गैरीगाउँ बस्ती हटाइएपछि फेरि अर्को सुकुम्बासीको आत्महत्या

काठमाडौं । गैरीगाउँस्थित सुकुम्बासी बस्ती हटाइएपछि विस्थापित भएका अर्का एक व्यक्तिले पनि आत्महत्या गरेका छन्। केही दिनको अन्तरालमै दोस्रो सुकुम्बासीको आत्महत्याको घटना सार्वजनिक भएको हो।

५० वर्षीय चम्बरबहादुर नेपाली ललितपुरको टिकाथलीस्थित आफ्नै डेरामा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्। उनी यसअघि गैरीगाउँस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका थिए। सरकारले उक्त बस्तीबाट हटाएपछि नेपाली परिवारसहित टिकाथलीमा डेरा लिएर बस्दै आएका थिए।

नेपालीले अस्ति राति डेरामै आत्महत्या गरेको बताइएको छ। उनको हिजो दाहसंस्कारसमेत सम्पन्न भइसकेको छ।

यसअघि साउन २८ गते भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा ६० वर्षीय हिरालाल पासवान झुण्डिएको अवस्थामा फेला परेका थिए। पासवानको मृत्युपछि उनका परिवारजनले सरकारसमक्ष १२ बुँदे माग राखेका छन्।

छोटो अवधिमै विस्थापित समुदायका दुई जनाको आत्महत्याको घटना सार्वजनिक भएपछि बस्ती हटाइएपछि उनीहरूले भोग्नुपरेको आवास, व्यवस्थापन र जीवनयापनसम्बन्धी समस्याबारे गम्भीर प्रश्न उठेको छ।

Facebook Comments Box
TOP
15 Shares