एनसेल–स्मार्ट टेलिकम प्रकरण : अनुसन्धान तीव्र तर प्रमुख व्यक्तिहरू विदेश, सीआईबीको कार्यक्षमतामाथि प्रश्न

काठमाडौं । स्मार्ट टेलिकमको लिलाम प्रकरणसँग जोडिएको अनुसन्धानमा तानिएको टेलिकम कम्पनी एनसेलका सञ्चालक तथा उच्च अधिकारीहरू विदेश गएको दाबीपछि घटनाले नयाँ मोड लिएको छ। अनुसन्धानलाई अगाडि बढाइरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी )ले छानबिनलाई तीव्र बनाए पनि मुख्य सरोकारवालाहरू सहजै विदेश जानु र केही अझै नियन्त्रणमा नआउनुले प्रश्न उठाएको छ।

स्रोतहरूका अनुसार एनसेलका प्रमुख सञ्चालक शतिसलाल आचार्य तथा अन्य उच्च अधिकारीहरू अनुसन्धान सुरु भएपछि नै विदेश गएका हुन्। सीईओ माइकल फोले पनि बिदा लिएर बाहिरिएको र उनी नेपाल फर्किने वा नफर्किने अनिश्चित रहेको दाबी गरिएको छ। त्यस्तै सीएफओ, सीबीओ, मानव संसाधन प्रमुखलगायतका केही वरिष्ठ अधिकारीहरू पनि देश बाहिर रहेको आरोप छ।

यसबीच स्मार्ट टेलिकमसँग सम्बन्धित लिलाम प्रक्रिया र उपकरण हस्तान्तरण प्रकरणले पनि अनुसन्धानलाई थप जटिल बनाएको छ। स्मार्ट टेलिकमको लाइसेन्स खारेजपछि सरकारी स्वामित्वमा आउनुपर्ने सम्पत्तिहरू लिलाममार्फत एनसेललाई दिइएको विषयमा गम्भीर नीतिगत चलखेलको आरोप लाग्दै आएको छ।

सीआईबीले केही दिनअघि एनसेलको केन्द्रीय कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको भए पनि मुख्य सञ्चालक तहका व्यक्तिहरू पक्राउ नपर्नुले अनुसन्धानको प्रभावकारितामाथि सार्वजनिक प्रश्न उठ्न थालेका छन्। यस प्रकरणमा इन्भेष्टमेन्ट बैंकसँग सम्बन्धित अधिकारी तथा मेगा बैंक नेपालका सीईओ ज्योति प्रकाश पाण्डे समेत पहिले पक्राउ परे पनि पछि अदालतको आदेशमा रिहा भएका थिए।

लिलाम प्रक्रियामा संलग्न सम्झौता, कागजात हस्ताक्षर र स्वामित्व हस्तान्तरणसँग सम्बन्धित निर्णयहरूमा उच्चस्तरीय समन्वय भएको आरोप लगाइँदै आएको छ। तर अनुसन्धानको प्रारम्भिक चरणमै मुख्य पात्रहरू विदेश पुग्नु र केही अझै कारबाहीको दायरामा नआउनुले सीआईबीको निगरानी तथा नियन्त्रण क्षमतामाथि समेत प्रश्न उठेको छ।

हाल सीआईबीले अन्य संलग्न पक्षहरूको खोजी तथा प्रमाण संकलनलाई निरन्तरता दिइरहेको जनाएको छ। तर प्रकरणको गम्भीरता र आर्थिक मूल्यको हिसाबले अनुसन्धानले अझ कडा र पारदर्शी प्रगति माग गरिरहेको सरोकारवालाहरू बताउँछन्।

Facebook Comments Box
सांसद ज्ञानेन्द्र शाहीको सरकारलाई कडा अपिल: ६५ वटा भ्रष्टाचार काण्डका दोषीलाई तत्काल कानुनी कारबाही गर्न माग
१९ घण्टा अगाडि

1.5kViews 289 Shares Share on Facebook Share on Twitter काठमाडौं । सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री नेतृत्वको वर्तमान सरकारलाई देशका ठूला…

TOP
496 Shares