प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता नभएसम्म सदन नचल्ने नेकपाको चेतावनी

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको “नेपालले भारतको भूमि मिचेको” भन्ने अभिव्यक्ति फिर्ता नभएसम्म प्रतिनिधिसभाको कार्यवाही अघि बढाउन नहुने अडान लिएको छ।

सोमबार प्रतिनिधिसभा बैठकमा पार्टीको तर्फबाट धारणा राख्दै नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्रीको अभिव्यक्ति सीमासम्बन्धी अज्ञानता मात्र नभई राष्ट्रहितविपरीत रहेको टिप्पणी गरे।

उनले सार्वभौम राष्ट्रका प्रधानमन्त्रीले तथ्यहीन र आधारविहीन विषय सार्वजनिक रूपमा उठाउनु गम्भीर गल्ती भएको बताए। साथै, प्रधानमन्त्रीको अभिव्यक्तिको बचाउ गर्दै परराष्ट्र मन्त्रालयले दशगजा क्षेत्रको विषयलाई ‘क्रस बोर्डर अकुपेन्सी’सँग जोडेर व्याख्या गर्नु अर्को त्रुटि भएको उनको भनाइ थियो।

दुलालले भारतले लिपुलेक क्षेत्रमा करिब ६० हजार हेक्टर नेपाली भूमि अतिक्रमण गरेको दाबी गर्दै नेपालले भारतीय भूमि अतिक्रमण गरेको पुष्टि गर्ने कुनै तथ्य, प्रमाण वा आधिकारिक विवरण नरहेको बताए। उनले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याएर फिर्ता नलिएसम्म सदनको कार्यवाही अघि बढाउन नहुने माग गरे।

यस्तै, श्रम संस्कृति पार्टीका सांसद आरेन राईले पनि प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसदमा माफी नमागेसम्म बैठक सुचारु हुन नसक्ने बताएका छन्।

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर संसदमा विपक्षी दलहरूको विरोध जारी रहँदा प्रतिनिधिसभाको बैठक तनावपूर्ण बनेको छ।

Facebook Comments Box
TOP
287 Shares