मांसमदिराका लागि सहदेवको उठ्तीपुठ्ती अनी हुन्छ, पत्रकारिता विश्वसनिय ! मर्यादित ?

काठमाडौं  पौष  ४।   मागेर वा ठगेर खान पल्केको मान्छेलाई माया गरेर ‘गरी खा’ भन्दै कुनै सजिलै काम दियो भने पनि उ त्यो काम गर्न तयार हुँदैन भन्छन् । किनकी उसका लागि मागी खाने काम नै सजिलो लाग्छ रे !
आफूलाई पत्रकार बताउँदै हिँड्ने सहदेव गौतम नामका एक व्यक्ति छन्, उनको धन्दा नै मागी खाने हो । हुनत गौतम पत्रकारितासँग नजोडिएका होइनन् । तर, न समाचार लेख्छन्, न लेख नै । उनीसँग राम्रै खालका एकाध पत्रकारको पनि उठबस छ तर, खानपिउनका लागि मात्र । सहकार्यका लागि होइन ।
सूचना विभागको समेत पत्रकार परिचय पत्र बोकेर हिँड्ने गौतम मागी खाने धन्दामा लागेको वर्षाैं भयो । कहिले कुन पत्रिकाको परिचय दिन्छन्, कहिले कुन पत्रिकाको । कलंकी–स्यूचाटारतिर पूर्खाैली घर भएका उनले माग्न नभ्याएको र दिनेले नदिएको व्यक्ति कमै होलान् । जहाँजहाँ आर्थिक अनियमितता हुन्छ, त्यो-त्यो कार्यालयमा गौतम पुगेकै हुन्छन् ।
दाह्री पालेका उनी चट्ट मिलाएर कोट पाइन्ट लगाउँदा राम्रै व्यक्तित्व झल्कन्छ । जानकारका अनुसार मिठा कुराबाट गफगाफ थाल्ने उनको शैलीले जोकोहीलाई पकेट वा पर्समा हात हाल्न बाध्य पारिहाल्छ । अरु पत्रकार दिनभर कहाँ समाचार पाइएला ? कस्तो समाचार, कसरी प्रमाण जुटाउने होला भन्ने ध्याउन्नमा पिरोलिइराख्दा सहदेव भने फूर्तिफार्तिका साथ कोही कसैलाई प्रभावमा पारिसकेका हुन्छन् । उनको डिमाण्ड पनि सायद ठूलो हुन्न होला, भोलीको पनि कुरै हुन्न । जानकारका अनुसार उनले भोलीलाई पर्खनै चाहान्नन् । दैनिक खर्च जुटाउने उनको यो क्रियाकलाप वर्षाैंदेखि टिकिरहेको छ ।
जुन पत्रकारले सहदेव गौतम चिन्छन्, खानपिउन अभ्यास भएकाले बाहेक कसैले पनि राम्रो मान्दैनन् । यतीबेला त व्यक्तिगत नभएर सहदेवले “सूदुरपश्चिमतिर पत्रकारको बैठक रहेको र त्यहाँ आफूहरुको समूह नै जानु पर्ने भएकाले आफ्ना नाममा आईएमई गरेर रकम पठाइदिन” भन्दै कयौंलाई फोन र म्यासेज गर्न भ्याएका छन् । यो उनको पछिल्लो र नौलो योजना हो । सायद, राजधानीमा दिनेहरुको सूची सकियो कि ?
प्रहरीका प्रायः यूनिट, कर, आन्तरिक राजश्व, भन्सार, सडक, मालपोत, नापी, बनजस्ता कार्यालयका हाकिम सहदेवको बल्छीमा पर्ने गरेका छन् । अचम्म लाग्छ, संस्थाकै बद्नाम अनी पेशाकर्मीकै इज्जतमा दाग लगाउने धन्दा चलिरहेको धेरै पत्रकारलाई थाहा छ र पनि उनीहरु सुनेको नसुन्यै, देखेको नदेख्यै गर्ने गरेको पाइन्छ । कोहीकोही आफूलाई सक्रिय पत्रकार भन्न रुचाउनेहरु त साँझपख उनै गौतमसँग मांसमदिरामा झुमिरहेको पनि देख्न पाइन्छ ।
सुन्नमा आएअनुसार गौतमलाई सूचना विभागको प्रेसपास उपलब्ध गराउन सिफारिस गरे वापत र कुनै हप्ते पत्रिकामा नाम छापिदिए वापत उनले पत्रिकाका प्रकाशकलाई सम्झौता भएअनुसारको मासिक रकम र यदाकदा मांसमदिरामा पनि भूलाउनु पर्ने शर्त छ रे !
यसरी पेशाकै बद्नाम गर्दै मगन्ते धन्दामा हिँड्ने सहदेव प्रतिनिधि पात्र मात्र हुन् । अन्य थुप्रै पत्रकार नामधारी छन्, मागेरै जिवन चलाउने । न उनीहरुलाई समाचारको ज्ञान छ, न समाचार नै कोर्न लेख्न आउँछ । नढाँटेरै भन्ने हो भने पत्रकारहरुको छाता संगठन र दलिय ओत लागेका पत्रकारधारी संस्थामा पनि उनीहरुकै बाहुल्य छ भन्दा फरक नपर्ला । अनी हुन्छ, पत्रकारिता विश्वसनिय ? हुन्छ मर्यादित ? भाषण गरेर उपदेश दिँदैमा ?
विगतमा पत्रकार भनेपछि कस्तो इज्जत मानसम्मान थियो । पत्रकारले आफूलाई पनि प्रतिष्ठीत जस्तै ठान्थे । तर, विकृतीको जरा गड्दै जाँदा हिजोआज कुनै पनि वास्तविक पत्रकारले आफ्नो परिचय दिँदै दिन्न, दिनै चाहान्न । दिनै परे पनि अक्मक्याउँदै दिने गरेको यथार्थ हाम्रा सामु छर्लड्गै छ । यती हुँदा पनि पत्रकारितालाई मर्यादित तुल्याउनका लागि पत्रकारको गोडमेल हुन नसक्नु अचम्मै लाग्दो विषय पक्कै हो ।सञ्चार माध्याममा योग्य पत्रकार र उनीहरुको वास्तविक योग्यताको खडेरी लागेको कति भो कति ? त्यही भएर त पछिल्लो समय कपि-पेष्टवाला पत्रकारको चहलपहल बढिरहेको छ ।
एक प्याराग्राफ समेत राम्रोसँग लेख्न नजान्नेहरु प्रधानसम्पादक, सम्पादक । रेष्टुरेन्टमा खाजा खाएको बिल डीस्काउन्ट गरेन भन्दै समाचार छापिदिने धम्की दिएर आफू फलानो पत्रिकाको चिफ रिपोर्टर हुँ भन्न अलिकती लज्जाबोध नगर्ने पत्रकार भनाउँदाको पनि कमी छैन ।

Facebook Comments Box
TOP
Shares