

जलाधार संरक्षण गर्न हतुवागढीमा ३० सार्वजनिक पोखरी निर्माण
भोजपुर । हतुवागढी गाउँपालिकाको ‘एक वडा, एक पोखरी’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । पानीका मुहान विस्तारै सुक्ने क्रम बढ्दै गएपछि संरक्षण गर्न गाउँपालिकाले यो कार्यक्रम सञ्चालनमा ल्याएको हो ।
वातावरणीय अनुकूलता कायम राख्न साविका ५४ वटा वडामा एउटा पोखरी निर्माणको थालनी गरिएको छ । जलवायु परिवर्तनका कारण देखिएका समस्याको न्यूनीकरण गर्दै जलाधारको संरक्षण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । यो कार्यक्रमअन्तर्गत प्रत्येक आर्थिक वर्षमा पोखरी खन्ने काम भइरहेको उनको भनाइ छ ।
“हामीले ‘एक वडा, एक पोखरी’ कार्यक्रम सञ्चालनमा ल्याएका छौँ”, अध्यक्ष राईले भने, “यहाँको जलाधारको संरक्षणसँगै आवश्यक सिँचाइको व्यवस्थापन गर्ने हाम्रो मुख्य उद्देश्य हो । पानीका मुहानको संरक्षणमा सहयोग पुगोस् भन्ने अपेक्षा पनि हो ।”
यो कार्यक्रमअन्तर्गत हालसम्म ३० वटा बढी सार्वजनिक पोखरी निर्माणको काम सम्पन्न भएको अध्यक्ष राईले जानकारी दिए । कार्यक्रमले तत्काललाई भन्दा पनि भविष्यका लागि ठूलो लाभ पुग्ने अध्यक्ष राईको भनाइ छ । “यो काम वातावरणको संरक्षणको पक्षबाट निकै महत्त्वपूर्ण छ”, अध्यक्ष राईले भने, “जमिनलाई रिचार्ज गर्न यसले भूमिका खेल्दछ । कतिपय ठाउँका पानीका मुहान सुक्दै गएको अवस्था छ । यस्तै अवस्था रहे वर्षौंपछि पानीको हाहाकार बन्ने अवस्था छ । हामीले भावी दिनको आकलन गरेर यो अभियान सञ्चालन गरेका हौँ ।”
पोखरी निर्माणले पानीको मुहान रिचार्जिङ हुने, सिँचाइमा सहजतासँगै आकस्मिकरुपमा हुने आगलागीको समयमा प्रयोग गर्न सकिने उनको भनाइ छ । यस्ता सार्वजनिक पोखरीलाई सयौँको सङ्ख्यामा विस्तार गर्ने योजना रहेको उनको भनाइ छ । यसअघि खनिएका पोखरी आसपासका पानीको मुहानमा सुक्खा खडेरीमा पनि पानी नसुकेको राईले जानकारी दिए ।
पानीको अभावमा सिँचाइका लागि झेल्नुपर्ने समस्या कम गर्दै पानीको मुहानको संरक्षण गर्ने लक्ष्यले कार्यक्रम सञ्चालनमा ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले बताउनुभयो । यो कार्यक्रमअन्तर्गत गत आवमा नौ वटा पोखरी निर्माण सम्पन्न भएको उनको भनाइ छ । एउटा पोखरी निर्माणको लागि रु एक लाख दिने गरेको उनले जानकारी दिए।
“यो कार्यक्रमअन्तर्गत बर्सेनि सार्वजनिक पोखरी निर्माण गरिरहेका छौँ”, प्रशासकीय अधिकृत निरौलाले भने, “विगतमा खनिएका पोखरीको सकारात्मक प्रभाव देखिन थालेको छ । निर्माण भएका पोखरीमा आकासेपानी सङ्कलनको काम भइरहेको छ । यो कामले मुहानसँगै वातावरणको संरक्षणमा पनि टेवा पुग्ने छ ।”
पोखरीले तत्कालीनरुपमा पानीको अभाव हटाउने र प्राकृतिकरुपमा उम्रिएका मुहानको रिचार्जिङमा सहयोग पुग्ने उनको भनाइ छ । तत्काललाई खास उपयोगीजस्तो नदेखिए पनि भावी पुस्ताको लागि लाभदायक रहेको प्रशासकीय अधिकृत निरौलाको भनाइ छ ।
पोखरी निर्माणले स्थानीयलाई तरकारी बाली तथा खेतीपाती गर्नको लागि सहजता भएको हतुवागढी–१ का वडाध्यक्ष कुमार विष्टले बताए । मानवीय क्रियाकपालपसँगै भूकम्पलगायत प्राकृतिक विपत्तिका कारण धेरै पानीको मुहान सुक्दै गएको अवस्थामा पोखरी निर्माणको कार्यक्रमले संरक्षणमा टेवा पुगेको उनको भनाइ छ । भविष्यमा देखा पर्नसक्ने सम्भावित खतरालाई ध्यानमा राखेर गाउँपालिकाले पोखरी निर्माण अभियान थालेको वडाध्यक्ष विष्टले बताए ।
समाज
थप सामाग्री-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
-
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
आजको मौसम पूर्वानुमान: केही प्रदेशमा वर्षा, कतै तातो लहरको सम्भावना
७ घण्टा अगाडि
2.5kViews 159 Shares Share on Facebook Share on Twitter काठमाडौं । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी…





