चर्चित टिकटकर तुलसा अधिकारी त्रिभुवन विमानस्थलबाट पक्राउ

काठमाडौं । चर्चित टिकटकर तथा आभूषण व्यवसायी तुलसा अधिकारी ठगी, आपराधिक धम्की तथा ब्ल्याकमेलिङसम्बन्धी आरोपमा पक्राउ परेकी छन्। उनलाई शनिबार राति करिब ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इन्टरपोलको समन्वयमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

ललितपुर प्रहरीका प्रवक्ता एसपी गौतम मिश्रका अनुसार अदालतबाट पक्राउ पुर्जी जारी भएपछि अधिकारीलाई इन्टरपोलको रेड नोटिसका आधारमा नियन्त्रणमा लिइएको हो। उनलाई हाल प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको छ।

प्रहरीका अनुसार अधिकारीविरुद्ध ठगी, आपराधिक धम्की, ब्ल्याकमेलिङ तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा समेत अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुसन्धान फाइल अदालतमा पेस भइसकेको र उनलाई सोमबार अदालतमा उपस्थित गराइने तयारी गरिएको प्रहरीले जनाएको छ।

‘हनी ट्र्याप’ शैलीमा करोडौं असुलिएको आरोप

सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’का सञ्चालकले दिएको जाहेरीअनुसार व्यक्तिगत सम्बन्ध बिग्रिएपछि उनलाई जबरजस्ती करणी मुद्दामा फसाइदिने धम्की दिँदै पटक–पटक रकम असुल गरिएको दाबी गरिएको छ।

पीडितले दिएको बयानअनुसार व्यापारिक सम्बन्धका नाममा परिचय बढाई पछि होटल तथा अन्य स्थानमा गोप्य रूपमा तस्बिर/भिडियो खिचेर ब्ल्याकमेल गरिएको आरोप छ। ती सामग्री सार्वजनिक गर्ने धम्की दिँदै नगद, सुनका गहना, सवारी साधन तथा व्यवसायमा लगानी गराउन बाध्य पारिएको दाबी जाहेरीमा उल्लेख छ।

करिब ६ करोड रुपैयाँ क्षतिको दाबी

पीडित पक्षका अनुसार विभिन्न चरणमा नगद, बैंक ट्रान्सफर, गरगहना, पसल सञ्चालन, घर भाडा तथा अन्य शीर्षकमा ठूलो रकम असुल गरिएको छ। प्रारम्भिक विवरणअनुसार करिब ३ करोड ९० लाख रुपैयाँभन्दा बढी प्रत्यक्ष भुक्तानी भएको र कुल क्षति करिब ६ करोड रुपैयाँसम्म पुगेको दाबी गरिएको छ।

प्रहरीले बैंक भौचर, भ्वाइस म्यासेज, लेनदेन विवरण तथा डिजिटल प्रमाणहरू संकलन गरिरहेको जनाएको छ।

पक्राउ पुर्जीपछि सम्पर्कविहीन, अन्तर्राष्ट्रिय समन्वयपछि पक्राउ

अदालतबाट पक्राउ पुर्जी जारी भएपछि अधिकारी सम्पर्कविहीन भएको र चीनतर्फ लुकेको आशंका गरिएको प्रहरीले जनाएको छ। त्यसपछि इन्टरपोलमार्फत रेड नोटिस जारी गरी खोजी गरिएको थियो।

पछि उनी नेपाल फर्किएको अवस्थामा विमानस्थलमै नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ।

सम्पत्ति शुद्धीकरणको अनुसन्धानसमेत

यस घटनासँग सम्बन्धित आर्थिक कारोबारबारे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा समेत उजुरी परेको छ। प्राप्त रकमको स्रोत, अन्तरदेशीय कारोबार तथा वित्तीय लेनदेनको विस्तृत अध्ययन भइरहेको बताइएको छ।

प्रहरीको भनाइ

प्रहरीले अनुसन्धान जारी रहेकाले अन्तिम निष्कर्ष नआएसम्म कसैलाई दोषी वा निर्दोष ठहर गर्न नसकिने जनाएको छ। घटनासँग सम्बन्धित थप व्यक्तिहरूको भूमिकाबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

हालसम्म आरोपी पक्षबाट कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।

Facebook Comments Box
डिएसपी कोपिला चुडालको प्रमुख आतिथ्यतामा शुभकामना आदान–प्रदान तथा कानुनी अनुशिक्षण कार्यक्रम सम्पन्न
१ दिन अगाडि

1.7kViews 265 Shares Share on Facebook Share on Twitter मनाङ । जिल्ला प्रहरी कार्यालय मनाङमा ‘गणतन्त्र दिवस २०८३’ को उपलक्ष्यमा…

TOP
396 Shares