

आन्तरिक पर्यटकको रोजाइमा रत्नेचौर
म्याग्दी । बेनी नगरपालिका–१ रत्नेचौर पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । केही वर्षअघिसम्म रातो माटो र कृषि उत्पादनमा आश्रित रत्नेचौर पर्यटकीय गाउँका रूपमा चिनिन थालेको छ । कात्तिकदेखि माघसम्म यहाँ आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्ने गर्दछ ।
कात्तिक–मङ्सिरमा रत्नेचौरको फाँटमा झुलेका धानसँगै पृष्ठभूमिमा धवलागिरि हिमाल, म्याग्दी, बागलुङ र पर्वतका ग्रामीण भेगको दृश्यावलोकन तथा पुस–माघमा पहेँलै फुलेको तोरीको आकर्षक दृश्य हेर्दै रमाउन र वनभोज खानका लागि यहाँ पर्यटकको भीड लाग्ने गर्छ ।
सदरमुकाम बेनी र बागलुङको बीचमा रहेको रत्नेचौरको तोरी बारीमा रमाउँदै टिकटक र भिडियो बनाउन आउनेहरूको चहलपहल बढेको स्थानीय शङ्कर महतले बताए । “चार वर्षअघिसम्म सुनसान हुने यो ठाउँमा अहिले दैनिक दुई हजार जनासम्म पर्यटक आएका छन्”, उनले भने, “पर्यटकको चहलपहलले व्यापार वयवसाय र आर्थिक गतिविधि बढेको छ ।”उत्तरतिर हेर्दा चाँदीझैँ टल्किने सेता हिमशृङ्खला, पूर्वतर्फ मोहोडा भएको समथर फाँटमा पहेँलै भएर फुलिरहेको तोरी र फाँटको बिचमा चिटिक्क परेको कालोपत्र सडकमा रमाउन पर्यटक आउने गरेका हुन् ।अहिले पहेँलपुर तोरीबारीले रत्नेचौर झकिझकाउ बनेको छ । उत्तरतर्फ मनोरम धवलागिरि हिमशृङ्खलाको दृश्य, हरियाली फाँट र तोरी फुलेर पहेँलपुर वातावरणले यस क्षेत्रको प्राकृतिक सुन्दरतालाई थप निखार दिएको कुश्माबाट आएका सागर भट्टराईले बताए ।रत्नेचौरबाट संसारको सातौँ अग्लो धवलागिरि हिमाल (आठ हजार १६७ मिटर) स्पष्ट देखिन्छ । यस्तै, समथर भूभागमा फुलेका तोरीबारीसँगै बेनी–बागलुङ सडकखण्डको कालोपत्र गरिएको चिल्लो सडकले थप आकर्षण प्रदान गरेको छ ।
तोरीबारीमा मौरी र भमरा रस चुस्दै गरेका रमाइला दृश्यले गाउँलाई जीवन्त बनाएको छ । बारीको छेउकुना तथा सडकको दायाँबायाँ मानिस तोरीबारी र हिमाल हेर्दै रमाइरहेका देखिन्छन् । पहेलै फुलेको तारीको बीचबीचमा हुर्कँदै गरेको गहुँको हरियालीले यहाँ आउने सबैको ध्यान खिचेको छ । रत्नेचौर फाँटमा गहुँ र तोरी झुलिरहेको छ । झुलिरहेको गहुँ र तोरीको सौन्दर्यमा युवायुवती र सर्वसाधारण टिकटक बनाउन, नाच्दै रमाउन व्यस्त छन् ।
शुक्रबार, शनिबार र सार्वजनिक बिदामा अन्य दिनमा भन्दा बढी भीड लाग्ने गरेको स्थानीय युवा कुशल शर्माले बताए । पर्यटकको भीडले गर्दा तोरी र गहुँबालीमा क्षति हुने गरेको स्थानीयवासीले गुनासो पनि गरेका छन् । तोरी र गहुँको खेतभित्र नपसिदिन पनि स्थानीयको आग्रह छ ।
रत्नेचौर र बागलुङको कुडुले (फेदी) जोड्ने तीन सय ८८ मिटर लामो झोलुङ्गे पुल पनि यहाँ आउने पर्यटकका लागि अर्को आकर्षण बनेको छ । वरिपरिको हरियाली तथा मुसुक्क मुस्कुराइरहेको धवलागिरि हिमालको दृश्यका साथै समथर फाँटको पहेँलपुर तोरीले पर्यटन प्रवर्द्धन गर्नुका साथै स्थानीयको व्यापारमा पनि सघाएको वडाध्यक्ष टेकबहादुर थापाले बताए ।
रत्नेचौरको प्रचारप्रसार र संस्कृति संरक्षण गर्ने उद्देश्यले यही माघ १६ गते एकदिने बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । स्वदेश तथा विदेशमा रहेका रत्नेचौरवासीबाट सहयोग जुटाएर लोकगायक गायिकाहरूको उपस्थितिमा सांस्कृतिक कार्यक्रम गर्न लागिएको स्थानीय अगुवा नेत्र महतले जानकारी दिए ।
पर्यटकहरूले मगर, क्षेत्री, थकाली, ब्रह्माणलगायत जातजातिको पोशाक लगाएर तस्बिर, भिडियो खिच्ने गर्दछन् । पर्यटकहरूलाई जातजातिको मौलिक पोशाक भाडामा लगाएर स्थानीयले आम्दानी गरेका हुन् । तोरीबारीमा मौलिक पोशाक लगाएर तस्बिर खिच्ने र सामाजिक सञ्जालमा राख्ने भिडियो बनाउने गरेका व्यवसायी रामकृष्ण पुनले बताउनुभयो । एक जोडा पोशाक एक घण्टा प्रयोग गरेबापत रु दुई सयदेखि तीन सय ५० शुल्क लिने गरेको बताए ।
“मसँग १५ जोड मगर ड्रेस छन्”, उनले भने, “दिनमा १० देखि १५ जनाले भाडामा लिनुहुन्छ ।” रेष्टुरेन्ट सञ्चालकसमेत रहेका थापाले पर्यटकको तस्बिवर खिचिदिने पनि गरेका छन् । एउटा तस्बिर खिचेबापत रु २० शुल्क लिने गरेको थापाले बताए ।
रत्नेचौरमा महिला सहकारी संस्था र अन्य रेष्टरेन्ट तथा पसलहरूले पनि जातिय पोशाक भाडामा लगाउने गरेका छन् । आकर्षक देखिने भएकाले जातीय पोशाक पर्यटकहरूको रोजाइमा परेको हो । बागलुङबाट रत्नेचौर आएकी रश्मी रानाले मौलिक पोशाकमा सजिएर खिचेको तस्बिर र बनाएको भिडियो स्मरणयोग्य भएको बताए ।
“तोरी र गहुँखेती भएको फाँटको बीचमा रहेको पक्की सडकमा मगर पोशाक लगाएर खिचेको फोटो र भिडियो आकर्षक देखियो”, उनले भने, “पृष्ठभूमिको धवलागिरि हिमाल र वरपरका मौलिक घरहरूले यहाँको दृश्यलाई क्यान्भासजस्तै बनाएको छ ।”रासस
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
२१ घण्टा अगाडि
1.2kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



