भाँडा माझेर काम थालेका रमेश गिरीअहिले सम्हाल्छन् पाँचतारे होटलको भान्सा

हाम्रा मास्टर-सेफ

राजधानी काठमाडौंको दरबारमार्गमा छ पाँचतारे होटल ‘याक एन्ड यती’।

यहाँका एक्जुकेटिभ शू–सेफ हुन् सिन्धुपाल्चोकका रमेश गिरी।

उनी संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा मासिक साढे तीन लाख रूपैयाँको कमाइ छाडेर नेपाल फर्केका हुन्। सन् २०१९ को डिसेम्बरमा उनी आउन आए। कोरोना संक्रमण द्रुत गतिमा फैलियो। एक वर्ष घर बसाइ भयो।

कोरोना मत्थर हुँदै गएपछि रमेशले साथीसँग मिलेर पोखरामा एउटा रेस्टुरेन्ट खोले। आफ्नो रेस्टुरेन्ट आफैं चलाउने सोच थियो, त्यही बेला उनलाई होटल याक एन्ड यतीले बोलायो। अवसर राम्रो भएपछि उनले रेस्टुरेन्ट चलाउने सबै जिम्मेवारी साथीलाई सुम्पेर काठमाडौं आए।

‘कोरोनाले रेस्टुरेन्ट त्यति चलेको पनि थिएन,’ रमेशले भने, ‘याक एन्ड यतीबाट कामको प्रस्ताव आएपछि उताको काम साथीको जिम्मामा छोडेर म यता आएँ।’रमेशका अनुसार होटल याक एन्ड यतीमा दुई वटा रेस्टुरेन्ट छन्। ‘बुफे’ रेस्टुरेन्टमा इन्डियन परिकार बन्छ, ‘चिम्नी’ मा युरोपेली र पश्चिमा परिकार। यहाँको चिम्नी रेस्टुरेन्ट महँगो र प्रख्यात छ। यी दुई रेस्टुरेन्टबाहेक होटलमा बैंक्वेट पनि छ। तीन वटा भान्सामा मात्र ४५ जना कर्मचारी छन्। यी सबै भान्सा र कर्मचारीको व्यवस्थापन गर्ने जिम्मेवारी रमेशकै हो।

विदेशको राम्रो कमाइ छाडेर स्वदेशको चर्चित पाँचतारे होटलको भान्सा सम्हाल्ने एक्जुकेटिभ शू–सेफ रमेशले यहाँसम्म आइपुग्न निकै मेहनत गरेका छन्। होटल क्षेत्रमा उनको सुरूआती प्रवेश भाँडा माझ्ने कामबाट सुरू भएको थियो।

२८ वर्ष अघिको कुरा हो। सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नगरपालिका–९ का रमेश कक्षा १० मा पढ्दै थिए। घरको आम्दानीको मुख्य स्रोत कुटानीपिसानी मिल थियो। खेतीपाती त हुने नै भयो।

अचानक रमेशका बुबाको एउटा हातमा समस्या आयो। मिल सम्हाल्ने जिम्मा आमाले लिइन्। घरका जेठा छोरा रमेशको पनि जिम्मेवारी बढ्यो। खेतबारीको धेरै काम उनको भागमा पर्‍यो। तर रमेशलाई यो कामले हैरान बनायो। उनी घरायसी जिम्मेवारीबाट छुटकारा पाउने उपाय खोज्न थाले। उमेर १५ वर्ष मात्रै थियो, पढाइ १० कक्षाको। घर छोडेर हिँडौं, पढाइ छोडिने; पढाइ नछाडौं घर बस्न मन भएन।

एकदिन उनको मनको कुरा कसैले सुनिदिएजस्तो भयो। गाउँका एक जना दाइले उनलाई काठमाडौं जाऔं भने।

जान त जाने तर के काम गर्ने?

ती दाइ भक्तपुरको एक होटलमा खाना पकाउने काम गर्थे। उनले त्यही होटलमा काम लगाइदिन्छु भने। यति आश्वासन पाएपछि रमेश हौसिए। घरमा कसैलाई नभनी खुसुक्क हिँडे। बाटोमा फुपू दिदी भेटिइन्। उनैलाई आफू सहर जान लागेको कुरा सुनाए।

रमेश त्यसअघि पनि काठमाडौं आएका थिए। नयाँबानेश्वरमा ठूलाबाको घर थियो। यसपटक घरबाट सल्लाह नगरी हिँडेकाले ठूलाबाको घर जाने आँट गरेनन्।

दाइले होटलमा काम मिलाइदिए, भाँडा माझ्ने। बिहान पाँच बजेदेखि राति १० बजेसम्म काम गर्नुपर्थ्यो। सजिलो कहाँ थियो र!

‘यसरी भाँडा माझ्नुभन्दा त हलो जोत्नै सजिलो भन्ने लाग्यो,’ रमेशले त्यो बेलाको अवस्था सुनाए।

तर घरबाट भागेर हिँडेकाले तुरून्तै फर्किन मन मानेन। त्यसैले त्यही काम गरिरहे। एकदिन उनी भाँडा माझेर फुर्सदमा थिए। खाजा खान आउने एक ग्राहकले केही मागे। उनले कुरा बुझेनन्। ती ग्राहकले उनलाई पछाडिबाट लात्तीले हाने। कुटिएपछि रमेश असाध्यै बिथोलिए। उनलाई असैह्य भयो। राति नै होटल छाडेर ठूलोबाको घर गए।

राति नौ बजेको थियो, रूँदै–रूँदै त्यहाँबाट निस्केँ,’ उनले त्यस दिनको कष्ट सुनाए, ‘ट्रली बसको बाटो हुँदै बानेश्वर आएँ। ठूलोबालाई सबै कुरा सुनाएँ।’

यसपछि पनि उनी घर फर्किने मनस्थितिमा थिएनन्। काठमाडौंमै बसेर काम गर्ने ठाने। ठूलोबाले उनलाई भोलिपल्टै दरबारमार्गको एक रेस्टुरेन्टमा काम लगाइदिए। काम उही थियो। तलब भने बढी भयो, महिनाको ११ सय रूपैयाँ। उनी उत्साहित भए।

‘घर फर्किने कुरै आएन। गाउँलेले काम गर्न नसकेर फर्क्यो भन्लान् भन्ने डर भयो,’ रमेशले भने, ‘भाँडा माझ्न सजिलो होइन, तर पनि काम गरेँ। नयाँ ठाउँमा म सबभन्दा सानो थिएँ, सबैले माया गरे।’

रमेश बिस्तारै काठमाडौंको रहनसहनमा भिज्न थाले। दरबारमार्गमा मान्छेको आउजाउ धेरै हुने, नयाँ मानिसहरूसँग चिनजान भयो। त्यहाँ तीन महिना काम गरेपछि रमेश ठमेलको इटालियन होटलमा भाँडा माझ्ने काममा गए। त्यहाँ पनि दुई महिना काम गरे।

रमेश बिस्तारै काठमाडौंको रहनसहनमा भिज्न थाले। दरबारमार्गमा मान्छेको आउजाउ धेरै हुने, नयाँ मानिसहरूसँग चिनजान भयो। त्यहाँ तीन महिना काम गरेपछि रमेश ठमेलको इटालियन होटलमा भाँडा माझ्ने काममा गए। त्यहाँ पनि दुई महिना काम गरे।

अर्को होटलमा उनकै उमेरका अरू कर्मचारी पनि थिए। कामबाट फुर्सद मिल्दा उनीहरूबीच गफ चल्थ्यो। एकदिन पढाइको कुरा भयो। उनले जस्तै अरूले पनि स्कुलको पढाइ छोडेका रहेछन्। समय मिलाएर पढ्ने सल्लाह भयो।

त्यो बेलासम्म रमेश काठमाडौं आएको नौ महिना मात्र भएको थियो। ठ्याक्कै स्कुलमा नयाँ भर्ना हुने समय आयो। रमेश जनप्रिय माध्यमिक विद्यालयमा भर्ना भए। समय मिलाएर स्कुल गए। काम र पढाइ एकसाथ चल्न थाल्यो।

‘म निकै मेहनती थिएँ। कामप्रतिको लगनशीलता राम्रो थियो। होटलका साहुले निकै माया गरे,’ रमेशले सुनाए।

 

एकदिन होटलका साहुले आफैं बोलाएर रमेशलाई कुक तालिम लिन पठाए। सायद रमेशको जीवन नजानी नजानीकन यही दिनको पर्खाइमा थियो। यही दिन उनको जीवनमा कोशेढुंगो भइदियो। बागबजारमा ‘होटल म्यानेजमेन्ट ट्रेनिङ सेन्टर’ थियो। त्यहाँ होटलहरूले आफ्ना कर्मचारीलाई तालिम लिन पठाउँथे। रमेशले त्यहीँ कुक तामिल लिए।यसपछि उनको पदोन्नति भयो, ‘कुक हेल्पर’ भए। भाँडा माझ्ने दिन सकिए। भान्साका सामान मिलाउने र तरकारी काट्न सघाउने मुख्य काम थियो। त्यहाँ दुई वर्ष काम गरेपछि रमेशलाई अर्को होटलले ‘असिस्टेन्ट कुक’ भएर काम गर्न बोलायो। उनी गए। यो उनका लागि अर्को खुड्किलो थियो। त्यहाँ काम गरेको एक वर्ष नहुँदै उनी ठमेलको ‘नर्थविच क्याफे’ मा कुक भएर गए।

दुई वर्षपछि उनलाई म्याग्दीको बेनीमा कामको अवसर आयो। तलब अलि राम्रो पाउने भएपछि त्यतै गए। तर त्यो निर्णय गलत भएको उनी बताउँछन्।

रमेशका अनुसार होटलको अगाडि एउटा स्कुल थियो। कुक ड्रेस लगाएको देखेर त्यहाँका विद्यार्थी उनलाई खिसी गर्ने पारामा भान्से भन्थे। उनी आफैं पनि कलिलै थिए, आफूले गर्ने कामकै कारण आफूलाई जिस्क्याउँदा नरमाइलो लाग्थ्यो।

‘मलाई देख्ने बित्तिकै भान्से आयो भनेर जिस्क्याउँथे। कुक भन्दा राम्रो लाग्थ्यो, भान्से भन्दा नराम्रो लाग्थ्यो,’ उनले भने।

रमेश होटलको साहुकै घरमा बस्थे। त्यहाँको बसाइ पनि सही भएन।

‘साहुकी आमाले घरको काम अह्राउँथिन्। गाईभैंसीको काम लगाउँथिन्,’ उनले भने, ‘म त्यसरी बस्न सकिनँ, ४५ दिनमा छोडेर हिँडेँ।’

त्यहाँबाट उनी पोखरा गए। काठमाडौंमा सँगै काम गरेका एक जना साथीको सहयोगमा पोखराकै एक रेस्टुरेन्टमा कुकको काम पाए। रेस्टुरेन्ट नजिकै कोठा भाडामा लिएर बसे।

रमेशको जीवनमा पोखरा बसाइ जीवनको अर्को मोड बनेर आयो। घरबेटीकी छोरीसँग उनको प्रेम बस्यो।

घरबेटीले मलाई साह्रै राम्रो ठान्नु हुन्थ्यो। छोरोझैं माया गर्नुहुन्थ्यो,’ रमेशले सम्झिए, ‘तर मैले उहाँकी छाेरीसँग माया बसेको कुरा भन्न सकिनँ। बिहे गर्छु भन्न सकिनँ।’

करिब साढे एक वर्ष लकीछिपी आफ्नो प्रेम हुर्काए। अनि एकदिन प्रेमिकालाई लिएर खुसुक्क काठमाडौं आए।

काठमाडौंमा कहाँ बस्नु! ठूलाबाको घर पनि गएनन्। केही दिन एउटा होटलमा बसे। पछि डेरा लिए। तुरून्तै काम पाउने कुरा भएन। पोखरामा कमाएको पैसा सकिँदै गयो।

‘श्रीमतीको सिक्री थियो। त्यही बेचेर कोठाको सामान जोड्यौं,’ उनले भने।

काठमाडौं आएको एक महिनापछि रमेशले एउटा रेस्टुरेन्टमा काम पाए। तलब साह्रै थोरै, दुई हजार पाँच सय मात्र। त्यही पनि केही दिनमै साहुले ‘अफ सिजन’ भन्न थाले। रमेशले काम छाडिदिए।

श्रीमती गर्भवती भइन्। उता घरमा बुबाआमालाई पनि थाहा थियो। तर आर्थिक सहयोग माग्ने अवस्था थिएन। उनलाई फेरि त्यही होटलले बोलायो। तलब थोरै भए पनि आपत परेकाले काम थाले।

‘घरमा खर्च हुन्थ्यो तीन हजार, तलब आउँथ्यो २५ सय,’ उनले भने, ‘एक बोरा चामल किन्ने दिन कहिले आउला जस्तो लाग्थ्यो, एकएक किलो किनेर खान्थ्यौं।’

जसतसो चल्दै थियो। अचानक रमेशलाई कतार जाने प्रस्ताव आयो। नेपालमा कमाइ हुने छाँट नदेखेका रमेशले श्रीमती र एक वर्षको छोरो छाडेर कतार जाने विचार गरे। म्यानपावर कम्पनीलाई ८० हजार रूपैयाँ बुझाउनु पर्ने भयो। आफ्नो बचत थिएन, घर खर्चमै ठिक्क हुन्थ्यो। साथीहरूसँग ऋण लिएर पैसा जोहो गरे।

सन् २००२ मा रमेश कतार उडे। तलब मासिक १८ हजार नेपाली रूपैयाँ थियो। त्यतिले कतारमा खानबस्न मात्र ठिक्क भयो। मुश्किलले बचाएको ४० हजार रूपैयाँ लिएर दुई वर्षपछि उनी नेपाल फर्के। नेपाल आएको दुई महिनापछि उनले काम पाए। फुर्सदको समय मिलाएर अंग्रेजी भाषा र कम्प्युटर सिक्न थाले। कतार बस्दा उनले अंग्रेजी भाषा बोल्न र कम्प्युटर चलाउन जान्नुको महत्व थाहा पाएका थिए।

एक वर्ष काम गरेपछि उनलाई दुबई जाने पाउने सम्भावनाको कुरा आयो। अन्तर्वार्ता दिनुपर्ने रहेछ। सहभागी भए। तारे होटलमा काम गरेकाहरू पनि रहेछन्। साधारण रेस्टुरेन्टमा काम गरेका रमेशले अवसर पाउने आशा मारिसकेका थिए। बल्ल छ महिनापछि नतिजा आयो। सुरूआती तहको कुकका लागि उनी छानिए।

‘खासमा के भएछ भने, म कतार हुँदै होटलका एक जना म्यानजेरसँग चिनजान भएको थियो। उहाँले नै दुबईमा पाँचतारे होटल होल्नुभएको रहेछ,’ रमेशले भने, ‘काम विदेशमा भए पनि दाम नेपालकै जस्तै थियो। विदेशको अनुभव काम लाग्छ भनेर थोरै तलबमा पनि गएँ।’

सन् २००६ जुलाईमा उनी दुबई गए। त्यहाँ होटल सम्बन्धी आधारभूत तालिम पाए। ‘फूड हाइजिन’ सिक्ने अवसर पाए। होटलको भण्डारमा भएका फलफूल र तरकारी दैनिक सूचीअनुसार पखाल्ने, छुट्याएर राख्ने, मासु काट्ने इत्यादि उनको काम थियो।

अंग्रेजी भाषा केही सिकेकाले सहज भयो। खास गरी तालिममा। तालिमपछि सोही कम्पनीको अर्को एक रेस्टुरेन्टमा ‘लाइभ कुकिङ’ को अवसर पाए। लाइभ कुकिङ भनेको ग्राहकको अर्डरअनुसार तुरून्तै पकाउनु हो। उनका अनुसार त्यो होटलका १२ वटा शाखा थिए। नयाँ शाखाको टिमको नेतृत्व रमेशले गरे। त्यही कम्पनीका अरू रेस्टुरेन्टमा काम गर्दै गए।

रमेशले भने, ‘त्यहाँ ग्राहक धेरै हुन्थे। धेरै जसो युरोपियन। केही अरेबियन र केही इन्डियन पनि हुन्थे। सबैसँग रमाइलो हुन्थ्यो।’

त्यहाँ काम गर्दागर्दै कुकका रूपमा उनको बढुवा हुँदै गयो।

उनका अनुसार दुबईमा वर्षमा एकपटक सिनियर र जुनियर सेफको प्रतिस्पर्धा हुन्छ। उच्चस्तरको मूल्यांकनबाट विजेता घोषण हुन्छ। उनले पनि त्यस्तो प्रतिस्पर्धामा सहभागी हुने अवसर पाए। प्रतिस्पर्धामा लाइभ कुकिङ गर्नुपर्थ्यो, आफैं रेसिपी बनाएर खाना बनाउनुपर्थ्यो। तीन सय जनाको प्रतिस्पर्धामा रमेशले स्वर्ण पदक पाए।

‘मसँग एउटा गोल्ड मेडल, तीनवटा सिल्भर मेडल र चार वटा ब्रोन्ज मेडल छन्। अहिले हेर्दा आनन्द लाग्छ,’ उनले भने।

त्यसपछि रेस्टुरेन्टको नयाँ शाखाको जिम्मेवारी उनैले सम्हाले। तह र तलब बढ्यो। ‘जुनियर शू-सेफ’ भए, तलब मासिक ८० हजार नेपाली रूपैयाँ पुग्यो। यसपछि उनले सोही कम्पनीका तीनवटा रेस्टुरेन्ट एकसाथ सम्हाले।

यतिन्जेलमा उनको तलब मासिक साढे तीन लाख नेपाली रूपैयाँ भयो। सर्भिस चार्ज र टिप्स अलग्गै आउँथ्यो। बस्न पैसा लाग्दैन थियो। वर्षमा एकपटक घर आउन र फर्कन हवाईजहाजको टिकट सुविधा थियो।

दुबईले उनलाई पैसा र सम्मान दुवै दिएको थियो। तर एकाएक रमेशको मन बदलियो। उनलाई स्वदेश फर्किन मन लाग्यो। यस्तो निर्णय लिनु सजिलो थिएन।

‘आफ्नो देश सम्झिएँ, आफ्नै देशमा केही राम्रो गरूँ भन्ने सोचेँ,’ उनले भने।

आखिर सन् २०१९ डिसेम्बरमा फर्के। अहिले याक एन्ड यतीमा एक्जुकेटिभ शू-सेफका रूपमा काम गरिरहेका उनलाई आफ्नो निर्णयमा पछुतो छैन। कहिलेकाहीँ पढाइ छाडेकामा भने केही पछुतो लाग्छ।

फेरि अर्को पाटोबाट चित्त बुझाउँछन्, ‘पढाइतिरै लागेको भए यत्तिको सेफ हुने थिइनँ होला। यो ठाउँमा पनि आउने थिइनँ होला। सेफ भनेको पैसा र इज्जत दुवै पाइने पेसा हो।’

उनका दुई छोराले भने राम्रो पढून्, पढाइबाटै उन्नति गरून् भन्ने उनको चाहना छ।

आज रमेश ठूलो होटलको ठूलै पदमा रहेर काम गरिरहेका छन्। तर काठमाडौंको एउटा सानो होटलमा काम गर्दाको एउटा क्षण उनी कहिल्यै भुल्दैनन्। एकदिन उनलाई कुकले मसला चिया बनाएर ल्याउन भनेका थिए। त्यो बेला होटलमा भाँडा मात्र माझिरहेका रमेशलाई के थाहा, तरकारीमा हाल्ने मसला हालेर चिया बनाए।

‘कुकले त्यही तातो चिया जिउमा छ्यापिदिए,’ उनी भन्छन्, ‘यस्तो कसैलाई नहोस्!’सेतोपाटी बाट साभार

Facebook Comments Box
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
१९ घण्टा अगाडि

2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…

TOP
Shares