पूर्वप्रधानमन्त्रीहरूको सुरक्षा पुनः बढाइने, गृह मन्त्रालयले दियो निर्देशन

काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षा व्यवस्था पुनः मजबुत बनाउने तयारी गरेको छ। गृह मन्त्रालयले तीनै जनालाई पछुवा गाडीसहित थप सुरक्षा उपलब्ध गराउने गरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई आवश्यक निर्देशन दिइसकेको छ।
पुस ८ गते राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्की र प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच भएको छलफलमा पूर्वप्रधानमन्त्रीहरूले चुनावी गतिविधिका लागि आवश्यक सुरक्षा वातावरण नबनेको गुनासो गरेका थिए। सो अवसरमा आफ्ना सुरक्षाकर्मी फिर्ता लगिँदा व्यक्तिगत सुरक्षामा जोखिम बढेको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका थिए। छलफलमा प्रधानमन्त्री कार्कीले आवश्यक सुरक्षा प्रबन्ध मिलाउने प्रतिबद्धता जनाएपछि गृह मन्त्रालयले तत्काल तयारी थालेको हो।
यसअघि असोज २३ गते केन्द्रीय सुरक्षा समितिको निर्णयअनुसार मापदण्डभन्दा बढी खटाइएका सुरक्षाकर्मी फिर्ता गरिँदा प्रचण्ड र ओलीको सुरक्षा टोली उल्लेख्य रूपमा घटाइएको थियो। देउवाले भने लामो समयदेखि सीमित सुरक्षामै सन्तोष गर्दै आएका थिए। तर सुरक्षा कटौतीसँगै सुरक्षा नेतृत्व तहसमेत घटाइएपछि तीनै पूर्वप्रधानमन्त्री असन्तुष्ट बनेका थिए।
गृह मन्त्रालय स्रोतका अनुसार अब सुरक्षाकर्मीको संख्या र व्यवस्थापन दुवै पक्षलाई सन्तुलनमा राखेर पुनः व्यवस्था मिलाइनेछ। “पूर्वप्रधानमन्त्रीहरूको भूमिका, गतिविधि र वर्तमान सुरक्षा चुनौतीलाई मूल्याङ्कन गरेर आवश्यक सुरक्षा सुनिश्चित गरिन्छ,” गृह स्रोतले जनाएको छ।
सरकारको यस निर्णयलाई आगामी राजनीतिक गतिविधि र चुनावी माहोललाई सुरक्षित र सहज बनाउनतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
२२ घण्टा अगाडि

1.2kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
179 Shares