किरण थापामगर बागमतीको मुख्यमन्त्री बन्दै, आज शपथ

हेटौँडा । बागमती प्रदेशमा नेकपा एमालेका प्रदेशसभा सदस्य किरण थापामगर आज मुख्यमन्त्री नियुक्त हुँदैछन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले थापामगरलाई मुख्यमन्त्री नियुक्त गरी बिहीबार साँझ ५ बजे पद तथा गोपनीयताको शपथ गराउने तयारी गरेका छन्।

थापामगरले बुधबार एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रदेशसभा सदस्यसहित ६३ जनाको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए। राप्रपाले समेत समर्थन जनाएपछि एमाले नेतृत्वमा नयाँ सरकार गठनका लागि आवश्यक बहुमत जुटेको हो।

प्रदेश प्रमुखको कार्यालयले आवश्यक संवैधानिक प्रक्रिया पूरा गरी थापामगरलाई मुख्यमन्त्री नियुक्त गर्ने जनाएको छ। शपथलगत्तै प्रारम्भिक मन्त्रिपरिषद् गठन गर्ने तयारीसमेत सत्ता गठबन्धनले गरेको छ।

नयाँ सरकारले बागमती प्रदेशमा मन्त्रालयको संख्या घटाएर आठ कायम गर्ने तयारी गरेको छ। सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाँटबारे समेत प्रारम्भिक सहमति जुटिसकेको बताइएको छ।

सहमतिअनुसार नेकपाका प्रदेशसभा सदस्य सरल सहयात्रीलाई आर्थिक मामिला तथा योजना मन्त्री बनाउने तयारी गरिएको छ। यस्तै, सरकार गठनमा समर्थन गरेको राप्रपाबाट तीन जना प्रदेशसभा सदस्यलाई मन्त्री बनाउने तयारी रहेको स्रोतले जनाएको छ। सत्ता साझेदारीअनुसार राप्रपालाई तीन मन्त्रालय दिने सहमति भएको बताइएको छ।

यसअघि नेपाली कांग्रेस नेतृत्वको सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजीनामा दिएपछि प्रदेश प्रमुख देवकोटाले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए।

त्यसपछि थापामगरले एमाले, नेकपा र राप्रपाका प्रदेशसभा सदस्यको समर्थनसहित सरकार गठनको दाबी पेस गरेका हुन्। दाबीअनुसार बहुमत सुनिश्चित भएपछि प्रदेश प्रमुखको कार्यालयले थापामगरलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रिया अघि बढाएको हो।

नयाँ सरकार गठनसँगै बागमती प्रदेशमा सत्ता समीकरण परिवर्तन भएको छ भने मन्त्रालय संख्या घटाउने र सत्ता साझेदार दलबीच जिम्मेवारी बाँडफाँट गर्ने तयारीले प्रदेश सरकारको आगामी कार्यदिशाबारे चासो बढेको छ।

Facebook Comments Box
TOP
15 Shares