टोले गुण्डागर्दीको आतंक मच्चाउने श्याम लामा पक्राउ, प्रहरीको कडा कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा लामो समयदेखि स्थानीय बासिन्दामाझ ‘टोले गुण्डा’को रूपमा चिनिएका श्याम लामा उर्फ श्यामबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ। गुण्डागर्दी, धम्की, त्रास र सार्वजनिक शान्ति भंग गर्ने गतिविधिमा संलग्न रहेको आरोपमा उनलाई नियन्त्रणमा लिएसँगै स्थानीयवासीले राहतको अनुभूति गरेका छन्।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ बाट ३७ वर्षीय तामाङलाई बिहीबार मध्याह्न प्रहरीले पक्राउ गरेको हो। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ स्थायी घर भएका उनी हाल कागेश्वरी मनोहरामा बस्दै आएका थिए।

प्रहरी वृत्त बौद्धबाट खटिएको विशेष टोलीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीका अनुसार तामाङविरुद्ध टोले गुण्डागर्दी, अभद्र व्यवहार तथा स्थानीय क्षेत्रमा आतंक फैलाउने गतिविधिबारे विभिन्न गुनासो प्राप्त भएपछि निगरानी बढाइएको थियो।

अनुसन्धानका क्रममा तामाङको आपराधिक पृष्ठभूमि पनि सार्वजनिक भएको छ। प्रहरी अभिलेखअनुसार उनी यसअघि २०७० सालमा अपहरण तथा शरीर बन्धक सम्बन्धी मुद्दामा पक्राउ परेका थिए। त्यसपछि २०७५ सालमा अभद्र व्यवहारको मुद्दा तथा २०७९ र २०८० सालमा पनि अभद्र व्यवहारसम्बन्धी घटनामा पक्राउ परिसकेका व्यक्ति हुन्।

प्रहरी स्रोतका अनुसार पटक–पटक कानुनी कारबाहीमा परे पनि सुधारको बाटो नसमाती उनी पुनः समाजमा त्रास सिर्जना गर्ने गतिविधिमा संलग्न हुँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। स्थानीयवासीलाई धम्क्याउने, विवाद सिर्जना गर्ने र आफूलाई प्रभावशाली व्यक्तिका रूपमा प्रस्तुत गर्दै आतंक फैलाउने शैलीका कारण उनी लामो समयदेखि प्रहरीको निगरानीमा थिए।

नेपाल प्रहरीले समाजमा अशान्ति फैलाउने, कानुनलाई चुनौती दिने तथा सर्वसाधारणको सुरक्षामाथि खतरा उत्पन्न गर्ने जोसुकैलाई कानुनी दायरामा ल्याइने स्पष्ट सन्देश दिएको छ। पछिल्लो पक्राउलाई प्रहरीले गुण्डागर्दी र आपराधिक गतिविधिविरुद्धको अभियानको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ। साथै, समाजमा डर, धम्की र गुण्डागर्दीको संस्कृति फैलाउने कुनै पनि व्यक्तिलाई छुट नदिइने चेतावनीसमेत दिएको छ।

Facebook Comments Box
पोखराबाट दुबईका लागि दैनिक व्यावसायिक उडान सुरु हुने, फ्लाई दुबईलाई अनुमति
६ घण्टा अगाडि

1.3kViews 311 Shares Share on Facebook Share on Twitter पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी २३ सेप्टेम्बर २०२६ (भदौ ७…

TOP
15 Shares