

ओली पक्राउ प्रकरण: लिखित आदेशबिना अघि नबढ्ने प्रहरी, रातभर उच्चस्तरीय छलफल
काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्न गृहमन्त्री सुधन गुरुङले दिएको मौखिक निर्देशन कार्यान्वयन गर्न नेपाल प्रहरीले लिखित आदेश माग गरेको छ। यससँगै सम्भावित संवेदनशील अवस्थालाई मध्यनजर गर्दै सुरक्षा संयन्त्र ‘हाई अलर्ट’ मा राखिएको छ भने मध्यरातिसम्म उच्चस्तरीय बैठक जारी रहे पनि ठोस निष्कर्ष निस्कन सकेको छैन।
गृहमन्त्री गुरुङले शुक्रबार राति प्रधानमन्त्री बालेन्द्र शाहलाई बालुवाटारमा ब्रिफिङ गरेलगत्तै प्रहरी प्रधान कार्यालय पुगेर पक्राउ प्रक्रिया अघि बढाउन दबाब दिएका थिए। तर प्रहरीले स्पष्ट कानुनी आधार र जिम्मेवारी सुनिश्चित गर्न लिखित निर्देशन आवश्यक पर्ने अडान राखेको हो।
प्रहरी प्रधान कार्यालयमा बसेको बैठकमा गृहमन्त्री, गृहसचिव, कानुन सचिवसहित नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की, उपत्यका प्रहरी प्रमुख एआईजी ईश्वर कार्की, सशस्त्र प्रहरीका आईजीपी राजु अर्याल तथा एआईजी गणेश ठाडा मगर सहभागी थिए। बैठकमा कानुनी जटिलता, सुरक्षा जोखिम र राजनीतिक प्रभावबारे गहन छलफल भएको बताइएको छ।
एक उच्च प्रहरी अधिकारीका अनुसार, “हामीले लिखित निर्देशन मागेका छौं, पत्र प्राप्त भएपछि मात्र पक्राउ प्रक्रिया अघि बढ्छ।”
यसबीच, सम्भावित अप्रिय अवस्था हुन सक्ने आकलन गर्दै भक्तपुरस्थित ओली निवास गुण्डु वरपर निगरानी बढाइएको छ। काठमाडौं उपत्यका अपराध महाशाखा र भक्तपुर प्रहरी परिसरका टोलीहरू त्यहाँ परिचालन गरिएका छन्।
यस घटनाक्रमको पृष्ठभूमिमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा पूर्वप्रधानमन्त्री ओलीसहित तत्कालीन गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजालमाथि कारबाही अघि बढाउने तयारी गरिएको हो।
यद्यपि सुरक्षाकर्मीहरूको हकमा भने तत्काल कारबाही नगरी छुट्टै अध्ययन समिति गठन गरी त्यसको सिफारिसपछि मात्र निर्णय लिने सरकारको धारणा रहेको छ।
यो घटनाक्रमले मुलुकको राजनीतिक तथा सुरक्षा वातावरणलाई थप तरंगित बनाएको छ। अब सरकारबाट लिखित आदेश आउने वा नआउने भन्ने कुराले आगामी कदमको दिशा तय गर्नेछ।
समाज
थप सामाग्री-
भारतमा “मे” महिनाभरि तीव्र उष्णलहरको चेतावनी, जनजीवन प्रभावित हुने संकेत
-
प्रधानमन्त्री शाहको बुद्ध जयन्ती सन्देशप्रति रक्षा बमको फरक धारणा
-
जग्गा धितो रोक्का–फुकुवा अब अनलाइनबाट, मालपोत धाउनु नपर्ने
-
पेट्रोल र डिजेल सस्तो, एलपी ग्यास तथा हवाई इन्धन महँगियो
-
बल्खुमा डोजर अभियान सुरु, सुकुमबासी व्यवस्थापनमा सरकार सक्रिय
वंशीघाट सुकुम्बासी बस्तीमा डोजर : कडा सुरक्षा, स्थानीय त्रसित
१३ घण्टा अगाडि
2.5kViews 102 Shares Share on Facebook Share on Twitter काठमाडौँ । काठमाडौँ महानगरपालिका–टेकुस्थित वंशीघाटमा रहेको सुकुम्बासी बस्तीमा आज डोजर चलाइएको…



