डिआईजी विनोद घिमिरेको प्रमुख आतिथ्यतामा अपराध अनुसन्धान अनुशिक्षण तालिम सम्पन्न

विराटनगर । पाँच कार्यदिनसम्म सञ्चालन गरिएको “सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशका हातहतियार निर्माण एवं विस्तारमा वित्तीय लगानी” सम्बन्धी अपराध अनुसन्धान अनुशिक्षण तालिम सम्पन्न भएको छ।

कोशी प्रदेश प्रहरी कार्यालयको आयोजनामा सञ्चालित उक्त तालिमको समापन जेठ २२ गते कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) विनोद घिमिरेको प्रमुख आतिथ्यतामा गरिएको हो।

समापन कार्यक्रममा डिआईजी घिमिरेले वित्तीय अपराध, सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिसँग सम्बन्धित अपराधको अनुसन्धानलाई प्रभावकारी बनाउन यस्ता तालिम महत्वपूर्ण हुने बताए। उनले बदलिँदो अपराधको स्वरूपअनुसार अनुसन्धानकर्ताको क्षमता अभिवृद्धि आवश्यक रहेको उल्लेख गर्दै तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गरे।

तालिममा प्रदेशअन्तर्गत कार्यरत प्रहरी अधिकृत तथा अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो। पाँच दिनसम्म सञ्चालन भएको तालिममा सम्पत्ति शुद्धीकरण, आतंकवादी गतिविधिमा वित्तीय लगानी, आम विनाशका हातहतियार निर्माण तथा विस्तारसँग सम्बन्धित कानुनी व्यवस्था, अनुसन्धान प्रक्रिया र व्यावहारिक पक्षबारे प्रशिक्षण प्रदान गरिएको थियो।

कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै तालिम सफलतापूर्वक सम्पन्न भएको घोषणा गरिएको थियो।

Facebook Comments Box
TOP
472 Shares