एसएसपी वसन्त रजौरेको नयाँ अभियान : उत्कृष्ट प्रहरीलाई दैनिक सम्मान, विमानस्थल सुरक्षामा बढ्दै उत्साह

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूको मनोबल बढाउन र सेवाप्रति थप जिम्मेवार बनाउन कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त रजौरेले सुरु गरेको ‘बेस्ट पुलिस अफ द डे’ अभियान प्रभावकारी बन्दै गएको छ ।

एसएसपी रजौरेले गत माघ १६ गते कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेपछि विमानस्थल सुरक्षामा अनुशासन, कार्यक्षमता र नागरिकमैत्री सेवामा सुधार ल्याउने उद्देश्यसहित विभिन्न सुधारात्मक कार्यक्रम अघि बढाएका हुन् । त्यसमध्ये दैनिक उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई सम्मान गर्ने ‘बेस्ट Police अफ द डे’ अभियान अहिले विशेष चर्चामा छ ।

कार्यालयले गत चैत ३० गतेदेखि सुरु गरेको उक्त अभियानअन्तर्गत अहिलेसम्म ३४ जना प्रहरी कर्मचारी सम्मानित भइसकेका छन् । दैनिक कार्यसम्पादन, सेवाप्रतिको समर्पण, जिम्मेवारी निर्वाह र नागरिकसँगको व्यवहारलाई आधार मानेर उत्कृष्ट प्रहरी छनोट गरिने गरिएको कार्यालयले जनाएको छ ।

सम्मानित हुनेहरूमा प्रहरी वरिष्ठ नायव निरीक्षक भीमसेन कार्की, प्रहरी सहायक निरीक्षक विक्रान्त थापा, रुद्रबहादुर श्रेष्ठ, जनक राम महरा, सन्देश खनाल र सुशील तामाङ रहेका छन् । यस्तै प्रहरी हवल्दार सोवर्ण दाहाल, मोतीलाल सापकोटा, टोपबहादुर राना, महेश कुमार चौधरी, अम्बरबहादुर नेपाली, नवराज नाउलगायतका प्रहरी कर्मचारी पनि सम्मानित भएका छन् ।

त्यसैगरी प्रहरी जवान अनिल परियार, मोहनबहादुर रास्कोटी, भीमप्रसाद गौतम, पवन दमाई, सरोज राई, दीपकसिंह डंगोरिया, अनिता चौधरी, देवकला भुसाल, जमुना श्रेष्ठ, सावित्री अवस्थीलगायतका प्रहरी कर्मचारीले पनि उत्कृष्ट कार्यसम्पादनका आधारमा सम्मान प्राप्त गरेका छन् ।

कार्यालयले ‘बेस्ट पुलिस अफ द डे’ मात्र होइन, ‘बेस्ट पुलिस अफ द मन्थ’ कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । चैत महिनाको उत्कृष्ट प्रहरीका रूपमा प्रहरी निरीक्षक गणेश खनाल घोषित भएका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयअन्तर्गत करिब साढे चार सय प्रहरी कर्मचारी कार्यरत छन् । तीमध्ये विशेषगरी प्रहरी निरीक्षकभन्दा मुनिका कर्मचारीलाई प्रोत्साहनस्वरूप सम्मान गर्ने गरिएको जनाइएको छ ।

एसएसपी वसन्त रजौरेका अनुसार प्रहरी सेवामा खटिने कर्मचारीको कामको दैनिक मूल्याङ्कन गर्दै राम्रो काम गर्नेलाई पहिचान र प्रोत्साहन दिन अभियान सुरु गरिएको हो ।

उनले भने, “हरेक दिन नागरिकको सेवा र आफ्नो जिम्मेवारीको मूल्याङ्कन हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । राम्रो काम गर्नेलाई सम्मान र प्रोत्साहन मिल्दा संगठनभित्र सकारात्मक प्रतिस्पर्धा बढ्छ ।”

उनका अनुसार उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी दोहोरिएर पनि सम्मानित हुन सक्ने व्यवस्था गरिएको छ । अभियान सुरु भएसँगै विमानस्थल सुरक्षामा खटिएका प्रहरी कर्मचारीमा थप उत्साह र जिम्मेवारीबोध बढेको कार्यालयले जनाएको छ ।

Facebook Comments Box
TOP
114 Shares