सुधन गुरुङ पुनः गृहमन्त्री नियुक्त, आजै शपथ ग्रहण

काठमाडौँ । पूर्वगृहमन्त्री सुधन गुरुङ पुनः गृहमन्त्रीमा नियुक्त भएका छन्। उनको पद तथा गोपनीयताको शपथ आज दिउँसो ३ बजे राष्ट्रपतिको कार्यालय शीतलनिवासमा हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

व्यापारी दीपक भट्टसँग व्यापारिक साझेदारी तथा माइक्रो इन्स्योरेन्स कम्पनीमा लगानी गरेको विषय सार्वजनिक भएपछि गुरुङ विवादमा तानिएका थिए। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको थुनामा रहेका भट्टसँग सम्बन्धित लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सको सेयर खरिदबारे प्रश्न उठेपछि उनीमाथि राजनीतिक र सार्वजनिक दबाब बढेको थियो।

गुरुङले भने आफूले सापटी लिएर करिब ५० लाख रुपैयाँ बराबरको सेयर खरिद गरेको दाबी गर्दै आएका थिए। बढ्दो आलोचनाबीच उनले वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। उनी पहिलो कार्यकालमा जम्मा २६ दिन मात्रै गृहमन्त्रीको जिम्मेवारीमा रहेका थिए।

विवादको सत्यतथ्य छानबिन गर्न मन्त्रिपरिषद्को वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको थियो। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य थिए। समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको भए पनि अध्ययनका लागि थप पाँच दिन समय थपिएको थियो।

समितिले विस्तृत अध्ययनपछि गुरुङमाथि लगाइएका आरोप पुष्टि हुन नसकेको निष्कर्ष निकालेको छ। ४५ पृष्ठ लामो प्रतिवेदनमा गुरुङका चल तथा अचल सम्पत्तिको परीक्षण गर्दा सम्पत्तिको स्रोत अवैध रहेको प्रमाण फेला नपरेको उल्लेख गरिएको छ।

प्रतिवेदनले सम्पत्ति विवरणमा देखिएका केही त्रुटिलाई व्यक्तिगत कमजोरीभन्दा राज्यको अभिलेख तथा व्यवस्थापन प्रणालीको कमजोरीका रूपमा व्याख्या गरेको छ। समितिको निष्कर्षपछि गुरुङले पुनः गृहमन्त्रीको जिम्मेवारी पाएका हुन्।

छानबिन समितिबाट सफाइ पाएसँगै गुरुङको मन्त्रिपरिषद्मा पुनरागमन भएको छ भने उनको पुनर्नियुक्तिले समकालीन राजनीतिक वृत्तमा नयाँ बहस र चर्चा पनि सुरु गरेको छ।

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि

3.0kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
437 Shares