काठमाडौं उपत्यकामा ‘एकीकृत सुरक्षा योजना २०८२’ लागू प्रतिनिधि सभा निर्वाचन सुरक्षाका लागि उच्चस्तरीय अनुगमन संयन्त्र परिचालन

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गराउने उद्देश्यसहित प्रहरी प्रधान कार्यालयले ‘एकीकृत सुरक्षा योजना २०८२’ कार्यान्वयनमा ल्याएको छ। योजना अन्तर्गत काठमाडौं उपत्यकामा उच्चस्तरीय अनुगमन संयन्त्र परिचालन गरिएको छ।
समग्र सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी र परिणाममुखी बनाउन पाँच जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) लाई अनुगमन अधिकृतका रूपमा खटाइएको हो। प्रहरी परिचालन नीतिअनुसार काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा छुट्टाछुट्टै जिम्मेवारी तोकी प्रत्यक्ष अनुगमन र मूल्यांकनको व्यवस्था गरिएको छ।
काठमाडौंमा क्षेत्रगत जिम्मेवारी विभाजन
काठमाडौं जिल्लाअन्तर्गत निर्वाचन क्षेत्र नम्बर १, २, ३ र ४ को सुरक्षा अनुगमनको जिम्मेवारी एसएसपी रमेशकुमार बस्नेतलाई दिइएको छ। उनी उपत्यका प्रहरी कार्यालय रानीपोखरी मा कार्यरत छन्।
त्यसैगरी, क्षेत्र नम्बर ५, ६ र ७ मा एसएसपी सोमेन्द्रसिंह राठौर खटिएका छन्। उनी पनि रानीपोखरीस्थित सोही कार्यालयमै कार्यरत हुन्।
क्षेत्र नम्बर ८, ९ र १० को सुरक्षा अनुगमनको जिम्मा एसएसपी नवराज अधिकारीलाई दिइएको छ। उनी हाल उपत्यका ट्राफिक प्रहरी प्रमुखका रूपमा कार्यरत छन्।
काठमाडौं जिल्ला प्रहरी परिसरको कमान्ड भने एसएसपी रमेश थापाले सम्हालिरहेका छन्।
ललितपुर र भक्तपुरमा पनि उच्च सतर्कता
ललितपुर जिल्लामा निर्वाचन सुरक्षाको अनुगमनका लागि एसएसपी सन्तोष खड्का खटिएका छन्। ललितपुरमा तीन वटा निर्वाचन क्षेत्र छन्। उनी उपत्यका अपराध अनुसन्धान कार्यालय का प्रमुख हुन्। ललितपुर जिल्ला प्रहरी प्रमुखका रूपमा एसएसपी होविन्द्र बोगटी कार्यरत छन्।
दुई वटा निर्वाचन क्षेत्र रहेको भक्तपुर जिल्लामा उपत्यका प्रहरी कार्यालय रानीपोखरी मै कार्यरत एसएसपी प्रविण धिताललाई अनुगमन अधिकृत तोकिएको छ। भक्तपुर जिल्ला प्रहरी परिसरको नेतृत्व प्रहरी उपरीक्षक (एसपी) सूर्यबहादुर खड्काले गरिरहेका छन्।
अनुगमनको दायरा के–के?
खटाइएका एसएसपीहरूले:
निर्वाचन सुरक्षा व्यवस्थापनको समग्र अवस्थाको स्थलगत अनुगमन गर्ने
जनशक्ति तथा स्रोत–साधन परिचालनको प्रभावकारिता मूल्यांकन गर्ने
स्वीकृत निर्वाचन सुरक्षा योजनाको कार्यान्वयन अवस्था परीक्षण गर्ने
केन्द्रबाट जारी नीति–निर्देशनको पालना भए/नभएको निरीक्षण गर्ने
निर्देशन कार्यान्वयनमा कमजोरी भेटिएमा तत्काल सुधारात्मक पहल गरी सम्बन्धित जिल्ला प्रहरी परिसरलाई सहजीकरण गरिने जनाइएको छ। आवश्यकता अनुसार उपत्यका प्रहरी कार्यालय रानीपोखरी मार्फत थप समन्वय र निर्देशन प्रदान गरिनेछ।
‘अनुगमन–मुखी’ मोडेलमा जोड
प्रहरी स्रोतका अनुसार यस पटक निर्वाचन सुरक्षामा ‘अनुगमन–मुखी’ मोडेल अपनाइएको छ। यसले सुरक्षा संयन्त्रलाई थप चुस्त, उत्तरदायी र परिणाममुखी बनाउने विश्वास गरिएको छ।
उच्चस्तरीय नेतृत्वको प्रत्यक्ष निगरानी र क्षेत्रगत जिम्मेवारी स्पष्ट गरिएकाले उपत्यकामा निर्वाचन सुरक्षा व्यवस्था सुदृढ र प्रभावकारी हुने अपेक्षा गरिएको छ।

Facebook Comments Box
TOP
145 Shares