
आज हरिबोधनी एकादशी : तुलसी विवाहसँगै चतुर्मास समाप्त, शुभकार्यको ढोका खुल्दै

काठमाडौं । आज कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशी। हिन्दू धर्मावलम्बीले श्रद्धा र भक्तिपूर्वक मनाउने यस पर्वलाई प्रबोधिनी एकादशी, देवउठनी एकादशी तथा ठूली एकादशीका नामले पनि चिनिन्छ। आजको दिन भगवान् विष्णु चार महिनाको योगनिद्राबाट जाग्ने धार्मिक विश्वासका साथ तुलसी विवाह, विशेष पूजा, व्रत, भजनकीर्तन तथा दानधर्म गरी मनाइन्छ।
धार्मिक मान्यताअनुसार आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा योगनिद्रामा जानुभएका भगवान् विष्णु आजकै दिन जागृत हुनुहुन्छ। यही कारण आजको दिनलाई देवउठनी एकादशी पनि भनिएको हो। भगवान् विष्णु शयनमा रहनुभएको चतुर्मास अवधिभर विवाह, व्रतबन्ध, गृहप्रवेशलगायतका माङ्गलिक कार्य नगर्ने परम्परा छ। हरिबोधनी एकादशीसँगै चतुर्मास समाप्त हुने भएकाले आजदेखि विवाहलगायतका शुभकार्य पुनः सुरु गर्ने धार्मिक चलन छ।
यस दिन घरआँगनमा रोपिएको तुलसीको विधिपूर्वक विवाह गराउने विशेष परम्परा रहेको छ। तुलसीको मठलाई गोबर र माटोले लिपपोत गरी रातो, पहेँलो तथा सेतो वस्त्र, फूलमाला र विभिन्न सामग्रीले सिँगारिन्छ। त्यसपछि भगवान् विष्णुको प्रतीकका रूपमा लिइने शालिग्राम वा पिपलसँग तुलसीको विवाह गराउने धार्मिक परम्परा छ। तुलसीलाई भगवान् विष्णुको अत्यन्त प्रिय मानिने भएकाले यस दिन तुलसी विवाहको विशेष महत्त्व रहेको छ।
हरिबोधनी एकादशीका दिन व्रतालुहरूले उपवास बसी भगवान् विष्णुको पूजा आराधना गर्छन्। व्रत बस्न नसक्नेहरूले एक समय फलाहार ग्रहण गर्ने चलन छ। विशेषगरी पिँडालु, सक्खरखण्डलगायतका फलाहार खानेकुरा ग्रहण गरिन्छ। रातभर जाग्राम बसेर हरिनाम सङ्कीर्तन, भजन तथा कीर्तन गर्नाले भगवान् विष्णु प्रसन्न हुने धार्मिक विश्वास छ।
पद्मपुराणको उत्तरखण्डमा वर्णित एकादशी माहात्म्यअनुसार यस दिन विधिपूर्वक व्रत तथा पूजा गर्नाले हजार अश्वमेध यज्ञ र सय राजसूय यज्ञ गरेबराबरको पुण्य प्राप्त हुने मान्यता छ। यस दिन श्रद्धापूर्वक गरिने स्नान, दान, जप, तप तथा होमको फल अक्षय हुने र व्रतको प्रभावले पाप नाश भई मोक्ष प्राप्त हुने धार्मिक विश्वाससमेत रहेको छ।
हरिबोधनी एकादशीका दिन दिवङ्गत पितृहरूको सम्झनामा नदी तथा खोलामा फूल तार्ने परम्परा पनि छ। पितृको नाममा सङ्कल्प गरी फूल जलमा प्रवाहित गर्दै व्रत, दान तथा पूजाको पुण्य पितृहरूलाई समर्पण गरिन्छ। यसो गर्दा पितृहरू प्रसन्न भई परिवारमा सुख, शान्ति, समृद्धि र आशीर्वाद प्राप्त हुने धार्मिक विश्वास छ।
आज भगवान् विष्णुलाई घण्टा, शङ्ख, मृदङ्गलगायतका माङ्गलिक वाद्य बजाएर जगाउने परम्परा पनि रहेको छ। भगवान् विष्णुको षोडशोपचार विधिबाट पूजा गरी विभिन्न फलफूल, नैवेद्य तथा प्रसाद अर्पण गरिन्छ। भक्तजनहरूले दिनभर उपवास, पूजापाठ र भजनकीर्तन गरी यो पर्व मनाउँछन्।
धार्मिक कथनअनुसार एकपटक माता लक्ष्मीले भगवान् नारायणलाई वर्षभर जागा रहने वा लामो समयसम्म निदाउने अवस्थाले आफू र अन्य देवताहरूलाई विश्राम नपुगेको बताउँदै प्रत्येक वर्ष निश्चित समय विश्राम गर्न आग्रह गर्नुभएको थियो। माता लक्ष्मीको आग्रह स्वीकार गर्दै भगवान् विष्णुले वर्षको चार महिना योगनिद्रामा रहने वरदान दिनुभएको धार्मिक कथामा उल्लेख छ। यही परम्परासँग जोडिएर हरिशयनी एकादशीदेखि सुरु भएको चतुर्मास आज हरिबोधनी एकादशीका दिन समाप्त हुने विश्वास गरिन्छ।
यसरी हरिबोधनी एकादशी केवल व्रत र पूजाको पर्व मात्र नभई तुलसी विवाह, पितृ स्मरण, धार्मिक आस्था र माङ्गलिक कार्यको पुनः शुभारम्भसँग जोडिएको महत्त्वपूर्ण पर्वका रूपमा सनातन हिन्दू धर्मावलम्बीहरूले श्रद्धापूर्वक मनाउँदै आएका छन्।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
आज हरिबोधनी एकादशी : तुलसी विवाहसँगै चतुर्मास समाप्त, शुभकार्यको ढोका खुल्दै
-
आज मंसिर ३ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
-
दानबहादुर कार्कीको रिटमा आज सर्वोच्चमा सुनुवाइ, न्यायाधीश पौडेलको इजलासमा पेसी
-
आजको राशिफल : मंसिर २ गते बुधबार, कुन राशिलाई कस्तो छ आजको दिन ?
-
सरकार! प्रहरीमाथिको गैरकानुनी हस्तक्षेप टिक्ने छैन, विधिको शासनमाथिको खेल अन्ततः फेल हुनेछ
प्रहरी संगठन विधिको शासनले चल्ने कि प्रधानमन्त्रीको सनकले ? दानबहादुर कार्की हटाउने निर्णयमा सात गम्भीर कानुनी प्रश्न
२ दिन अगाडि
1.0kViews 0 Shares Share on Facebook Share on Twitter नेपाल प्रहरी कुनै प्रधानमन्त्रीको निजी संस्था होइन, न त प्रहरी महानिरीक्षकको…





