आज गणेश चतुर्थी पर्व मनाइँदै

काठमाडौँ । अग्रपूजाको अधिकार प्राप्त बिघ्नहर्ता भगवान् गणेशको पूजाआराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ ।

शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ । आज हरितालिका तीजको व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।

भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा बिघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ । बिहान हरितालिका तीजको व्रत समापनका लागि पारायण गरी मध्याह्नकालमा गणेशको पूजाआराधना गरी अघ्र्य दिनुपर्ने विधि रहेको धर्मशास्त्रविद् भट्टराईले सुनाए । यस अवसरमा केही मानिसले भने गणेश चतुर्थीको व्रतसमेत गर्छन् ।

मङ्गल चतुर्थीसमेत भनिने यो पर्व आज भने मङ्गलबार नै परेको छ । यो पर्वलाई नेवार समुदायले भने चथा नाममा मनाउँछन् । तिथिको घटबढका कारण गणेश चतुर्थी अर्थात् चथा पर्व र ऋषि पञ्चमी पर्व पनि मङ्गलबार नै रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए। सूर्योदय कालमा चतुर्थी तिथि र मध्याह्नकालमा पञ्चमी तिथि परेकाले समितिले यस्तो निर्णय गरेको उनले बताए ।यस दिन बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने चलन पनि नेवार समुदायमा रहेको छ । विसं २०६५ देखि यस पर्वका अवसरमा चतुर्थीको भोलिपल्ट राजधानीलगायत मुख्य सहरमा गणेश रथयात्रा पनि गरिन्छ । यस वर्ष भने रथयात्रा पनि आजै गरिने जनाइएको छ । विसं २०६४ मा यसै दिन राष्ट्रिय धर्मसभाको स्थापना भएको थियो । यसैले यस दिन धर्मसभाको स्थापना दिवसका रुपमा पनि मनाउने गरिन्छ ।रासस

Facebook Comments Box
असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्बको कारोबार अपेक्षा
१५ घण्टा अगाडि

1.2kViews 115 Shares Share on Facebook Share on Twitter काठमाडौँ । राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्व असार १५…

TOP
Shares