राप्रपाभित्रको विवादमा ज्ञानेन्द्र शाहीको कडा आक्रोश : “जुँगाको लडाइँले युवाहरू वाक्क भए, अब फुट्ने होइन जुट्ने बेला हो”

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र चुलिँदै गएको आन्तरिक विवादप्रति सांसद ज्ञानेन्द्र शाहीले तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। पार्टी नेतृत्वबीचको शक्ति संघर्ष र आरोप–प्रत्यारोपले कार्यकर्ता तथा युवापुस्तामा निराशा बढाएको भन्दै उनले नेताहरूलाई तत्काल संवाद र एकतामा आउन आग्रह गरेका छन्।

शाहीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको धारणाामा नेताहरूको व्यवहारप्रति आक्रोश व्यक्त गर्दै भनेका छन्, “तिमीहरूको डीएनएमै मिलेर जाने भन्ने रहेनछ। तिमीहरूको जुँगाको लडाइँ देखेर हामी युवाहरू वाक्क भइसकेका छौं। कार्यकर्ताहरू एकअर्काको पक्ष–विपक्षमा लागेर लडिरहेका छन्। अलिकति पनि लाज लाग्दैन?”

उनले अहिलेको समय एकअर्कामाथि आरोप लगाएर पार्टी फुटाउने नभई संगठनलाई थप बलियो बनाउने बेला भएको उल्लेख गरेका छन्। “यतिखेरको समय टुट्ने र फुट्ने होइन, जुट्ने हो। तर तिमीहरूलाई देखेर युवाहरूले के आशा गर्ने?” भन्दै उनले नेतृत्वप्रति प्रश्न उठाएका छन्।

शाहीले एक नेताले लगातार चुनावी हार बेहोर्दासमेत नेतृत्व नछोडेको र अर्कोतर्फ अर्को नेताले चुनाव नै नलडी नेतृत्व प्राप्त गर्न खोजेको संकेत गर्दै पदका लागि भइरहेको हानाथाप र अहंकारमाथि कटाक्ष गरेका छन्।

उनका अनुसार नेतृत्वको यस्तो व्यवहारले संगठन मात्रै नभई कार्यकर्ताको मनोबल र युवाहरूको भरोसा पनि कमजोर बनाइरहेको छ। “नेतृत्व भनेको पदमा टाँसिएर बस्ने होइन, आवश्यक पर्दा त्याग गर्न सक्ने क्षमता हो,” उनले भनेका छन्।

पार्टीभित्र जारी विवाद समाधानका लागि आफू मध्यस्थताको भूमिकामा बस्न तयार रहेको जनाउँदै शाहीले सम्बन्धित नेताहरूलाई खुला चुनौतीसमेत दिएका छन्। “यदि तिमीहरूको हिम्मत र दम छ भने, म बस्छु। हामी तीनजना सँगै बसौँ, छलफल गरौँ,” उनले भने।

राप्रपाभित्र पछिल्लो समय देखिएको गुटगत राजनीति र नेतृत्व संघर्षप्रति असन्तुष्टि व्यक्त गर्दै शाहीले अन्त्यमा कटाक्षपूर्ण शैलीमा भनेका छन्, “तिमीहरूको यो खुरापाती राजनीति देखेर भगवान पनि वाक्क भइसक्नुभएको होला।”

उनको यो अभिव्यक्तिले राप्रपाभित्रको आन्तरिक विवादलाई थप चर्चामा ल्याएको छ भने पार्टी एकताको पक्षमा दबाबसमेत बढाएको राजनीतिक वृत्तमा चर्चा छ।

Facebook Comments Box
TOP
186 Shares