झलकराम अधिकारी :पदको दुरुपयोग गरी करोडौं असुली ?

काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहत रहेको राजस्व अनुसन्धान विभाग बदनाम भएको छ । २०७९ असार १ गते महानिर्देशकको रूपमा नियुक्त भएका झलकराम अधिकारीको कार्यकालमा राजस्व अनुसन्धान विभाग इतिहासमै पहिलो पटक बदनियत भएको हो । अधिकारीले साढे चार महिना महानिर्देशकको रूपमा राजस्व अनुसन्धान विभागको जिम्मेवारी समाल्न पाएका थिए । उनले २०७९ असार १ गतेदेखि कात्तिक १५ गतेसम्म साढे चार महिना विभागको महानिर्देशक भएर सिङ्गो व्यापारिक क्षेत्रमा रैदालो मच्चाएको स्वयं राजस्व अनुसन्धान विभागका कर्मचारीले बताएका छन् । छोटो समयमा फुर्तिलो टिम बनाएर देशभरिबाट करोडौं रुपैयाँ व्यापारीहरुबाट असुलेको त्यहाँका कर्मचारीहरुले नै बताउने गरेका छन् ।
महानिर्देशक अधिकारीले कयौं व्यावसायिक र व्यापारिक फर्महरुबाट कार्यकालको पछिल्लो दुई महिनामा करोडौं रुपैयाँ उठाएको समाचार स्रोतले बताएको छ । स्रोतका अनुसार, अधिकारीले पदको दुरुपयोग गर्दै फोनबाट व्यापारीहरुलाई धम्काउने, पसल तथा व्यापारिक फर्महरुमा छापा मार्न पठाउने र मोटो रकम असुल गर्ने गरेको तथ्य बाहिरिएको छ । उनको कार्यकालमा विभिन्न व्यापारिक फर्महरुमा छापा हानिएको, व्यापारीहरुले मोटो रकम बुझाएको तर छापा मारिएका सबै फर्महरुको रेकर्ड राजस्व अनुसन्धान विभागमा नहुनुले पनि अधिकारीले पदको दुरुपयोग गरी सिङ्गो व्यापारिक क्षेत्रमा रैदालो मच्चाएर आतङ्कित बनाएको पुष्टि हुन्छ । हाम्रा प्रतिनिधि ले पटक–पटक अधिकारीको कार्यकालमा कारवाही गरिएका र छापा मारिएका व्यापारिक फर्म, पसल तथा गाडीहरुको तथ्याङ्क लिन खोज्दा केहीभन्दा बाहेक उपलब्ध हुन सकेन ।

यता, बजारमा हार्डवेयर पसल, ट्रान्सपोर्ट कम्पनी, व्यापारिक फर्म, कपडा पसल, बिजुलीको कारोबार गर्ने पसल तथा कयौंमा छापा हान्ने र मिलाउने नाममा करोडौं लेनदेन हुने गरेको एक व्यापारीले बताए । हामीलाई  उपलब्ध छापा मारिएका व्यापारिक फर्महरुको नाम सबै विभागको रेकर्डमा पाइएन । ती व्यापारिक फर्महरुबाट पनि करोडौं उठाएको बताइएको छ । आश्चर्यको कुरा त के छ भने केही कर्पोरेट हाउस र आयात–निर्यात गर्ने र ठूलो रकमको ट्रान्जेसन हुने कम्पनीहरुसँग कारोबारको डेढदेखि तीन प्रतिशतसम्म रकम असुल गरेको नाम नबताउने सर्तमा एक व्यापारीले बताए । अधिकारीले विभागका उपसचिव र शाखा अधिकृत, अनुसन्धान अधिकृत तथा अन्य केहीको सहयोगमा २०७९ भदौदेखि कार्तिक १० सम्म पदको दुरुपयोग गर्दै रैदालो मच्चाएको विभागभित्रै चर्चा छ । विभिन्न व्यापारिक फर्महरुमा बेलुकीपख जाने छापा मार्न आएको बताउने, केही फर्ममा छापा पनि मार्ने र ती व्यापारिक फर्महरुबाट करोडौं रकम असुल गर्ने गरेको स्रोतले बताएको छ । तर, ती फर्महरुबाट उल्लेख्य राजस्व उठाइएको छैन । यस सम्बन्धमा निवर्तमान विभागका महानिर्देशक अधिकारीसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्कमा आए पनि पछि कुरा गर्ने भन्दै फोन राखे । पछि सम्पर्क गर्दा सम्पर्कमा आउन चाहेनन् ।

अधिकारीको कार्यकालमा भएका काम-कारवाहीको छानविन गर्न माग 
झलकराम अधिकारीको कार्यकालमा राजस्व अनुसन्धान विभाग इतिहासमै पहिलो पटक बदनियत भएपछि उनको कार्यकालमा भएका काम–कारबाहीको छानविन गर्नुपर्ने माग विभागभित्र उठेको छ।अधिकारीसहित विभागका केही उपसचिव, अनुसन्धान अधिकृत र शाखा अधिकृतहरुसमेतको काम–कारवाहीको छानविन हुनुपर्ने विभागभित्रकै अधिकारी र व्यापारीहरुले समेत उठाउन थालेका छन् । अधिकारीको कार्यकालमा राजस्व अनुसन्धान विभागमा पदको दुरुपयोग गर्दै चरम अनियमितता र व्यापारिक क्षेत्रमा दोहन भएको हल्लापछि अख्तियारले पनि सूक्ष्म ढङ्गले हेरिरहेको बताएको छ ।

Facebook Comments Box
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
१४ घण्टा अगाडि

2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…

TOP
Shares