

पर्सामा महिला, बालबालिका र ज्येष्ठ नागरिकका लागि ‘विशेष सेवा केन्द्र भवन’ सञ्चालनमा : आईजीपी कार्कीको उद्घोष– “सेवा संवेदनशील, निष्पक्ष र प्रविधिमैत्री हुनुपर्छ”
पर्सा । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक लक्षित अत्याधुनिक सेवा प्रवाहका लागि निर्माण गरिएको “विशेष सेवा केन्द्र भवन” पर्सामा औपचारिक रूपमा सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय पर्साको परिसरमा निर्माण गरिएको उक्त भवन बुधबार एक विशेष कार्यक्रमबीच नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्कीले उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै आईजीपी कार्कीले नागरिकमैत्री सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउनु आजको आवश्यकता भएको उल्लेख गरे । उनले विशेष गरी महिला, बालबालिका र ज्येष्ठ नागरिकजस्ता संवेदनशील समूहलाई दिइने सेवा अझ संवेदनशील, निष्पक्ष र पहुँचयोग्य हुनुपर्नेमा जोड दिए ।
“नागरिकको विश्वास जित्ने प्रहरी संगठन निर्माणका लागि भौतिक पूर्वाधारले महत्वपूर्ण भूमिका खेल्छ,” उनले भने, “यस प्रकारका आधुनिक सेवा केन्द्रले सेवाग्राहीलाई छिटोछरितो, सहज र प्रविधिमैत्री सेवा प्रदान गर्न मद्दत गर्नेछ भन्ने विश्वास लिएको छु।”
उद्घाटनपछि आईजीपी कार्कीले भवनको अवलोकनसमेत गरेका थिए । उनले सेवा प्रवाहमा खटिने प्रहरी कर्मचारीले समेत सेवाग्राहीप्रति उच्च जिम्मेवारी र संवेदनशीलता देखाउनुपर्ने बताए ।
कार्यक्रममा उनले नेपाल प्रहरीको संस्थागत क्षमता अभिवृद्धिमा अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूको योगदान उल्लेखनीय रहेको भन्दै United Nations Office for Project Services (UNOPS) ले भौतिक पूर्वाधार विकासमा पुर्याएको सहयोगप्रति विशेष धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा उपस्थित पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले नयाँ सेवा केन्द्र सञ्चालनमा आएसँगै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकले न्याय तथा सुरक्षा सेवा अझ सहज रूपमा प्राप्त गर्ने विश्वास व्यक्त गरे ।
त्यसैगरी, गोबिन्द थपलियाले धन्यवाद मन्तव्य दिँदै प्रहरी–समुदाय सम्बन्ध सुदृढ बनाउन यस्ता पूर्वाधारहरू महत्वपूर्ण हुने बताए । UNOPS का अपरेसन कोअर्डिनेटर तथा अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक इन्द्र न्यौपानेले स्वागत मन्तव्य राखेका थिए भने वरिष्ठ इन्जिनियर शिशिर उपाध्यायले भवन निर्माणसम्बन्धी प्राविधिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
UNOPS को आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण सम्पन्न उक्त भवनको लागत २ करोड १ लाख ७४ हजार ४ सय ६ रुपैयाँ ५ पैसा रहेको प्रहरीले जनाएको छ । भवनमा महिला तथा बालमैत्री सेवा कक्ष, गोप्य परामर्श कक्ष, ज्येष्ठ नागरिक सहायता डेस्क तथा डिजिटल अभिलेखीकरण प्रणालीजस्ता आधुनिक सुविधा समावेश गरिएको छ ।
कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका उपप्रमुख, सुरक्षा निकायका प्रमुखहरू, विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघसंस्थाका पदाधिकारी, सञ्चारकर्मी तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो ।
पछिल्लो समय महिला हिंसा, बाल अधिकार उल्लंघन तथा ज्येष्ठ नागरिकमाथि हुने दुर्व्यवहारका घटनाहरू बढिरहेका बेला पर्सामा सञ्चालनमा आएको यो विशेष सेवा केन्द्रलाई नागरिक सुरक्षा र न्याय पहुँच विस्तारतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।
समाज
थप सामाग्री-
सेटिङका बादशाह अच्युत खरेल : अर्बौंका ठेक्कादेखि नक्कली भ्याटसम्म, राज्य दोहनको संगठित जालो !
-
सर्वोच्चद्वारा सीईओ पाण्डे पक्राउबारे कारण देखाउ आदेश, दुवै पक्षलाई छलफलमा बोलाइयो
-
सडक दुर्घटना रोकथामका लागि “डिफेन्सिभ ड्राइभिङ” अनुशिक्षण सम्पन्न
-
सिंहदरबारदेखि सडकसम्म ट्राफिक निगरानी : कानुनको समानता कि व्यवस्थापकीय कठोरता ?
-
मन्त्रालयमै ‘लैङ्गिक तथा यौनिक अल्पसंख्यक’, वालेन सरकारको ऐतिहासिक निर्णय
प्रहरी कार्यालयमा ‘पञ्चायती’ भेला रोक्न आईजीपी कार्कीको निर्देशन, सेवा केन्द्र भवन उद्घाटन
१० घण्टा अगाडि
1.6kViews 435 Shares Share on Facebook Share on Twitter पर्सा । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले विभिन्न मुद्दाका नाममा…



