अटोशोरुमहरु सरकारको निर्णय लत्याएर इन्धन गाडी बेच्दै,यातायात कार्यालय धमाधम दर्ता गर्दै

सरकारले इन्धनबाट चल्ने सवारी साधनहरु २०८८ सालभित्र देशैभरबाट विस्थापन गर्ने नीति लिएको छ । २०७८ सालमा सरकारले मन्त्रिपरिषद्बाट सो निर्णय गरेर राजपत्रमा निकालिसकेको छ । तर, अहिलेपनि अटोशोरुमहरुले धमाधम पेट्रोल–डिजेलबाट चल्ने दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधन बिक्री गरिरहेको छ ।

यता, सर्वसाधारणले पनि त्यहीँ गाडी धितो राखेर बैंकबाट ८० प्रतिशत ऋण लिइरहेका छन् । २० प्रतिशत मात्र आफ्नो रकम लगानी गरिरहेका छन् । इन्धनबाट चल्ने सवारी साधनहरु अहिलेपनि यातायात कार्यालयमा दर्ता गरिरहेको छ । जबकि, सरकारकै नीति इन्धनबाट चल्ने सवारी साधन विस्थापनाको छ ।

दुई पाङ्ग्रेको तीन लाखदेखि पाँच लाख र चार पाङ्ग्रेको २० लाखदेखि करोडसम्म मूल्य पर्छ । अबको ६ वर्षपछि इन्धनबाट चल्ने सवारी साधन विस्थापना गर्नैपर्छ । नयाँ नै भएपनि त्यो गाडी चल्न पाउँदैन, विस्थापना गर्नुपर्छ । अधिकांशलाई सरकारले इन्धनको गाडी विस्थापनाको निर्णयबारे जानकारी नै छैन ।

जसको फाइदा अटोशोरुमहरुले उठाइरहेका छन् । बैंकमा भएको रकम जनताको हो । तर, बैंकका सञ्चालक र कर्मचारीले घुस खाएर इन्धनबाट चल्ने सवारी साधन धितो राखेर ८० प्रतिशत कर्जा लगानी गरिरहेका छन् । कर्जा दिएबापत अटोशोरुमले बैंकका सञ्चालक र कर्मचारीलाई कमिशन दिन्छ ।

यता, कर्जावालको हकमा एक प्रतिशत सेवाशुल्क भनेर तीन प्रतिशत असुलिन्छ । ऋण दिँदा घुस खाइन्छ । ब्याज पनि मनलाग्दी असुलिन्छ । आफूहरु मोटाउनका लागि बैंकका सञ्चालक र कर्मचारीले जनताको पैसा जोखिममा हालेका छन् । भोलि उनीहरुको पैसा डुब्यो भने कसले जिम्मा लिन्छ ?

हुन त बैंक तथा वित्तिय संस्थाले कहिले नै सरकारको निर्णय टेरेको छ र ? सरकार निर्णय गर्छ, बैंक त्यो निर्णय दराजमा थन्काएर आफ्नो मनोमानी चलाउँछ । अनि डुब्नेचाँहि बचतकर्ता ? सार्वजनिक सवारी साधनमा सिण्डिकेट छ । त्यसैले निजी गाडी किन्नेको लर्को छ ।

तर, भाडाको गाडीबाट आम्दानी हुन्छ भने निजी स्वः प्रयोगका लागि हो । भाडाको गाडीले दिनहुँ हजारौं आम्दानी हुन्छ । २० वर्षको अवधिमा भाडाको गाडीले करोडौं कमाउँछ । उता, २० वर्ष कटेपछि पनि स्क्रयाप गरेको नम्बर प्लेट लाखौंमा बिक्री हुन्छ । निजी प्लेट त किनेको भोलिपल्टै ‘सेकेण्ड ह्याण्ड’ हुन्छ ।

खरिद गरेको आधा मूल्य पनि आउँदैन । सरकारले सार्वजनिक यातायातको सिण्डिकेट तोडिदिने हो भने निजी प्लेटका सवारीप्रति सर्वसाधारणको आकर्षण घट्थ्यो । सडकमा ट्राफिक जाम कम हुन्थ्यो भने सर्वसाधारण पनि फस्दैनथे । ऋणीले ऋण तिर्न नसकेपछि बैंकहरुले धमाधम निजी प्लेटका सवारी साधन तानिरहेको छ ।

यता, रिकण्डिशनहरुमा पनि बेचबिखन ठप्पझैं छ । निजी प्लेटका सवारी साधनमा लगानी गर्ने व्यक्ति र बैंक तथा वित्तिय संस्था यतिबेला समस्यामा छन् । ऋण लिएर गाडी किनेकाले ऋण तिर्न सकेका छैनन्, बैंकले लिलाम गरेर पनि बेच्नलाई खरिदकर्ता छैनन् । तान्दै थुपार्ने क्रम चलिरहेको छ ।

छिमेकी मुलुकबाट पेट्रोल–डिजेलबाट चल्ने सवारी साधन आयात गर्दा २४० प्रतिशत भन्सार तिर्नुपर्ने प्रावधान छ । अटोशोरुमहरुले एउटै गाडीमा एक लाखदेखि १५ लाख रुपैयाँसम्म नाफा खान्छन् । जबकि, कानुनले उत्पादनको २० प्रतिशतभन्दा बढी नाफा खान नपाउने व्यवस्था गरेको छ ।

अटोशोरुमले कतिमा गाडी भित्र्यायो ? कतिमा बेच्यो ? सरकारलाई जानकारी छैन । न खरिदकर्ता र बैंकलाई नै थाहा छ । सरकारले पछिल्लो समय विद्युतीय सवारी साधनलाई प्राथमिकता दिएको छ । विद्युतीय सवारी साधन आयातमा भन्सार र भ्याट पूर्ण रुपमा छुट गरिएको छ ।

२० वर्षे ट्याक्सी र ग्याँस टेम्पोको स्क्रयाब नम्बर प्लेटमा विद्युतीय ट्याक्सी दर्ता भइसकेको छ । हाल बजारमा दुई खालको विद्युतीय ट्याक्सी छन् । अटोशोरुमले एउटा ३८ लाख र अर्को ४१ लाख ५० हजारमा बेचिरहेको छ । यता, पेट्रोल, डिजेल र ग्याँसबाट चल्ने सवारी साधनको सट्टापट्टामा विद्युतीय माइक्रोबस दर्ता भइरहेको छ ।

सो माइक्रोबसको मूल्य ५०–६० लाख रुपैयाँ तोकिएको छ । निजी प्लेटको विद्युतीय गाडीहरु पछिल्लो समय छ्याप्छ्याप्ती बाटोमा देखिन थालेको छ । विद्युतीय स्कुटरहरु पनि दर्ता हुन थालेको छ । सरकारले विद्युतीय सवारी साधनमा भन्सार छुट गरिरहँदा त्यसको उत्पादन मूल्य कति हो ? सरकार र सर्वसाधारण अन्जान छन् ।

चीन र भारतबाट विद्युतीय गाडी आयात हुन्छ । त्यहाँ कतिमा बन्यो ? सरकार र सर्वसाधारणलाई जानकारी छैन । पुरै भन्सार र भ्याट छुटमा ल्याएको गाडीमा पनि व्यापारीले लाखौं नाफा खाइरहेका छन् । तर, सरकार आँखा चिम्लेर बसेको छ । सर्वसाधारण ठगिएकोप्रति सरकारलाई कुनै चासो नै छैन ।

राज्यले राजश्व नपाउने अनि अटोशोरुमचाँहि मोटाइरहने । अहिले बजारमा २० वर्षे गाडीको स्क्रयाब गरेको नम्बर प्लेट नौं लाख रुपैयाँमा बिक्री भइरहेको छ । नम्बर प्लेटसहित विद्युतीय ट्याक्सीको मूल्य झण्डै ५० लाख रुपैयाँ पुग्न खोज्छ । अनि त्यो पैसा उठाउने कोसँग भन्दा यात्रुसँग ।

सरकारले सिण्डिकेट तोडिदिने हो भने नम्बर प्लेट सित्तैमा पाइन्थ्यो । तर, सरकारलाई वास्तै छैन । सरकार हातमाथि हात बाँधेर अप्रत्यक्ष रुपमा सिण्डिकेटधारी व्यवसायीहरुकै साथ दिइरहेको छ । उपत्यकाभित्र जनसंख्या एक करोड बराबर छ । मान्छेको भीड भएको ठाउँमा ट्याक्सीको संख्या जम्मा नौं हजार छ ।

यता, कालिमाटीमा चल्ने ढुवानी गाडीमा पनि सिण्डिकेट छ । त्यहाँ जम्मा १०७ वटा ढुवानी भ्यान सञ्चालनमा छ । एअरपोर्टमा हाल २०७ वटा हरियो प्लेटको ट्याक्सी छ । सरकारले फो–स्ट्रक ट्याक्सी र माइक्रोबसको पनि दर्ता खोलेको छैन । पुराना गाडी हटायो, त्यसको स्क्रयाप गरेको नम्बर प्लेटमा अर्को ल्यायो ।

वर्षौंदेखि यही प्रवृत्ति चलिरहेको छ । सवारी साधन फलाम, सिसा, रबर, फर्म, प्लास्टिकले बनेको हुन्छ । छुट्टै बेच्ने हो भने यी सामान दुई रुपैयाँ किलोमा बिक्री हुँदैन । यसमा बैंकले करोडौं लगानी गर्छ । अनि बैंक नडुबे को डुब्छ ? जनताको लगानी नफसे कसको फस्छ ? मूल्य बढ्ने भएपनि छुट्टै कुरा ।

जुन दर्ता हुनेबित्तिकै आधा मूल्यमा झर्छ, त्यसमा बैंकले मोटो लगानी गर्छ । अनि बैंकलाई के भन्ने ? सरकारले जनतालाई कहिल्यै सचेत गराएन। जनता शिक्षित भए तर सचेत भएनन् । सरकारले सचेत गराइदिएको भए अहिले इन्धनबाट चल्ने सवारी साधन खरिद नै हुँदैनथ्यो ।

उनीहरु फस्नबाट त जोगिन्थें । एकातिर विस्थापना गर्ने मिति नजिकिँदै छ, अर्कोतिर धमाधम इन्धनबाट चल्ने सवारी साधन निर्वाध रुपमा दर्ता भइरहेको छ । यातायात कार्यालय त सरकार हो । सरकारले जनतालाई फसाउने कि बचाउने ? इन्धनबाट चल्ने सवारी साधन खरिद गर्नेलाई यातायात कार्यालयले कानुनबारे जानकारी गराइदिनुपर्ने हो ।

तर, कार्यालयले त्यसो गर्दैन । सरकारले कानुन बनाउँछ अनि दराजमा थन्काउँछ । व्यवसायी भनाउँदा दलालहरुलाई सरकारले लुट भनेर छोडिदिन्छ । दलालहरुले लुटिसकेपछि सरकारले नीति कार्यान्वयन गर्छ । अन्तिममा डुब्ने को भन्दा सर्वसाधारण । हुन त देशको सरकार नै दलाल भयो ।

जनतालाई लुट्नलाई यहाँ सरकारले नै प्रश्रय दिन्छ । जनताले पनि कहिल्यै सरकारको नीतिनियम बुझ्न चाहेनन् । जसको फाइदा सरकार र व्यापारीहरुले उठाइरहेका छन् ।अनुसा थापा

Facebook Comments Box
पोखराबाट दुबईका लागि दैनिक व्यावसायिक उडान सुरु हुने, फ्लाई दुबईलाई अनुमति
१३ घण्टा अगाडि

1.5kViews 311 Shares Share on Facebook Share on Twitter पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी २३ सेप्टेम्बर २०२६ (भदौ ७…

TOP
155 Shares