गोली लागेपछि पक्राउ परे ‘छोटु’, सिरहामा करोडौंको ब्राउन सुगर सञ्जालको आशंका

सिरहा । सिरहाको सीमावर्ती क्षेत्रमा प्रहरीले सञ्चालन गरेको विशेष अपरेसनका क्रममा गोली लागेर एक जना कथित लागुऔषध कारोबारी पक्राउ परेका छन्। पक्राउ परेका भारतीय नागरिक रञ्जितकुमार पासवान उर्फ ‘छोटु’माथि लामो समयदेखि ब्राउन सुगर कारोबारमा संलग्न रहेको प्रहरीको दाबी छ।

सिरहा नगरपालिका–२१ लगडीगोठ क्षेत्रमा इलाका प्रहरी कार्यालय महेशपुर पतार, जिल्ला प्रहरी कार्यालय सिरहा र लागुऔषध नियन्त्रण ब्यूरो गोलबजार शाखाको संयुक्त टोलीले विशेष सूचनाका आधारमा कारबाही गरेको थियो। पक्राउ गर्ने क्रममा प्रतिकार भएपछि प्रहरीले हवाई फायरसँगै गोली चलाएको जनाएको छ।

प्रहरीका अनुसार गोली लागेर पासवानको बायाँ पिँडुलामा चोट लागेको छ भने घटनामा एक प्रहरी जवानसमेत घाइते भएका छन्। पक्राउ परेका पासवान र उनीसँग रहेका एक नाबालकलाई उपचारका लागि अस्पताल लगिएको थियो।

घटनास्थलबाट प्रहरीले ९२ ग्राम ३० मिलिग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानले पासवान सीमापारबाट लागुऔषध ल्याएर विभिन्न स्थानमा वितरण गर्ने नेटवर्कसँग जोडिएको हुनसक्ने देखाएको छ।

जिल्ला प्रहरी प्रमुख एसपी बासुदेव पाठकका अनुसार पासवानले विगतमा ठूलो परिमाणमा ब्राउन सुगर कारोबार गरेको हुनसक्ने प्रारम्भिक अनुमान छ। प्रहरीका अनुसार करिब ३ करोड रुपैयाँ बराबरको १० देखि १२ किलोसम्म ब्राउन सुगर कारोबार भएको हुनसक्ने आशंका गरिएको छ। यद्यपि यसको पुष्टि थप अनुसन्धानपछि मात्रै हुने प्रहरीले जनाएको छ।

प्रहरीले अहिले पक्राउ परेका व्यक्तिको मोबाइल सम्पर्क, आर्थिक कारोबार र सीमापार सञ्जालबारे अनुसन्धान अघि बढाएको छ। अनुसन्धानबाट थप व्यक्तिहरू पक्राउ पर्न सक्ने सम्भावना रहेको प्रहरीले जनाएको छ।

सिरहा–भारत सीमा क्षेत्र लामो समयदेखि विभिन्न अवैध गतिविधिका लागि चुनौतीपूर्ण मानिँदै आएको छ। पछिल्लो घटनाले सीमावर्ती क्षेत्रमा सक्रिय हुनसक्ने संगठित लागुऔषध सञ्जालमाथि प्रहरीको निगरानी अझ बढाउने देखिएको छ।

Facebook Comments Box
TOP
422 Shares