रास्वपाबाट नितिमा भण्डारी कार्की उम्मेदवार, चेतन भण्डारीसँग जोडिएका विगतका विवादले राजनीतिक बहस चर्कियो

काठमाडौं । सुन तस्करीलगायत विभिन्न विवादास्पद प्रकरणसँग जोडिँदै आएका ‘बाजेको सेकुवा’ रेष्टुरेन्टका सञ्चालक चेतन भण्डारी पुनः सार्वजनिक चासोको केन्द्रमा आएका छन्। यसपटक उनी स्वयं नभई उनकी श्रीमती नितिमा भण्डारी कार्कीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सर्लाही निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाएपछि राजनीतिक वृत्तमा बहस चर्किएको हो।
चेतन भण्डारीको नाम यसअघि चर्चित सुन तस्करी प्रकरणसँग जोडिएको थियो। उपलब्ध विवरणअनुसार २०७५ सालमा चूणामणि उप्रेती ‘गोरे’सँग मिलेर सुन तस्करी गरेको अभियोगमा उनीविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। मुद्दा दायरपछि उनी फरार रहेको भन्दै अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलमार्फत रेड नोटिस समेत जारी गरिएको थियो।
पछि चेतन भण्डारी स्वयं अदालतमा उपस्थित भएका थिए। अदालतमा उपस्थित भएपछि उनी धरौटीमा छुटेका थिए भने मुद्दाको नियमित सुनुवाइ अघि बढेको थियो। अदालतको अन्तिम फैसलाअनुसार उनलाई उक्त मुद्दामा सफाइ दिइएको बताइन्छ। यद्यपि, यस फैसलाले उनीमाथि उठेका सबै प्रश्नहरूको अन्त्य भने गरिसकेको छैन।
सुन तस्करी प्रकरणसँगै चेतन भण्डारीविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी उजुरीहरू समेत दर्ता भएका थिए। ती उजुरीहरू हालसम्म पनि छानबिनकै क्रममा रहेको जनाइन्छ। सम्बन्धित निकायहरूबाट अन्तिम निष्कर्ष आउन बाँकी रहँदै उनी पुनः राजनीतिक वृत्तसँग जोडिन थालेपछि सार्वजनिक चासो बढेको हो।
यही पृष्ठभूमिमा उनकी श्रीमती नितिमा भण्डारी कार्कीलाई रास्वपाबाट उम्मेदवार बनाइएको विषयले थप प्रश्नहरू उठाएको छ। नितिमा भण्डारी कार्की व्यक्तिगत रूपमा नयाँ अनुहार भए पनि उनका पति चेतन भण्डारीसँग जोडिएका विगतका विवादका कारण उनको उम्मेदवारी विवादरहित बन्न सकेको छैन।
विपक्षी दल तथा आलोचकहरूले रास्वपाले अघि सारेको ‘सुशासन’ र ‘नयाँ राजनीति’ को नारासँग यो उम्मेदवारी मेल खान्छ कि खान्न भन्ने प्रश्न उठाइरहेका छन्। रास्वपा स्वयंले आफूलाई पुराना राजनीतिक संस्कारविरुद्ध उभिएको वैकल्पिक शक्ति भनेर प्रस्तुत गर्दै आएको सन्दर्भमा यो विषय झन् गम्भीर रूपमा हेरिएको छ।
अदालतबाट सफाइ पाउनु कानुनी रूपमा महत्वपूर्ण भए पनि बाँकी छानबिन र नैतिक प्रश्नहरू राजनीतिक रूपमा अझै विचारणीय विषय बनेका छन्। आगामी दिनमा छानबिनका निष्कर्ष तथा रास्वपाको आधिकारिक धारणा सार्वजनिक भएपछि यस विषयले कुन मोड लिन्छ भन्ने चासो सर्वत्र देखिएको छ।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
२१ घण्टा अगाडि

1.2kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
304 Shares