

संकटको घडीमा उभिएको नेतृत्व : आईजीपी दानबहादुर कार्कीको संयम, साहस र संगठन पुनर्जीवनको कथा
काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जाल, सार्वजनिक बहस तथा विभिन्न राजनीतिक वृत्तमा नेपाल प्रहरीका वर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि जेनजी आन्दोलनका घटनालाई लिएर विभिन्न आरोप, टिप्पणी र आलोचना भइरहेका छन् । तर घटनाको वास्तविक पृष्ठभूमि, तत्कालीन कमाण्ड संरचना, परिस्थिति तथा त्यसपछिका संस्थागत सुधारका प्रयासलाई नजिकबाट हेर्नेहरू भने वर्तमान नेतृत्वमाथि एकतर्फी दोषारोपण गर्नु अन्यायपूर्ण भएको बताउँछन् ।
सुरक्षा स्रोतहरूका अनुसार भदौ २३ गतेको घटनाका बेला तत्कालीन एआईजी कार्की काठमाडौं उपत्यका प्रहरी कार्यालयको प्रत्यक्ष कमाण्डमा थिएनन् । उनी भदौ २४ गते मात्रै तत्कालीन प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङको मौखिक निर्देशनपछि बिहान ११:३० बजेदेखि सक्रिय रूपमा परिचालित भएका थिए ।
त्यसबेला देशभर असामान्य तनाव, आन्दोलनकारीहरूको व्यापक जनउभार, सरकारी संरचनामाथि आक्रमण तथा सुरक्षाकर्मीमाथि चर्को दबाबको अवस्था थियो । स्रोतका अनुसार धेरै उच्च प्रहरी अधिकारीहरू संवेदनशील जिम्मेवारी लिन हिच्किचाइरहेका बेला वर्तमान आईजीपी कार्कीले कुनै बहाना नबनाई आदेश शिरोधार्य गर्दै जोखिमपूर्ण कमाण्ड सम्हालेका थिए ।
त्यो विषम परिस्थितिमा उनले प्रहरीलाई “मार्ने वा मर्ने मानसिकताबाट टाढा रहँदै संयमित ढंगले नागरिकको सुरक्षा, आफ्ना संरचना र हतियारको रक्षा तथा न्यूनतम बल प्रयोग” गर्न निर्देशन दिएको विषय त्यसबेलाका विभिन्न सार्वजनिक बहस र सञ्चारमाध्यममा समेत उल्लेख भएको थियो । सुरक्षा विश्लेषकहरूका अनुसार आन्दोलन उत्कर्षमा पुगेको बेला अत्यधिक बल प्रयोग नगर्नु र प्रहरीलाई संयमित बनाइराख्नु नै सम्भावित ठूलो मानवीय क्षति टार्ने महत्वपूर्ण कारण बनेको थियो ।
आन्दोलनपछिको अवस्था नेपाल प्रहरी संगठनका लागि झन् चुनौतीपूर्ण बनेको थियो । प्रहरी चौकी तथा सरकारी संरचनामाथि आक्रमण, संगठनप्रतिको जनविश्वासमा कमी, जवानहरूको मनोबलमा गिरावट तथा संगठनभित्र निराशा बढिरहेको अवस्था थियो । यस्तो कठिन घडीमा नेतृत्व सम्हालेपछि आईजीपी कार्कीले प्रहरी संगठनलाई पुनर्जीवित गर्ने अभियान अघि बढाएका थिए ।
प्रहरी वृत्तभित्र उनको नेतृत्वलाई “मनोबल निर्माण गर्ने नेतृत्व” का रूपमा समेत व्याख्या गरिन्छ । जवानहरूको आत्मविश्वास बढाउने, संगठनलाई एकताबद्ध बनाउने तथा “सेवा नै धर्म” भन्ने भावनालाई पुनः स्थापित गर्ने प्रयासमा उनले विशेष ध्यान दिएको प्रहरी अधिकारीहरू बताउँछन् । साहित्यिक, प्रेरणात्मक तथा मानवीय शैलीका अभिव्यक्तिमार्फत उनले प्रहरी संगठनभित्र सकारात्मक ऊर्जा सञ्चार गर्ने प्रयास गरेको चर्चा संगठनभित्र हुने गरेको छ ।
त्यति मात्र होइन, देश राजनीतिक संक्रमण र अस्थिरताको अवस्थाबाट गुज्रिरहेका बेला सम्पन्न २०८२ फागुन २१ गतेको निर्वाचनलाई धेरै विश्लेषकहरूले नेपालको इतिहासकै तुलनात्मक रूपमा व्यवस्थित र शान्तिपूर्ण निर्वाचनमध्ये एक मानेका छन् ।
२०७९ सालको निर्वाचनमा देशका विभिन्न स्थानमा मृत्यु, घाइते, मतदान स्थगन तथा पुनः मतदानका घटना सार्वजनिक भएका थिए । तर २०८२ को निर्वाचनमा त्यस्तो अवस्था सिर्जना भएन । कतिपय स्थानमा सामान्य प्राविधिक समस्या र स्थानीय विवाद देखिए पनि मतदान स्थगन भएर पुनः निर्वाचन गर्नुपर्ने परिस्थिति बनेन ।
सुरक्षा निकायहरूबीचको प्रभावकारी समन्वय, सुरक्षा रणनीतिमा गरिएको सुधार, नेपाल प्रहरीको अनुशासित परिचालन तथा संवेदनशील क्षेत्रमा पूर्वतयारीसहित गरिएको व्यवस्थापनलाई यसको मुख्य कारण मानिएको छ । सुरक्षा विश्लेषकहरूका अनुसार आईजीपी कार्कीको नेतृत्वमा नेपाल प्रहरीले “बल प्रयोगभन्दा विश्वास निर्माण” को रणनीति अवलम्बन गरेकाले निर्वाचन तुलनात्मक रूपमा भयरहित र व्यवस्थित वातावरणमा सम्पन्न हुन सफल भएको हो ।
प्रहरी संगठनभित्र सुधार, अनुशासन, मनोबल निर्माण र जिम्मेवार सुरक्षा व्यवस्थापनमा देखिएको सक्रियताले वर्तमान नेतृत्वप्रति संगठनभित्र तथा बाहिर सकारात्मक धारणा बलियो बन्दै गएको देखिन्छ । त्यसैले जेनजी आन्दोलनका घटनालाई लिएर एकतर्फी रूपमा वर्तमान नेतृत्वलाई मात्रै दोषी देखाउने प्रयासभन्दा पनि तत्कालीन परिस्थितिको समग्र अध्ययन, कमाण्ड संरचना र निर्णय प्रक्रियाको निष्पक्ष मूल्यांकन आवश्यक रहेको आवाज बलियो बन्दै गएको छ ।
संकटको घडीमा जिम्मेवारीबाट पछि नहट्ने, कठिन परिस्थितिमा संयमित निर्णय गर्ने तथा अस्तव्यस्त संगठनलाई पुनः व्यवस्थित दिशामा अघि बढाउने नेतृत्वका रूपमा आईजीपी दानबहादुर कार्कीलाई हेर्नुपर्ने मत सुरक्षा वृत्तमा दिनप्रतिदिन मजबुत बन्दै गएको छ ।
समाज
थप सामाग्री-
झापामा एशियन हाइवे निर्माणको नाममा कनकाई नदीमा अत्यधिक उत्खनन, नदीको प्राकृतिक स्वरूप जोखिममा
-
नारायणगढ वडा प्रहरी कार्यालयमाथि अनियमितता र आर्थिक लेनदेनका गम्भीर आरोप, निगरानी र जवाफदेहितामाथि प्रश्न
-
चार प्रहरी उपरीक्षक एसएसपीमा बढुवाका लागि सिफारिस
-
संकटको घडीमा उभिएको नेतृत्व : आईजीपी दानबहादुर कार्कीको संयम, साहस र संगठन पुनर्जीवनको कथा
-
आज जेठ १४ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
आज देशभर ईद उल-अजहा उल्लासपूर्वक मनाइँदै, सरकारले दियो सार्वजनिक बिदा
१० घण्टा अगाडि
2.0kViews 425 Shares Share on Facebook Share on Twitter काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको महान पर्व ईद उल-अजहा (बकर ईद) आज…



