धिरजप्रतापले ‘ट्र्याक’ नछाडुन्

भनिन्छ, कि परेर जानिन्छ, कि पढेर । नेपाल प्रहरीमा लामो समयपछि कुशल नेतृत्व आएको भान संगठनका सदस्यलाई हुन थालेको छ ।
संगठनभित्रको नियमित एवम् आन्तरिक कार्य सरुवा/बढुवामा समेत पावर लाग्ने, लगाउनु पर्ने भएपछि प्रहरीका इमानदार सदस्यको मनोबल गिर्दै गइरहेका बेला वर्तमान प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहका क्रियाकलाप ‘व्यवसायीक’ देखिन थालेको छ ।
संगठनकै हितमा अहोरात्र खटिने प्रहरीका सदस्य र विभिन्न शक्तिकेन्द्रको चाकडीकै कारण बारम्बार अवसर पाइरहनेहरु बीच नेतृत्व तहबाट हेर्ने, देख्ने, बुझ्ने मुल्याकंनको परिपाटी नै थिएन । नेतृत्वमा रहेकै व्यक्ति विभिन्न शक्ति केन्द्रको इच्छा र स्वार्थमा चल्नु पर्दा संगठनभित्र ‘काखापाखा’युक्त व्यवहार हुँदै आएको थियो ।
अरु त अरु आफूलाई व्यवसायीक र निष्पक्ष छवीको बताउँदै आएका निवर्तमान आईजीपी शैलेस थापाको कार्यकाल समेत विवादरहित रहेन । ‘जताजता नदी बह्यो, उतै डुंगा चल्यो’ भनेजस्तै शैलेस थापाको कार्यकाल समेत “त्वम् शरणम्” मै बित्यो, चाहे सरुवामा होस् वा बढुवामै किन नहोस् ।
तर, प्रहरी नेतृत्वमा पुग्दादेखि नै मुद्दामामिलाको सामना गरिरहेका धिरजप्रताप सिंहले प्रहरी नेतृत्वमा पुगेको दश दिन भित्रै एकै चरणमा स्थानीय निर्वाचन सामान्य, छिट्पुट बाहेक सफलतापूर्ण एवम् निष्पक्ष ढंगबाट सम्पन्न गराए, उच्च मनोबलका साथ । स्थानीय निर्वाचनको प्रक्रिया अन्तिम चरणमा प्रवेश गर्दैगर्दा शान्ति सुरक्षाको पहिलो घेरा मानिएको नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुनु, त्यसमा पनि सहकर्मी विदा बसेर मुद्दामामिलामा होमिनुले राज्यले दिएको दायित्व सफलतापूर्वक सम्पन्न गर्न भरखर भरखर प्रहरी नेतृत्वमा पुगेका धिरजप्रताप सिंहलाई एकातिरको चुनौति त थियो नै, अर्काेतिर आफ्नै पदिय जिम्मेवारीको भविष्यले पनि पक्कै सताएको थियो । त्यस्तो अवस्थामा पनि धैर्यता र उच्च मनोबलका साथ निर्वाचन शान्तिपूर्ण, निष्पक्ष सम्पन्न गराएर प्रहरी नेतृत्व कस्तो हुनु पर्छ उनले उदाहरण पेश गरिसकेका थिए ।
प्रहरी नेतृत्वमा पुगेको दश हप्ता पुग्दानपुग्दै प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले संगठनको हितमा धेरै काम गरिसकेका छन् । र, यसबीचमा उनको पदिय भविष्य पनि सुरक्षित भैसकेको छ । शक्तिकेन्द्र रिजाएर दरवन्दी एकातिर, जिम्मेवारी अर्कैतिर गरिबस्नेहरुका दिन पनि धिरजप्रतापले खोसीदिएका छन् । अब नेपाल प्रहरीमा अति आवश्यक अवस्थामा बाहेक काज सरुवामा पूर्णविराम लागेको छ । त्यसको सर्कुलर देशका सबै प्रहरी निकायमा भइसकेको अवस्था छ ।
पछिल्लो बढुवा प्रक्रियामा अपनाइएको निष्पक्षतायुक्त सुत्रको पनि संगठनका इमानदार सदस्यले स्वागत गरेका छन् । आफूभन्दा जुनियरलाई सिनीयर बनाइयो भने संगठनभित्र काम गर्ने जोश-जाँगर कस्तो रहन्छ, आफैँले बुझेका धिरजप्रतापले सकेसम्म संगठनका सदस्यको कार्य क्षमता र योग्यताको मुल्याकंन गर्ने भएका छन् । उनले केही दिन अघि गरिएको एसएसपी, एसपीमा बढुवा र हालै गरिएको डीएसपी बढुवा सिफारिसमा पछिल्लो ‘व्याच’लाई नतानेर पूरानै ‘व्याच’लाई मौका दिएको अवस्था छ । यसले गर्दा भविष्यमा समेत अस्वस्थ प्रतिस्पर्धा नहुने उनको बुझाइँ रहेको बुझ्न सकिन्छ ।
कुनैबेला आफू बागमती एसएसपीमा कार्यरत रहँदा काभ्रे जिल्ला प्रमुख अर्थात् एसपी रहेका व्यक्ति नै छोटो समयमै आफूभन्दा वरिष्ठ अवस्थामा पुगेको, हाल प्रहरी नेतृत्वको दावी गर्दै मुद्दामामिला गर्ने व्यक्ति पनि संगठन प्रवेश गर्दादेखि एसपी पदमा रहँदासम्म आफूभन्दा जुनियर रहेको तर, राजनैतिक शक्तिकेन्द्रको आडमा ‘उपियाँ उफ्रेजस्तो’ गरी बढुवा दौडमा अगाडी बढेको अमिलो अनुभव आफू प्रहरी नेतृत्वमा रहँदासम्म धिरजप्रतापले सायद नर्बिसेलान् कि ?
भनिन्छ, बिहानीले नै दिनको मौसम बारे जानकारी दिन्छ । बितेका दश हप्ता धिरजप्रतापले चूनौति र अन्योलताको सामना गर्दै सफलताको यात्रातिर अघि बढीरहेको भान संगठनका सदस्यमा पार्न सकेको देखिन्छ । तर, उनी त्यहीँ ट्र्याकमा मात्र हिँडेर हुँदैन, प्रहरी संगठन जनताको शान्ति सुरक्षाका लागि स्थापना गरिएकाले पनि ‘प्रहरी जनताको साथी’ बन्नै पर्छ । जनविश्वास आर्जन गर्न सक्नै पर्छ । नेतृत्वकर्ताले मात्र चाहेर सिंगो संगठनले जनअपेक्षा पूरा गर्न सक्दैन, त्यसका लागि संगठनका सबै सदस्यको कर्तब्य पनि जनताप्रति उत्तरदायी, देशप्रति बफदार हुनैपर्छ । तब मात्र प्रहरीको मुलमन्त्र “सत्य सेवा सुरक्षणम्” फलदायी हुन जान्छ । अन्यथा, छिमेकी मुलुकको बिहार प्रान्तमा पनि प्रहरीमा जागिर खुलेकै छ, जनताले जागिर खाएकै छन्, बिहारले पुलिस पाएकै छ ।
आशा गरौं, धिरजप्रताप २९ औं महानिरीक्षक हुन् नेपाल प्रहरीका । अर्थात् यसअघि २८ जना प्रहरी महानिरीक्षक भई सेवा निवृत्त भए । कोही कसैको नाम आज प्रयान्त चलेकैछ । धेरैजसो गुमनाम । केही बद्नाम । जन्मेपछि मर्नैपर्छ, जागिरमा प्रवेश गरेपछि जस्तोसुकै राम्रो र असल कार्य गरेता पनि समय पूरा भएपछि अवकाशमा जानै पर्छ । धिरजप्रतापको अवकाश सम्मानका साथ होओस् । त्यो ट्र्याक उनले आफैँ छाड्नु हुन्न । काम गर्ने बेलामा अरु धेरैका कुरा सुनिराख्न पनि हुन्न ।

-मधु लम्साल

Facebook Comments Box
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
१५ घण्टा अगाडि

2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…

TOP
Shares