दीपक भट्टमाथि तीन कसुरमा सिआइबीको छुट्टै छानबिन, सम्पत्ति शुद्धीकरण मुद्दा अन्तिम चरणमा

काठमाडौँ — बिचौलिया दीपक भट्टमाथि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले थप तीन फरक कसुरमा छुट्टै छानबिन अघि बढाएको छ। उनी हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका छन्।

सिआइबीका अनुसार भट्टविरुद्ध बिमा, धितोपत्र (सेयर बजार) र बैंकिङसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। यसअघि उनलाई गत १९ चैतमा सम्पत्ति शुद्धीकरणको अभियोगमा पक्राउ गरी विभागमा बुझाइएको थियो।

सिआइबीका एआईजी मनोज केसीका अनुसार भट्टसँग जोडिएका अन्य व्यक्तिमाथि पनि अनुसन्धान जारी छ। “दीपक भट्टमाथि तीन कसुरमा अनुसन्धान भइरहेको छ, उनीसँग सम्बन्धित व्यक्तिहरू पनि अनुसन्धानको दायरामै छन्,” उनले बताए।

यस प्रकरणमा शंकर ग्रुपका व्यवसायी सुलभ अग्रवालसमेत अनुसन्धानमा तानिएका छन् भने धितोपत्रसम्बन्धी विषयमा संलग्न अन्य व्यक्तिहरूको भूमिका पनि जाँच भइरहेको सिआइबीले जनाएको छ।

बिमा र सेयर बजारमा अनियमितताको आरोप

बिमा प्राधिकरणको प्रतिवेदनअनुसार भट्टले हिमालयन रिइन्स्योरेन्सको रकम आफ्नो तथा आफन्तका खातामा सार्ने कार्य गरेको र नेपाल पुनर्बिमा कम्पनीको सेयर मूल्य कृत्रिम रूपमा बढाउन भूमिका खेलेको आरोप छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) प्रणालीको दुरुपयोग गर्दै सेयर बजारमा कृत्रिम माग सिर्जना गरिएको तथा नेपाल रिको मूल्य अस्वाभाविक रूपमा वृद्धि गरिएको दाबी पनि अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। ५ साउनमा प्रतिकित्ता १,४६१ रुपैयाँ रहेको नेपाल रिको सेयर १० भदौसम्म १,६८६ रुपैयाँभन्दा माथि पुगेको देखिएको छ।

धितोपत्र कारोबार विनियमावलीअनुसार अग्रिम २५ प्रतिशत रकम बिना कारोबार गर्न नपाइने व्यवस्था भए पनि सो नियम उल्लङ्घन भएको निष्कर्ष प्राधिकरणले निकालेको छ।

बैंकिङ कसुर र ऋण दुरुपयोगको आरोप

भट्टमाथि जगदम्बा स्टिल्सले हिमालयन बैंकबाट लिएको ऋण दुरुपयोगमा संलग्न रहेको आरोप पनि छ। कम्पनीको खाताबाट ३८ करोडभन्दा बढी रकम अन्यत्र स्थानान्तरण गरिएको विवरण अनुसन्धानमा देखिएको छ।

यस प्रकरणमा व्यवसायी शेखर गोल्छा पनि संलग्न देखिएको भन्दै उनलाई पक्राउ गरी पछि हाजिरी जमानीमा रिहा गरिएको सिआइबीले जनाएको छ।

अनुसन्धान अन्तिम चरणमा, तर मुद्दा दायर ढिलाइ

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भट्टमाथिको अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको भए पनि मुद्दा दायर भने अझै हुन सकेको छैन। करिब डेढ महिनादेखि प्रक्रिया रोकिएको भन्दै ढिलाइबारे प्रश्न उठिरहेका छन्।

स्रोतका अनुसार भट्टले आरोप कमजोर पार्ने प्रयास गरिरहेको र अनुसन्धान प्रक्रियामा विभिन्न दबाब तथा चलखेल भएको आशंका पनि व्यक्त गरिएको छ।

यस प्रकरणमा बिमा, बैंकिङ र धितोपत्र बजारसम्बन्धी गम्भीर आर्थिक अनियमितताको कोणबाट तीनै निकायले समन्वयात्मक अनुसन्धान अघि बढाइरहेका छन्।

Facebook Comments Box
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
२ दिन अगाडि

1.3kViews 187 Shares Share on Facebook Share on Twitter रुपन्देही । नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले…

TOP
164 Shares