सेटिङका बादशाह अच्युत खरेल : अर्बौंका ठेक्कादेखि नक्कली भ्याटसम्म, राज्य दोहनको संगठित जालो !

काठमाडौं । सरकारी ठेक्कामा वर्षौंदेखि ‘सेटिङ सिन्डिकेट’ चलाउँदै आएको आरोप खेपिरहेको समानान्तर निर्माण सेवामाथि अब आयकर छली, नक्कली भ्याट बिल प्रयोग, सम्पत्ति शुद्धीकरण र ई–बिडिङ ह्याकिङसम्मका गम्भीर आरोपहरू एकपछि अर्को थपिँदै गएका छन् ।

राजश्व अनुसन्धान विभागले २०७८ पुसमै अच्युतप्रसाद खरेल सञ्चालक रहेको समानान्तर निर्माण सेवामा छापा मारेर कागजात नियन्त्रणमा लिएको थियो । छानबिनका क्रममा रेलिगेयर कन्स्ट्रक्सनमार्फत ५० करोडभन्दा बढी रकम शंकास्पद रूपमा कारोबार गरिएको तथ्य फेला परेको स्रोत बताउँछ ।

तर, राजनीतिक पहुँच र शक्तिकेन्द्रसँगको निकट सम्बन्धका कारण खरेल दाजुभाइ लामो समय कारबाहीबाट जोगिँदै आएको आरोप छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको दबाबमा राजश्व अनुसन्धान प्रभावित भएको दाबी स्रोतहरूको छ ।

अनुसन्धानमा खरेलको खातामा सन् २०१७ देखि २०२१ सम्म १ अर्ब १५ करोड रुपैयाँभन्दा बढीको शंकास्पद कारोबार भेटिएको बताइन्छ । अवैध स्रोतबाट आएको रकमलाई वैध देखाउन व्यक्तिगत खाता प्रयोग गरिएको निष्कर्षसमेत विभागले निकालेको थियो ।

यही फाइल अहिले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पुनः खोलेर छुट्टाछुट्टै अनुसन्धान गरिरहेका छन् । केही दिनभित्रै अच्युत खरेल र उनका दाइ केशवप्रसाद खरेललाई बयानका लागि बोलाउने तयारी भइरहेको स्रोतको दाबी छ ।

ठेक्का कब्जाको ‘नेटवर्क’

समानान्तर निर्माण सेवाले सरकारी निकायहरूमा आफूअनुकूल स्पेसिफिकेसन बनाइ ठेक्का कब्जा गर्ने गरेको आरोप पुरानै हो । सर्वोच्च अदालत भवन, राष्ट्रपति कार्यालय, राष्ट्रपति निवास, रेल्वे विभाग, गंगालाल हृदय केन्द्र, राहदानी विभाग, जल तथा मौसम विज्ञान विभागदेखि नेपाल आयल निगमसम्मका अर्बौंका आयोजना समानान्तरले पाउँदै आएको छ ।

काठमाडौं महानगरपालिकाले वसुन्धरा–म्हैपी ढल ठेक्कामा गलत विवरण पेश गरेको भन्दै समानान्तरलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिससमेत गरेको थियो । तर कारबाही ठेकेदारमाथि नभई उल्टै महानगरका कर्मचारीमाथि भएको भन्दै त्यसबेला व्यापक प्रश्न उठेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरको भवन निर्माण ठेक्कामा मिलेमतो भएको आरोपमा मुद्दा दायर गरे पनि ठेक्का पाउने कम्पनी भने जोगिएको भन्दै आलोचना हुँदै आएको छ ।

‘सेटिङ’को राजनीतिक छाता ?

स्रोतका अनुसार खरेलले शक्तिशाली राजनीतिक, न्यायिक र प्रशासनिक वृत्तसँग निकट सम्बन्ध बनाएर ठेक्का प्रणाली कब्जा गर्दै आएका थिए । तत्कालीन अख्तियार प्रमुख नवीन घिमिरेदेखि एमाले सचिव महेश बस्नेत र चोलेन्द्रशमशेर राणाका भाइ प्रभु शमशेरसम्मसँग निकट सम्बन्ध रहेको दाबी स्रोतहरूको छ ।

सीआईबीले बुढानिलकण्ठस्थित नवीन घिमिरेको घर निर्माणमा समेत खरेलको लगानी जोडिएको आशंकामा गोप्य अनुसन्धान गरिरहेको स्रोतले जनाएको छ ।

ई–बिडिङ ह्याकिङदेखि फास्ट ट्र्याकसम्म

समानान्तर निर्माण सेवा अहिले ई–बिडिङ ह्याकिङ प्रकरणमा समेत अनुसन्धानको घेरामा परेको स्रोतको दाबी छ । सीआईबीले ठेक्का ह्याकिङ प्रकरणमा १३ जना ठेकेदार पक्राउ गरिसकेको अवस्थामा खरेलमाथि पनि अनुसन्धान अगाडि बढाइएको बताइन्छ ।

खरेलले दुई चिनियाँ कम्पनीसँग संयुक्त उपक्रम बनाएर फास्ट ट्र्याकको प्याकेज–२ अन्तर्गत सुरुङ र पुल निर्माणको ठेक्का हात पारेका थिए । उक्त ठेक्कामा अनियमितता भएको भन्दै सार्वजनिक लेखा समितिले ६ वर्षअघि नै नेपाली सेनालाई ठेक्का रद्द गर्न निर्देशन दिएको थियो ।

नेपाल प्रहरीका भवन निर्माणदेखि विभिन्न सरकारी आयोजनामा भेरिफिकेसन अर्डर (भिओ) मार्फत मनपरी गरिएको आरोपसमेत समानान्तरमाथि लाग्दै आएको छ ।

यता, आरोपबारे प्रतिक्रिया लिन अच्युतप्रसाद खरेलसँग पटक–पटक सम्पर्क प्रयास गर्दा पनि सम्पर्क हुन सकेन ।

Facebook Comments Box
प्रहरी कार्यालयमा ‘पञ्चायती’ भेला रोक्न आईजीपी कार्कीको निर्देशन, सेवा केन्द्र भवन उद्घाटन
९ घण्टा अगाडि

1.6kViews 435 Shares Share on Facebook Share on Twitter पर्सा । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले विभिन्न मुद्दाका नाममा…

TOP
Shares