

कृषि कर्मबाट वार्षिक रु २० लाख आम्दानी गर्दै गुरुङ दम्पती
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा छितातालमा टाढाबाटै सेताम्मे टनेल लहरै देखिन्छन् । समथल भू–भाग रहेको छितातालमा निर्माण गरिएका दर्जन बढी टनेलभित्र अकबरे खुर्सानी, क्यारिलोना (पिरो खुर्सानी), गोलभेँडा, तितेकरेला, काँक्रा, मुला, गाँजर, प्याज, बन्दा, काउलीलगायत विभिन्न जातका तरकारी तथा फलफूल लटरम्म फलिरहेका छन् ।मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डबाट करिब २० मिनेट तल पर्ने छितातालमा ‘सालपा–छिता बहुउद्देश्यीय कृषि फार्म’ सञ्चालनमा छ । पर्यटकीय दृष्टिले रमणीय ठाउँ छितातालमा स्थानीय केशोर गुरुङ ‘युवराज’ले बहुउद्देश्यीय व्यावसायिक कृषि व्यवसाय सञ्चालन गरेका छन् ।उनले व्यावसायिक कृषि पेसा अपनाएको करिब चार वर्ष भयो । विसं २०७५ मा कृषि फार्म दर्ता गरेर व्यावसायिक कृषि पेसा सुरु गरेका उनको वार्षिक आम्दानी अहिले रु २० लाखभन्दा बढी छ ।
किसान युवराजले उत्पादन गर्नुभएको तरकारी तथा फलफूल विशेषगरी जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा खपत हुने गरेको छ । बेमौसमी खुर्सानी प्रतिकेजी रु चार सय ५० र गोलभेँडा प्रतिकेजी रु ७५ मा दिक्तेल बजारस्थित विभिन्न बिक्री केन्द्रमा आफैँले लगेर ठेगाउने (ठेक्कामा लिएर बेच्ने व्यक्तिलाई आफ्नो मूल्य लिएर दिने) गरेका छन् ।
विज्ञान विषयमा आइएस्सी तथा आइटी इञ्जीनियर अध्ययन गरेका ३६ वर्षीय उनलाई श्रीमती सरिता गुरुङले समेत सहयोग गर्दै आएकी छिन् । सरिता बिहान–बेलुका घरधन्दा गरेर बचेको दिउँसोको समय कृषि फार्ममा काम गर्छिन् ।
श्रीमान्–श्रीमती मिलेर सञ्चालन गरेको कृषि फार्मको आम्दानी देखेर छिमेकीहरू पनि उनीहरूको सिको गर्न थालेका छन् । गुरुङ दम्पतीको बहुउद्देश्यीय कृषि फार्म २४ रोपनी क्षेत्रफलमा सञ्चालन गरिएको छ ।बहुउद्देश्यीय कृषि फार्ममा अकबरे खुर्सानी दुई हजार दुई सय बोट र क्यारोलिना नौ सय बोट रहेको जनाइएको छ । बजारमा क्यारोलिनाभन्दा अकबरेको बढी माग रहेको युवराज बताउछन्। “बजारको मागलाई मध्यनजर गर्दै अफसिजन (बेमौसममा उत्पादन हुने)का लागि अकबरे र क्यारोलिना एक–एक टनेल लगाइएको जनाइएको छ”, उनले भने, “अकबरेको माग धान्न नसकिने भएपछि टनेल थप्ने तयारी गरेका छौँ ।”
सो कृषि फार्ममा स्थानीय युवाले समेत आफ्नै गाउँमा रोजगारी पाएका छन् । फार्ममा आइपर्ने काममा सहयोग गर्न–गराउन ज्यालादारीमा दैनिक पाँच–छ जना युवालाई लगाउने गरिएको गुरुङ दम्पतीले बताएका छन् ।
यस वर्ष थप स्तरोन्नति गर्ने योजना रहेको फार्ममा यस वर्षबाट कर्मचारीका रूपमा पूर्णकालीन कामदार राख्ने तयारी गरिएको युवराजले बताए । गुरुङ दम्पतीले सोही कृषि फार्ममा तरकारी र फलफूलसँगै माछा र बाख्राखसीसमेत पालेका छन् । उनीहरुको बहुउद्देश्यीय कृषि फार्ममा अहिले दुईवटा पोखरीमा माछा तथा ३२ खसीबाख्रा रहेका छन् । कृषि फार्मबाट माछाका भुरासमेत ग्रडिङ गरेर (बढाएर) बिक्री गर्दै आएका गुरुङ दम्पतीले वार्षिक छ सय केजीभन्दा बढी माछा बिक्री गर्दै आएका छन् । ग्रास र कमनकार्प प्रजातिका माछा उत्पादन गर्दै आएका गुरुङ दम्पतीले गाउँघर तथा दिक्तेल बजारमा बिक्री गर्दै आएका छन् ।
बहुउद्देश्यीय कृषि फार्मबाट खसी वार्षिक सात–आठवटा तथा मसिनो पाठापाठी १०–१५ वटा बिक्री गर्ने गरिएको बताइएको छ । बैंकको ऋण लिएर व्यावसायिक कृषि फार्म सञ्चालन गरेका गुरुङ दम्पतीको एक छोरी छन् ।
कृषि व्यवसाय गर्ने कृषकका लागि बजारको समस्या भए पनि आफ्नै गाउँमा केही गरौँ भन्ने उद्देश्यले कृषि पेसा अङ्गालेको युवराजले बताए । “विदेशको मोह लागेन । ठूलो देश जानु बढी खर्च हुने । आफ्नै गाउँमा केही गरुम भन्ने उद्देश्यले कृषि व्यवसाय सुरु गरियो”, उनले भने, “अरुको खटनमा बस्नु परेन, सिर्जनशील हुनसके र मेहेनत गर्न सकेमा आफ्नै ठाउँमा पनि मनग्य आम्दानी गर्न सकिने रहेछ ।”गुरुङ दम्पतीको बहुउद्देश्यीय कृषि फार्मलाई कृषि ज्ञान केन्द्र खोटाङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले टनेल सहयोग गरेको जनाइएको छ । दुई एमएस टनेलका लागि कृषि ज्ञान केन्द्र र दुई प्लास्टिक टनेलका लागि नगरपालिकाले आर्थिक सहयोग गरेको युवराजले बताए ।रासस
समाज
थप सामाग्री-
आज असार ३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
२ दिन अगाडि
1.5kViews 418 Shares Share on Facebook Share on Twitter स्याङ्जा । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)…



