बीमाको नाममा खुलेआम ठगी,सरकार प्रमुख दोषी ?

नेपालमा स्वास्थ्य बीमा कार्यक्रम शुरु भएको एक दशक हुनलाग्यो । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आफू स्वास्थ्यमन्त्री हुँदा स्वास्थ्य बीमा कार्यक्रमको शुरुवात गरेका थिए । सुलभ मूल्यमा सबैको पहुँचमा उपचार भन्दै धमाधम स्वास्थ्य बीमा गरियो । ३५ सय रुपैयाँमा एकाघरको पाँच सदस्यको एक लाख रुपैयाँसम्म उपचार स्वास्थ्य बीमामार्फत गरिने सरकारको नीति छ ।

तर, सरकारको स्वास्थ्य बीमा नीति फ्लप खाइसकेको छ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा गर्न सक्दैनौं भनेर हात उठाइसकेको छ । स्वास्थ्य बीमाको नाममा सरकारले नै सर्वसाधारणलाई नै ठगेको छ । स्वास्थ्य बीमाका लागि सरकारले निश्चित अस्पताल तोकेको छ । तर, सरकारले भुक्तानी नदिएपछि अधिकांश अस्पतालले बीमामार्फत उपचार कार्यक्रम बन्द गरेको छ ।

बीमा सञ्चालन भएका अस्पतालले उपचार त गरिदिन्छ यद्यपि, औषधी दिँदैन । उपचार पाउन पनि निकै झमेला छ । पहिले बीमाको कार्ड देखाएर उपचार गराउन सकिन्थ्यो । अहिले स्थानीय तहबाट सिफारिस ल्याउनुपर्ने प्रावधान छ । बीमाको बिरामी भन्नेबित्तिकै डाक्टर–नर्सले निधार खुम्च्याउँछन् । उनीहरुलाई अस्पतालमा हेपाहा व्यवहार देखाइन्छ । उपचार नै गर्दैनन् ।

करोडौं जनताले स्वास्थ्य बीमा गराएका छन् । अहिले सबैको गुनासो यहीँ नै छ । अस्पतालले उपचार गर्न नमानेको, औषधी नदिएको उनीहरु बताउँछन् । स्वास्थ्य बीमा गरेकोमा सर्वसाधारण अहिले पछ्ताइरहेका छन् । सरकारले नै स्वास्थ्य बीमाको नाममा जनतालाई ठगेको उनीहरुको आरोप छ । यता, बीमाको रकम नपाउँदा अस्पतालहरु पनि पीडित बनेका छन् ।

उपचार गराएको पैसाको पर्खाइमा छन्, अस्पताल । मुलुकमा स्वास्थ्य र शिक्षा सबैभन्दा महँगो छ । ३५ सयमा पाँच जनाको उपचार गर्न कुनै हालतमा सम्भव छैन । यति रकममा त औषधी नै पाइँदैन । थापाले सस्तो लोकप्रियता कमाउन र व्यक्तिगत फाइदाका लागि बीमाको कार्यक्रम ल्याए । अहिले सरकारलाई स्वास्थ्य बीमा कार्यक्रम ‘निल्नु न ओकाल्नु’ भएको छ ।

अर्बौं रुपैयाँ भुक्तानी बाँकी छ, अस्पताल उपचार गर्न मान्दैनन् । जनता उपचार भएन भन्दै गुनासो गर्छन् । केही नलागेपछि बोर्डले ‘हामी सक्दैनौं’ भनेको छ । पछिल्लो समय मुलुकमा थुप्रै इन्स्योरेन्स कम्पनी खुलेको छ । बीमाको विभिन्न कार्यक्रम सञ्चालनमा छ । जीवन बीमा, सवारी बीमा, भवन बीमा, जहाज बीमा, घरजग्गा बीमालगायत थुप्रै बीमा गराउनुपर्छ ।

वैदेशिक रोजगारीमा जानेले समेत बीमा गर्नुपर्छ । बीमा नगरिकन श्रम स्वीकृति पाइँदैन । सवारी बीमाबिना रुट परमिट र ब्लूबुक नवीकरण गरिँदैन । बीमा नगरेको घरजग्गा धितो राखेर बैंकले ऋण दिँदैन । यहाँ हरेक चीजको बीमा गराउनुपर्ने व्यवस्था छ । बीमा कम्पनीहरुले बैंकसँग सेटिङ्गमा सरकारलाई हाता लिएर हरेक क्षेत्रमा बीमा अनिवार्य गराएका छन् ।

बीमा नगरिकन कसैलाई सुःख नै छैन । बीमा गर्ने बेलामा अंकुशे लगाउने सरकार रकम दिने बेलामा चाँहि किन चुइक्क बोल्दैन ? बीमा कम्पनीले एजेण्ट खटाएर खुरुखुरु पैसा उठाउँछ । लिँदाचाँहि विभिन्न प्रलोभन देखाउँछ, दिने बेलाचाँहि दाँतबाट पसिना छुट्छ । जीवन बीमा गरेका कुनै बीमकको ज्यान गयो भने बीमा कम्पनीबाट पैसा निकाल्न धेरै गाह्रो छ ।

यो–त्यो कागजात भन्दै वर्षौ बिताइदिन्छन् । त्यतिबेला लाग्छ–किन बीमा गराइएछ ? पैसा दिँदैनन् । प्रहरीको रिपोर्ट, वडाको सिफारिस, अस्पतालको रिपोर्ट भनेर दुःख दिइरहन्छन् । कतिपय त यस्तो झमेलाका कारण बीमाको पैसा नै लिन जाँदैनन् । बीमा कम्पनीहरु यहाँ मान्छेको ज्यान र सम्पत्ति जोगाउन होइन, उनीहरुलाई लुट्न खुलेको हो । बीमा हरेक वर्ष नवीकरण गराउनुपर्छ ।

एक वर्षभित्र दुर्घटना भयो भने पैसा पायो, नत्र पाएन । बीमा कम्पनीले नै त्यो पैसा खाइदिन्छ । एकपटक मात्र नवीकरण गर्न सकिएन भने रकम पाइँदैन । अगाडि तिरेको सबै पैसा कम्पनीले नै खान्छ । बीमा कम्पनीले खुलेआम सर्वसाधारण ठगिरहेको छ । तर, सरकार देख्दैन । बीमा कम्पनीले ठूलो रकम असुल्छ । तर, त्यसको म्याद जम्मा एक वर्षको हुन्छ । कमसेकम १० वर्षको म्याद त हुनुपर्छ ।

बीमा कम्पनीले सबैलाई भ्रमित बनाइरहेको अवस्था छ । यसमा सरकार र जनताको आँखा खुल्न आवश्यक छ । बीमाका कारण समाजमा बेतिथि मौलाउँदै गएको छ । बीमा रकम हत्याउनका लागि आफ्नाले आफ्नैकै ज्यान लिइरहेका छन् । बीमा रकमकै लागि श्रीमान मारेको, बुहारीको ज्यान लिएकोलगायतको घटना घटेको छ । बीमा कम्पनीको नियामक निकाय भनेको अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक हो ।

बीमा कम्पनीलाई लाइसेन्स पनि यिनै निकायले उपलब्ध गराउँछ । सरकारका प्रतिनिधिहरुले आर्थिक चलखेल गरेर बीमाको लाइसेन्स दिएको कुरामा दुईमत छैन । नत्र यत्रो ठगीधन्दा मच्चाउँदा कारबाही त गर्थें होला । बीमा कम्पनीले सरकारका प्रतिनिधिलाई खुवाएको घुस जनताबाट असुलिरहेका छन् । बीमाको नाममा ठगीधन्दा मौलाएको छ । पछिल्लो समय बीमा नवीकरण नगराउनेहरु यत्तिकै छन् ।

यसको प्रमुख कारण हो–बीमा कम्पनीको सत्यता बाहिर आउनु । बीमा कम्पनीले कसरी ठग्छ ? यो सर्वसाधारणले बुझिसकेका छन् । सर्वसाधारणले धमाधम बीमा त्याग्न थालेपछि कम्पनीहरु फेरि नयाँ दाउ खेल्ने तयारीमा छन् । उनीहरु सर्वसाधारणलाई बाध्य बनाउने नियत बनाइरहेका छन् । भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनमा सरकारको सम्पत्तिमा ८४ अर्ब ४५ करोडको क्षति पुग्यो ।

त्यसैगरी, निजी सम्पत्तिमा २७ अर्ब बराबरको क्षति पुगेको छ । सरकारी भवनहरुको बीमा नगरिएको भएतापनि निजीको त छ । तर, बीमा कम्पनीहरुले बीमा रकम दिन आलटाल गरिरहेका छन् । थोरै मात्र बीमा रकम निकासा भएको छ । बीमा कम्पनीले कहिलेसम्म त्यो रकम तिर्ने हो ? यसको कुनै टुंगो छैन । योसँगै एउटा प्रश्न उठेको छ–बीमा कम्पनीले पैसा दिँदो रहेछ त ?

अहिले आएर त्यो कुरा घामजस्तै छर्लङ्ग भएको छ । सरकारले बैंक तथा वित्तिय संस्था, इन्स्योरेन्स कम्पनी खोल्न लाइसेन्स दियो । सहकारीले करोडौं जनतालाई बिल्लीबाठ बनायो । बैंकको ठगीधन्दा विस्तारै बाहिर आउँदै छ । इन्स्योरेन्स कम्पनीको लुट पनि क्रमिक रुपमा बाहिरिएको छ । जनता डुबाउने प्रमुख नाइके सरकार हो । सरकारकै कारणले जनता लुटिएका, ठगिएका हुन् ।

सरकारले लाइसेन्स दियो तर अनुगमन गरेन । मन्त्री र सचिवलाई घुस भए पुग्यो, सरकारलाई कर चाहियो । अनि पीडित बन्नेचाँहि जनता । सरकारले नै जनतालाई सुकुम्बासी बनाउने काम गरेको छ । बैंकले एक सय रुपैयाँमा निकालेको सेयर ३२ सयमा खरिदबिक्री भइरहेको छ । सरकारले जनतालाई यत्रो मँहगो पैसा हालेर सेयर नकिन भन्नुपर्थ्यो ।

आज सेयरको भाउ घट्दा जनता चार्लमचुलुम्म डुबेका छन् । घरजग्गा व्यवसायीलाई लाइसेन्स दिने पनि सरकार हो । हजार रुपैयाँ आनाको जग्गा दलालीहरुले खण्डीकरण गरेर लाखौंमा बेचिरहेका छन् । तर, सरकारलाई मतलब छैन । राजश्व पाउँदा सरकार दंग छ । अरु देशमा सरकारले ठग्नेलाई कारबाही गर्छ, नेपालमा त सरकार नै ठग छ । जसले सर्वसाधारणलाई ठग्छ, सरकारले उसैलाई सम्मान गर्छ ।अनुसा थापा

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
२१ घण्टा अगाडि

1.2kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
349 Shares