

ट्रायल पासपछि मोबाइलमै लाइसेन्स
काठमाडौँ । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल पास गरेपछि चालकको मोबाइलमै लाइसेन्स आउने भएको छ । नौ वर्षदेखि माग अनुसार कार्ड छपाइ हुन नसकेर वर्षौं कुर्नुपर्ने समस्या भएपछि सरकारले तत्कालका लागि आइतबारदेखि नागरिक एपमार्फत मोबाइलमै डिजिटल लाइसेन्स पठाउने भएको हो ।
आइतबार औपचारिक कार्यक्रम गरी बागमती प्रदेशमा नागरिक एपबाट डिजिटल लाइसेन्स वितरण गर्न लागिएको बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार आफ्नो फेसबुकमार्फत अब लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्था गरिएको बताउनुभएको छ । लाइसेन्स छपाइ नहुँदा परेको समस्याको अन्त्य भएको चर्चा गर्दै उहाँले लेख्नुभएको छ, “भोलिदेखि बागमती प्रदेश यातायात व्यवस्था कार्यालयबाट परीक्षणका रूपमा यो व्यवस्था सुरु हुने छ । कुनै पनि कामका लागि लाइन बस्नुपर्ने समस्याबाट मुक्त गर्ने तयारीमा हामी लागेका छौँ । राज्यले नागरिकलाई छिटो सेवा प्रवाहमा यसले सहयोग पुग्ने छ भन्ने हामीले आशा राखेका छौँ ।”
प्रधानमन्त्री ओलीले सवारी नियम उल्लङ्घनमा जरिबाना तिर्दा हुने झन्झट पनि हटेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “नागरिक एपमार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुने छ । सवारी नियम उल्लङ्घनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै डिजिटल पेमेन्ट गर्ने व्यवस्था गरिएको छ ।”
बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले पाँच महिनादेखि नागरिक एपमा लाइसेन्स वितरणको परीक्षण गर्दै आएको थियो । परीक्षणको सफलतापछि सबै संरचनालाई डिजिटल बनाएर सुरु गर्न लागिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रदेश सचिव बलराम निरौलाले भन्नुभयो, “पहिलादेखि परीक्षणका रूपमा एपमा वितरण भएको हो तर ट्राफिक जाँचदेखिका संरचना तयार थिएनन् अब सबै तयार भएकाले औपचारिक रूपमा सुरु गर्न लागिएको हो ।”
मन्त्रालयले डिजिटल लाइसेन्स जाँच गर्न ट्राफिक प्रहरीलाई मोबाइल उपलब्ध गराएको छ । सचिव निरौलाले भन्नुभयो, “बागमतीमा आइतबारबाट औपचारिक रूपमा नागरिक एपबाट डिजिटल लाइसेन्स वितरण गरिँदै छ । जाँचका लागि ट्राफिक प्रहरीलाई १०४ वटा मोबाइल उपलब्ध गराइएको छ ।” यसै आर्थिक वर्षमा पाँच सय वटा मोबाइल प्रहरीलाई उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो । आजको गोरखापत्र दैनिकबाट
समाज
थप सामाग्री-
निर्यात अवरोधपछि नेपाली चिया उद्योग बन्द, हजारौं श्रमिक प्रभावित
-
तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित
-
पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवबारे फैलिएको सूचना भ्रामक, संवाद सचिवालयको स्पष्टिकरण
-
२४ घण्टामै २,५३५ चालक कारबाहीमा : काठमाडौंका सडकमा बढ्दो अराजकता, ट्राफिकको कडा अभियानले देखायो गम्भीर चुनौती
-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
२० घण्टा अगाडि
2.6kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…



