घोषणापत्रमा सपना नबाँड, विश्वास देखाउ !

काठमाडौ। चुनाव नजिकिंदै गर्दा नेता र उम्मेदवारहरु भोट माग्न व्यस्त छन् । कोही मतदाताको घर, आँगन, गोठ र खेतबारीमै पुगेका छन् । कोही सामाजिक सञ्जालमार्फत आकर्षक नारा फुराउँदैछन् । कोही भाषणमा मग्न छन्, कोही घोषणापत्र लेखनको तयारीमा । घोषणापत्र, प्रतिबद्धता पत्र अर्थात् वाचापत्र । यसले मतदातालाई सही निर्णय लिन मद्दत गर्छ, उम्मेदवारको जवाफदेहिता बढाउँछ र लोकतन्त्र सशक्त बनाउँछ ।

यसपटक नागरिकले दल र उम्मेदवाहरुका चुनावी घोषणापत्रमा सपना हैन, विश्वास खोजेका छन् । नागरिक थाकेका छन्, पूरा हुन नसक्ने बाचाहरू सुनेर । यसअघिका घोषणापत्र हेर्दा आज पनि उस्तै छ – गर्नेछौँ, बनाउनेछौँ, सुधार्नेछौँ । तर प्रश्न एउटै छ– कहिले ? र, कसरी ?

नागरिकको चाहना छ – घोषणापत्रमा पूरा गर्न नसक्ने होइन, पूरा गर्न सकिने कुरा मात्र होस् ।

नागरिकलाई सबैभन्दा पहिले चाहिएको छ, सुशासन । ठूला भाषण होइन, सानो तर कडा प्रतिबद्धता – घुस नलिने, दिन नपर्ने अवस्था बनाउने । सेवा लिन सरकारी कार्यालय छिर्दा चिनजान, पार्टी झण्डा वा सिफारिस नचाहिने व्यवस्था । घोषणापत्रमा ‘भ्रष्टाचार अन्त्य गर्छौं’ भन्ने सजिलो र सतही कुरा होइन, कुन कार्यालयबाट शुरु हुन्छ ? कुन प्रक्रियाबाट ? त्यसको स्पष्ट जवाफ नागरिकलाई चाहिएको छ ।

अर्को, सेवा प्रवाह । नागरिकले दैनिक जीवनमा सरकार खोज्छन् । नागरिकता, राहदानी, नापी, मालपोतका अड्डा अनि अस्पताल, विद्यालयदेखि हिँड्ने सडक र बाटोघाटो–यी सबै ठाउँमा सरकार देखिनुपर्छ । घोषणापत्रमा प्रविधिमैत्री सेवा लेख्दा राम्रो देखिन्छ । तर नागरिकलाई स्पष्ट भन्नुपर्छ–कुन सेवा कति महिनाभित्र अनलाइन हुन्छ ? कुन कार्यालयमा लाइन बस्न नपर्ने हुन्छ ? अनि कुन काम कसरी र कुनबेलासम्म सकिन्छ ?

शान्ति र सुरक्षा कागजमा लेखेर हुँदैन, नागरिकको हरेक सासमा महसुस हुनुपर्छ । नीति कागजमा मात्र छैन, बाटोमा, बजारमा, घरमा, हरेक गल्ली र महलमा अनुभव गर्न सकिने खालको हुनुपर्छ । अपराध भए सजाय हुन्छ भन्ने विश्वास चाहिन्छ । प्रहरी, प्रशासन र न्याय प्रणालीको सुधारबारे घोषणापत्रले स्पष्ट दिशा देखाउनुपर्छ–भावनात्मक होइन, व्यावहारिक योजना । शान्ति, सुरक्षा र राजनीतिक स्थिरताका लागि दलहरुले काम गर्ने प्रतिबद्धता स्पष्ट देखाउनुपर्छ–हिंसा रहित समाज, कानुनको शासन र राष्ट्रिय हित प्राथमिकतामा राख्ने दृढ निश्चय ।

शिक्षा सुधारमा स्पष्ट लक्ष्य, स्वास्थ्यमा पहुँचयोग्य सेवा, रोजगारीमा व्यवहारिक कार्यक्रम, विकासमा समयसीमा र स्रोतको हिसाब–यी नै नागरिकलाई विश्वास दिलाउने आधार हुन् । सपना देखाउने होइन, पूरा गर्न सकिने कामको सूची दिनु नै साँचो घोषणापत्र हो ।

आजका नागरिक आशा र सपना सुन्न चाहँदैनन् । सपना धेरै सुनेर उनीहरू झस्किसके । उनीहरू चाहन्छन्, ‘हामी यो गर्छौं, यति समयभित्र गर्छौं, नगरे जिम्मेवार हुन्छौं’ भन्ने स्पष्टता ।

घोषणापत्र चुनाव जित्ने पर्चा होइन । त्यो उम्मेदवार र नागरिकबीचको करार हो । करारमा शब्द कम भए पनि भरोसा बलियो हुनुपर्छ । अलि कम बाचा, तर पूरा हुने बाचा । सबै दलहरुका यही बुझाइ भयो भने घोषणापत्र कागजको थुप्रो होइन, देश र नागरिकको मुहार फेर्ने स्पष्ट मार्गदर्शन बन्न सक्छ ।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
२१ घण्टा अगाडि

1.2kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
227 Shares