

गृहमन्त्री नहुँदा रोकियो प्रहरी सरुवा, काठमाडौं कमाण्डका लागि एसएसपीहरूबीच तीव्र प्रतिस्पर्धा
काठमाडौँ । वैशाख ९ गते तत्कालीन गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएपछि प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले गृह मन्त्रालयको जिम्मेवारी आफैं सम्हाल्दै आएका छन् । गृहमन्त्री रिक्त रहँदा नेपाल प्रहरीमा ठूलो संख्यामा सरुवा प्रक्रिया प्रभावित भएको छ ।
गत वर्ष सरुवा भएर विभिन्न जिल्लामा खटिएका तथा कार्यअवधि पूरा गरेका प्रहरी निरीक्षकदेखि वरिष्ठ उपरीक्षक (एसएसपी) सम्मका अधिकृतहरूको सरुवा रोकिएको हो । प्रहरी नियमावली २०७१ अनुसार प्रहरी अधिकृतहरूको सरुवा सामान्यतया एक वर्षमा गरिने व्यवस्था छ ।
प्रहरी प्रधान कार्यालयले २०८२ वैशाख १० गते ३११ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरेको थियो । तीमध्ये कार्यअवधि पूरा भएका २४ जनालाई चैत २ गते काज सरुवा गरिए पनि बाँकीको सरुवा अझै हुन सकेको छैन ।
त्यस्तै, गत वर्ष वैशाख १० मै १२१ जना डीएसपीको सरुवा गरिएको थियो । उनीहरूको अवधि सकिए पनि नयाँ जिम्मेवारी तोकिएको छैन । अघिल्लो वैशाखमा खटाइएका धेरै इन्स्पेक्टर र डीएसपी अहिले पनि विभिन्न जिल्लामा इन्चार्जकै भूमिकामा कार्यरत छन् ।
एक वर्षे कार्यकाल पूरा गरेका एसपीहरूको सरुवा पनि रोकिएको छ । बाग्लुङ, सिन्धुली, काभ्रे, सर्लाही, महोत्तरी, सुर्खेत, चितवन, पश्चिम नवलपरासी, कपिलवस्तु, कञ्चनपुर तथा सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालयमा कार्यरत एसपीहरूको अवधि पूरा भइसकेको छ ।
यसबीच, पाल्पामा खटाइएका एसपी पवन भट्टराईलाई जेनजी आन्दोलनपछि काठमाडौं फिर्ता ल्याइएको थियो ।
एसएसपी र डीआईजी हेरफेरको तयारी
प्रहरी प्रधान कार्यालयले एसएसपी र केही प्रदेश डीआईजीको समेत हेरफेर गर्ने तयारी गरिरहेको छ । प्रहरी प्रवक्ता डीआईजी अबि नारायण काफ्लेले सरुवा प्रक्रिया चलिरहेको बताएका छन।
उनले जनरक्षालाई भने, “अवधि पुगेका अधिकृतहरूको सरुवा प्रक्रियामै छ । सिलसिलेवार रूपमा रिपोर्टिङ गर्नुपर्ने विषयहरू छन् ।”
प्रहरी स्रोतका अनुसार सरुवाका लागि यसअघि तयार गरिएको मापदण्डलाई नै आधार बनाइएको छ । नेतृत्व परिवर्तनसँगै सरुवा मापदण्ड फेरिन सक्ने चर्चा भए पनि हाल मापदण्ड परिवर्तन नहुने संकेत प्रहरी नेतृत्वले दिएको छ ।
प्रहरी नियमावलीअनुसार एसपीसम्मको सरुवा निर्णय प्रहरी महानिरीक्षक (आईजीपी) ले गर्ने व्यवस्था छ भने एसएसपी र डीआईजी सरुवाको निर्णय गृहमन्त्रीबाट हुने प्रावधान छ ।
हाल गृह मन्त्रालयमा जेम्स कार्की स्वकीय सचिवका रूपमा कार्यरत छन् । प्रहरीका एक उच्च अधिकृतका अनुसार सरुवा सूची प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव सुवास शर्मासमक्ष पठाइसकिएको छ । तर प्रधानमन्त्री सचिवालयबाट अन्तिम सहमति नआएका कारण प्रक्रिया रोकिएको छ ।
एक उच्च प्रहरी अधिकृतले भने, “प्रधानमन्त्री सचिवालयबाट सहमति आएपछि सरुवा प्रक्रिया अघि बढ्छ ।”
काठमाडौं कमाण्डका लागि दौडधुप
जिल्ला प्रहरी परिसर काठमाडौंको नेतृत्व परिवर्तन गर्ने तयारी पनि प्रहरी प्रधान कार्यालयले थालेको छ । हाल परिसरको नेतृत्व एसएसपी रमेश थापाले गरिरहेका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयको नेतृत्व परिवर्तन गर्ने गृहकार्यसमेत अघि बढाइएको स्रोत बताउँछ ।
काठमाडौं परिसरको कमाण्ड सम्हाल्न एसएसपीहरूबीच तीव्र प्रतिस्पर्धा सुरु भएको छ । एसएसपी दयानिधि ज्ञवाली, सुरेश काफ्ले, बीरबहादुर बुढा, सुवास बोहरा र अजय केसीले काठमाडौं जान रुचि देखाएका छन् ।
ज्ञवाली र बोहरा हाल प्रहरी प्रधान कार्यालयको कार्य विभागमा कार्यरत छन् । प्रतिनिधिसभा निर्वाचनपछिको रणनीतिक विश्लेषण गर्न गठित महाशाखाको नेतृत्व ज्ञवालीले गरेका थिए ।
जेनजी प्रदर्शनका क्रममा प्रहरी मुख्यालयको सुरक्षा व्यवस्थापनमा बोहरा र ज्ञवालीले सक्रिय भूमिका खेलेका थिए । विशेष ब्यूरोमा कार्यरत एसएसपी सुरेश काफ्लेले जेनजी आन्दोलन हिंसात्मक बनेपछि सर्वोच्च अदालतका न्यायाधीशहरूलाई सुरक्षित स्थानमा सार्न नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । त्यसबेला उनी सर्वोच्च अदालत सुरक्षा युनिटमा कार्यरत थिए ।
बीरबहादुर बुढा हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत छन् भने अजय केसी साइबर ब्यूरोमा कार्यरत छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयमा कार्यरत प्रविण धितालले पनि काठमाडौं परिसरको नेतृत्व लिन इच्छा देखाएको प्रहरी स्रोत बताउँछ ।
समाज
थप सामाग्री
गृहमन्त्री नहुँदा रोकियो प्रहरी सरुवा, काठमाडौं कमाण्डका लागि एसएसपीहरूबीच तीव्र दौड ,प्रधानमन्त्रीको रोजाइमा एसएसपी सुरेश
१७ घण्टा अगाडि
2.1kViews 134 Shares Share on Facebook Share on Twitter काठमाडौँ । वैशाख ९ गते तत्कालीन गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएपछि…



