
सामाजिक अन्धविश्वासको पराकाष्ठा : पानी नदिँदा प्रसूति सेवा बन्द
बैतडी । मन्दिर र बस्तीमा जाने खानेपानीको पाइपबाट स्वास्थ्य चौकीले पानी भर्न नपाउँदा प्रसूति सेवा बन्द भएको छ । आकासेपानीको भरमा चलेको पञ्चेश्वर स्वास्थ्य चौकीले पानी सकिएको भन्दै आइतबारदेखि प्रसूति सेवा बन्द गरेको हो । पञ्चेश्वर गाउँपालिका–१ मा रहेको पञ्चेश्वर स्वास्थ्य चौकीमा प्रसूति सेवा दिन खटिएका स्वास्थ्यकर्मी कोकिला भट्ट र निर्मला लावड स्वास्थ्य चौकीमै डेरा गरी बसेकी छन्। दलित र सुत्केरी महिलामाथि विभेद गर्ने कुप्रचलनका कारण स्वास्थ्य चौकी भएर जाने मन्दिरको खानेपानीको पाइपबाट पानी भर्न नपाएको अनमी निर्मला लावडले बताए । स्वास्थ्य चौकीको छेवैबाट पञ्चेश्वर गाउँपालिका–१, सल्ला बस्तीका लागि ६० मिलिमिटर मोटो पाइपमा चौबिसै घण्टा पानी आउँछ । स्थानीय बस्तीका मानिसले स्थानीय धामकुडी मन्दिरलाई पानी दिए पनि स्वास्थ्य चौकीलाई पानी नदिएको पञ्चेश्वर स्वास्थ्य चौकी इन्चार्ज सुरेश सार्कीले बताए ।
स्वास्थ्य चौकी भएर जाने खानेपानीको पाइपबाट तीन महिनामा एक रात मात्रै पानी भर्न दिए प्रसूति सेवाका लागि निर्माण गरिएको ३० हजार लिटरको ट्याङ्की भरिने उनले बताएयो । तर स्वास्थ्य चौकीलाई पानी दिए मुहान सुक्ने डरले स्थानीय पानी दिन तयार नभएको उनले बताए ।
स्वास्थ्य चौकी इन्चार्ज दलित, अनमी पनि दलित र त्यसमाथि सुत्केरीले पानी प्रयोग गर्ने भएका कारण घुमाउरो ढङ्गले विभेद गरिएको उनले बताए ।
चालु आर्थिक वर्ष २०७९र८० को साउनदेखि जेठ २८ गतेसम्म पञ्चेश्वर स्वास्थ्य चौकीमा ६६ जना महिला सुत्केरी भएका छन् । सुत्केरी महिलाका लागि सङ्कलन गरिएको आकासेपानी सकिएपछि आइतबारदेखि सेवा बन्द भएको स्वास्थ्य चौकीले सूचना जारी गरेको छ ।
पञ्चेश्वर गाउँपालिका–१, बाट जिल्ला अस्पताल बैतडी पुग्न एक दिन लाग्ने गर्दछ । अन्धविश्वासका कारण स्थानीयले स्वास्थ्य चौकीलाई पानी दिन नमानेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए। स्वास्थ्य चौकीलाई पानी उपलब्ध गराउन गत वर्षदेखि पहल चाले पनि जनप्रतिनिधिले कुनै सुनुवाइ नगरेको उनले बताए ।
स्वास्थ्य चौकीमा डेरा गरेर बस्ने स्वास्थ्यकर्मीले समेत खानेपानीको सङ्कट बेहोर्नुपरेको छ । जर्किन बोकेर बिहान ४ बजे पानी भर्न जानुपर्ने बाध्यता रहेको अनमी कोकिला भट्टले बताइन् । २०५२ सालदेखि सुत्केरी सेवा नियमित दिँदै आएको स्वास्थ्य चौकीको सेवा बन्द हुने अवस्थाका विषयमा जनप्रतिनिधिलाई अग्रिम जानकारी गराइएको भए पनि कुनै पहल नगरेको स्वास्थ्य चौकी इन्चार्ज सुरेश सार्कीले बताए ।
स्वास्थ्य चौकीले आइतबारदेखि प्रसूति सेवा बन्द भएको घोषणा गरेपछि पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले ट्याङ्करमा पानी ल्याएर भए पनि प्रसूति सेवा सञ्चालन गर्ने व्यवस्था मिलाउने बताए ।
उनले भने, “गाउँपालिकामा स्वास्थ्यको बजेट छँदैछ । ट्याङ्करमा पानी भरेर सेवा सञ्चालन गर्न स्वास्थ्य चौकीलाई निर्देशन दिएका छौँ । पानी भरेर बिल पेस गर्न भनेको छु ।” रासस
समाज
थप सामाग्री-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
-
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
-
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
-
आँबुखैरेनीमा तेल ट्याङ्कर र ट्रक ठोक्किँदा सडक अवरुद्ध, दुई चालक घाइते
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
११ घण्टा अगाडि
2.6kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…



