

लम्की–टीकापुर सडक अधुरै, आवागमनमा सास्ती
कैलाली । पूर्व–पश्चिम राजमार्गबाट १४ किलोमिटरभित्र पर्ने लम्की–टीकापुर सडकखण्ड समयमै निर्माण हुन नसक्दा सर्वसाधारणलाई सास्ती भएको छ । सम्झौता सकिँदा पनि सडक निर्माणको जिम्मा लिएको कम्पनीले काम अधुरै छाडेको छ । सडक हिलाम्य भएको छ । यात्रुलाई हिँड्दा हैरानी भएको छ ।
“दैनिक हिँड्नुपर्छ । खाल्डाखुल्डी, धुलो र हिलोले सास्ती भएको छ”, स्थानीय नरेन्द्र चौधरी भन्छन्, “सडक बन्ला र आवागमनमा सहज होला भन्दाभन्दै वर्षौँ बित्यो, तर सडक बनेन ।”
हुलाकी सडक आयोजना कार्यालयले यसअघि उक्त सडक कालोपत्र गरेको थियो । तर एक वर्षमै भत्कियो । सडक कालोपत्र हुँदा लम्कीबाट टीकापुर पुग्न आधी घण्टा लाग्थ्यो । तर अहिले टीकापुर पुग्न एक घन्टाभन्दा बढी लाग्ने गरेको स्थानीयको गुनाासो छ ।
लम्की–टीकापुर–खक्रौरा सडकको काम समयमै सम्पन्न गर्न तीन भागमा विभाजन गरी कामको बाँडफाँड गरिएको थियो । तीनवटा निर्माण कम्पनीलाई कामको जिम्मा लगाइ पनि दुईवटाको काम अधुरै छ ।
तीस किलोमिटर सडकखण्ड निर्माणका लागि तीन भागमा विभाजन गरिए पनि लम्कीबाट जानकी गाउँपालिकाको पथरैयासम्मको काम मात्र सम्पन्न भएको छ । पथरैयाबाट टीकापुर नगरपालिका–४ अस्नेहरीसम्मको सडक निर्माणको जिम्मा एपेक्स कृष्ण खड्का जेभीले पाएको छ । अस्नेहरीबाट खक्रौलासम्मको बाँकी सडक निर्माणको जिम्मा रायमाझी गाल्भा जेभीले पाएको छ ।
हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीले कालोपत्रका लागि २०७७ जेठमा सम्झौता गरेको हो । पहिलो खण्डको आठ किलोमिटरको काम रु ४० करोड १९ लाख ९१ हजारमा कुमार कालिका जेभीले पूरा गरेको हुलाकी राजमार्ग आयोजना कार्यालयका सूचना अधिकारी दीपक सुनारले जानकारी दिए । उक्त कम्पनीले लम्की क्षेत्रको साढे तीन किलोमिटर चार लेनको सडक निर्माण सम्पन्न गरेको छ ।
“दुई भागको ३५ प्रतिशत मात्र काम भएको छ”, उनले भने, “एउटा निर्माण कम्पनीले ठेक्काको जिम्मा लिएर अर्कोलाई काम गर्न लागएका कारण काममा ढिलाइ भएको हो ।”
दोस्रो खण्डसडक निर्माणको सम्झौता २०७७ जेठमा भएको थियो । दश किलोमिटर सडक निर्माणका लागि रु ४० करोड ९९ लाखमा ठेक्का सम्झौता भएको थियो । चालु आर्थिक वर्षको पुससम्म समयावधि रहेको उक्त खण्डको ३५ प्रतिशत मात्र काम भएको छ ।
पहिलो चरणको सम्झौताको समयावधि गत वर्ष मङ्सिरमा सकिएपछि एक वर्ष म्याद थप गरिएको सूचना अधिकारी सुनारले बताउनुभयो ।
तेस्रो खण्डको साढे ११ किलोमिटरको काम हुँदैछ । रु ३३ करोड २० लाख ६६ हजारमा सम्झौता गरिएको तेस्रो खण्डको पनि ३५ प्रतिशत मात्र काम पूरा भएको छ । सो कार्य आगामी पुससम्म सम्पन्न गर्नुपर्ने समयावधि छ । सम्झौताको समय सकिन छ महिनामात्र बाँकी रहेका बेला ६५ प्रतिशत काम अझै बाँकी छ । टीकापुर नगरपालिकाका उपप्रमुख खडक शाहले सडकको काम समयमै सम्पन्न गर्नका लागि आयोजना कार्यालय र निर्माण कम्पनीलाई ताकेता गर्दै आएको बताए । सडककै समस्याका कारण टीकापुरले कयौँ सम्भावनासमेत गुमाएको उनको गुनासो छ । उनले भने, “ताकेता गर्दै आएका छौँ । सुनवाइ भएको छैन । टीकापुर आउने व्यक्ति सडकको अवस्था देखेरै फर्कने गरेका छन् ।”रासस
समाज
थप सामाग्री-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
-
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
-
आजको मौसम पूर्वानुमान: केही प्रदेशमा वर्षा, कतै तातो लहरको सम्भावना
आज असार ११ गते बिहिबार, यस्तो छ तपाईंको राशिफल
४ घण्टा अगाडि
2.3kViews 312 Shares Share on Facebook Share on Twitter मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नोकरी…





