण प्रणालीमाथि गम्भीर चुनौती खडा गरेको छ।

Facebook Comments Box
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
२ दिन अगाडि

1.3kViews 187 Shares Share on Facebook Share on Twitter रुपन्देही । नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले…

TOP
337 Shares