

थारु समुदायले ‘यमोसा’ पर्व मनाउँदै
नवलपुर । नवलपुर र चितवनका थारु समुदायले आज यमोसा पर्व धुमधामका साथ मनाउन थालेका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुर र चितवनका मूल आदिवासी थारु समुदायले सांस्कृतिक र धार्मिक रुपमा मनाउँदै आएको मौलिक पर्व यमोसा अर्थात् पितृ औँसी धुमधामसँग मनाउँदै छन् । लोप हुने अवस्थामा पुगेकाले ‘यमोसा’ पर्वलाई संरक्षण र प्रवद्र्धन गर्नका लागि यस वर्ष नवलपुर र चितवनका थारुहरुले सामूहिकरुपमा नै पर्व मनाउन लागेको थारु कल्याणकारिणी सभापति ललित चौधरीले बताए । आदिमकालदेखि यहाँ थारु समुदायले मनाउने सांस्कृतिक विविधता रहेको यमोसा पर्वमा स्थानीय बिदाको माग गरेका छन् । कतिपय शैक्षिक संस्थाले यमोसा पर्वकै दिन आन्तरिक परीक्षा कार्यक्रम राखिदिनाले ‘यमोसा’पर्वको पुस्ताक हस्तान्तरण हुन नसकी लोप हुने अवस्थामा पुगेको थारु अगुवा बताउँछन् ।थारु समुदायले मनाउँदै आएको महत्वपूर्ण चाडपर्वमध्ये ‘यमोसा’पर्व पनि एक भएको मध्यविन्दु नगरपालिका उपप्रमुख पूर्णकुमार चौधरीले बताए । यमोसा पर्व नवलपुर र चितवनका थारु समुदायले मात्र मनाउने एउटा महत्वपूर्ण चाड हो । यस चाडमा थारु समुदायका सम्पूर्ण व्यक्तिले पितृलाई तर्पण दिने गर्दछन् । यमोसा पर्व सोह्र श्राद्धको औँसीमा पर्ने भएकाले यस पर्वलाई थारु समुदायका व्यक्तिले पितृ औँसी पनि भन्ने गर्दछन् । दसैँको घटस्थापनाको ठीक अघिल्लो दिनलाई यमोसा भनिन्छ । वर्षभरिमा यदि परिवारमा सदस्यको मृत्यु भएको छ भने यमोसाकै दिनमा ‘बरखी’ समापन गर्ने गरिन्छ । एक वर्षभित्र मरेका परिवारको सदस्यको जुठो आजकै दिन फुकाउने चौधरीले बताए ।
‘यमोसा’ पर्व यहाँका थारुले दुई दिनसम्म धुमधामसँग मनाउँछन् । यमोसाको अघिल्लो दिनअर्थात् चतुर्दशीलाई मछुवारी (माछा मार्ने दिन) भनिन्छ । त्यस दिन व्यक्तिगत वा सामूहिकरुपमा खोलानाला, नदी, ताल, पोखरी आदिमा माछा मार्ने र गाउँघरमा खसीबोका काट्ने चलन रहेको उपप्रमुख चौधरीको भनाइ छ ।
दोस्रो दिनअर्थात् आज औँसीको दिन बिहानै पुरुष आफूले दाभी (सिरु/कांस) काटेर ल्याउँछन् । त्यसलाई केलाएर करिब एक हात लामो कुचो बनाउँछन् । त्यसलाई धोई पखालेर घर अगाडि गाईको गोबरले लिपपोत गरी उक्त सिरुको मुठा पिर्का वा कुर्चीमा राखेर पितृ स्थापना (पहुनी बेठोइ) गर्दछन् ।
पहुनीलाई विभिन्न प्रकारका पूmलले शृङ्गार गरिन्छ । पहुनीमा घाम नलागोस् भनी छाता वा छतिया ओढाइन्छ । पहुनीको अगाडि ल्वाङ, सुकमेल, पान, सुपारी, गुट्खा, सुर्ती, चुरोट, रक्सी (पितृले प्रयोग गर्ने अम्मलका वस्तुहरु) र पानी राखिन्छ । आजको दिन बिहानै बालबच्चादेखि बुढाबुढी सबैजना नुहाएर कुशे औँसीमा पुरोहितले काटेको कुश र पानीले पितृलाई तर्पण गर्दछन् ।
त्यसपछि आफ्नो क्षमताअनुसार नयाँ कपडा वा सफा कपडा लगाएर पहुनीको अगाडि बसेर प्रत्येकले रक्सी र पानीको केही थोपा चढाउने (छाकी चढोइ) गरिन्छ । यदि यो एक वर्षभित्र परिवारका कुनै सदस्यको मृत्यु भएको छ भने आजकै दिन बोका काटेर पितृलाई रगत चढाउने गरिन्छ । छाकी चढाएर सकेपछि मात्र खानपिन सुरु हुन्छ ।
छाकी सकिएपछि सर्वप्रथम छोरी, ज्वाइ“ वा कुनै पाहुना बोलाएर स्वागतका साथ चौरासी व्यञ्जन खुवाइन्छ । यसरी पाहुनालाई खुवाउनुलाई ‘पितरी बेठोइ’ भनिन्छ । पाहुनालाई खुवाएर सकेपछि मात्र आपूmले खाने गरिन्छ । खानपिन पछि पाहुनाको कपालमा तेल लगाएर काइ“योले कोरीदिने र फूल सिउरीदिने गरिन्छ । त्यसपछि नाङ्लोमा पानी राखी पाहुनालाई छम्केर शितलता प्रदान गरिन्छ । त्यसलाई ‘पित्पित्रायन विद्हरइ’ भनिन्छ ।
आजको दिन घरमा जो कोही आए पनि पाहुना नै भनिन्छ र पाहुनालाई खुवाएरै पठाउने थारु समुदायको परम्परा छ । यमोसाको दिन पाहुनालाई पितृगणको रुपमा हेरिन्छ । यसरी खानपिन दिनभरि नै चलिरहन्छ । गाउँका सबैजना एकैठाउँमा भेला भई पिङ खेलेर (बरहा झुलके) रमाइलो गरिन्छ । पहिले पहिले एउटै रुखमा पाँच÷६ वटा पिङ लगाइन्थ्यो । केटाहरुले साँझपख गाउँको बाटोमा ‘म्वार्हा’ गाड्छन् र ठूलाबडाले त्यसलाई उखेल्ने प्रयास गर्छन् । आजको दिन बेलुकीपख केटाकेटीहरु समूह समूहमा मिलेर घर–घरमा ‘यमोसा’खान जान्छन् । हरेक घरमा विभिन्न किसिमका अनेकौँ परम्परागत गीत गाउँदै यमोसा खान्छन् । यमोसा खाने क्रममा थारुहरुले विभिन्न मौलिक गीतहरु गाउने गर्दछन् । मौलिक थारु लोक गीत, तीम्वार्हा र बरहा, पितरी र पित्पित्रायन, पहुनी र छाकी सबै लोप हुन थालेको छ । पुस्तान्तरण नहुँदा थारुको मौलिक संस्कृतिसँगै गीत सङ्गीतसमेत लोप हुने अवस्थामा पुगेको छ ।रासस
समाज
थप सामाग्री
लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२६ विविध कार्यक्रमसहित सम्पन्न
१० घण्टा अगाडि
2.0kViews 481 Shares Share on Facebook Share on Twitter काठमाडौँ — लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २६…





