नौमती बाजामार्फत जातीय भेदभाव मेटाउँदै महिला

टङ्कीसिनवारी । नौमती बाजामार्फत जातीय भेदभाव मेटाउन अग्रणीरूपमा यहाँका महिला सक्रिय देखिएका छन् । बाहुन, राई, दलितलगायत समुदायका महिलाले जातीय भेदभाव र छुवाछूतजस्ता सामाजिक विकृतिलाई तोड्दै नौमती बाजा बजाउनका लागि समूह गठन गरेका छन् । इटहरीस्थित तलेजु नौमती बाजा महिला समूहमा ३० महिला आबद्ध छन् । समूहमा मिश्रित समुदायका महिला सहभागी छन् । एकपटक नौमती बाजा बजाएको रू २५ देखि रू ३० हजार लिने गरिएको छ । समूहका महिलाले आफूलाई तीन टोलीमा विभक्त गराई विभिन्न स्थानमा नौमती बाजा बजाउन जाने गरेका छन् । केही समय पहिलेसम्म कुनै एक समुदाय विशेषका पुरूषले मात्र नौमती बाजा बजाउने चलन थियो । उक्त परम्परा तोड्दै जातिय भेदभाव जगाउने उद्देश्यले समुदायका सबैले नौमती बाजा बजाउन थालेका छन् । नौमती बाजामा पुरूष एकाधिकारको अन्त्य गर्दै कतिपय बाहुन, क्षेत्री समुदायका महिलाले पनि बाजा बजाएर आर्थिक आम्दानी गरिरहेका छन् ।“नौमती बाजाले विभिन्न जाति र समुदायका महिलाबीच जातीय सौहार्दता कायम गर्न मद्दत गरेको छ”, समूहका सदस्य यमुना बुढाथोकीले भनिन्, “पारम्परिक बाजा बजाएर जीवनयापन गर्ने महिलालाई हेयको दृष्टिले हेर्ने समाजमा अहिले सकारात्मक परिवर्तन आउन थालेको छ ।” उनका अनुसार महिला वाद्यवादकलाई समाजले स्वीकार्न सुरू गरेको छ ।

विवाह, व्रतबन्ध, पास्नीलगायत विशेष अवसरमा पञ्चे र नौमती बाजा बजाएर मनग्य आम्दानी गर्न महिला सफल हुँदै गएका बुढाथोकीको भनाइ थियो । उनले समूहका महिलाले शुभकार्यका साथै विभिन्न अवसरमा नौमती बाजा बजाउने गरेका भन्दै बाजा बजाउन समूहका महिलालाई वर्षको आधाजसो समय भ्याइनभ्याइ हुने गरेको सुनाइन् । वैवाहिक कार्यक्रममा नौमती बाजा बजाउन उक्त समूहको एक टोली विराटनगर पुग्दा त्यहाँ महिलाले नौमती बाजा बजाएको देखेर विराटनगरवासीले उत्सुकतापूर्वक हेरेका बुढाथोकीले बताइन् । “समाजमा रहेका विभिन्न जातजातीका महिला आबद्ध भएर महिलाले पनि पुरूषसरह काम गर्न सक्छन् भन्ने सन्देश दिनका एकजुट भएका छौँ”, उनले भनिन्, “हाम्रो समूहले सामाजिक सद्भाव कायम गर्दै जातीय भेदभाव अन्त्य गर्ने उद्देश्यले काम गरिरहेको छ ।”

महिला कमजोर भएर घरै बस्नु हुँदैन भन्ने सोचका साथ आफूले नौमती बाजा बजाउन सिकेको बुढाथोकीको भनाइ थियो । उनले सुरू सुरूमा बाजा बजाउँदा समाजका केही अगुवाले बाटो विराए भनेर तर्क गरे पनि अहिले विस्तारै सबैको सोच बद्लिँदै गएको बताइन् । उनले कुनै पनि पेसा ठूलो सानो नहुने भन्दै नौमती बाजाले आफूलाई सशक्त हुन प्रेरणा दिएको बताइन् ।

समूहका अर्का सदस्य गीता कटुवालले ७० वर्षको उमेरमा नौमती बाजा बजाउँदै नाच्दै हिँड्ने गरेको बताइन् । घर बस्नुभन्दा नौमती बाजा बजाउन सिकेर हिँड्दा आम्दानी पनि हुने गरेको उनको भनाइ थियो । कटुवालले भोजभतेरमा कतिपयले खानेकुरा छुन नदिने र पर बस भनेर अझै भन्ने गरेको गुनासो गरिन् । “हामी जहाँ जान्छौं त्यहीँ जातीय सौहार्दता र सामाजिक एकताको सन्देश दिने गरेका छौँ”, उनले भनिन् ।

नौमती बाजा बजाउने टोलीका सदस्यहरु सम्पूर्ण पोखरेल, शशिकला दाहाल, यशोदा सुवेदी, तेजकुमारी राई, कविता राईले कोरोनाकालमा घरमै बसेका बेला आय आम्दानी नहुँदा जीविकोपार्जनमा समस्या परेको बताए । “महिलाले पनि कमाएर खान सक्छन् भनेर सन्देश दिनका लागि घर छिमेक र समुदायका महिला मिलेर नौमती बाजा बजाउन सिकी व्यावसायिक रुपमा बाजा बजाउन थालेका छौँ”, कविता राईले भनिन् । सुरूमा घरपरिवार र समाजले हेयको दृष्टिले हेरे पनि सामाजिक सदभाव जगाउँदै जातीय भेदभाव अन्त्यका लागि महिला एकजुट भएर काम गरिरहेको उनको भनाइ थियो ।

समूहका सदस्यले कुनै पनि काम सानो वा ठूलो नहुने भन्दै जातपातका नाममा हुने भेदभावबाट समाज मुक्त हुनुपर्नेमा जोड दिँदै जातीय एकताका लागि पनि एकजुट भएर नौमती बाजा बजाउन थालिएको बताएका छन् । रासस

Facebook Comments Box
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
१३ घण्टा अगाडि

2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…

TOP
Shares