
प्रहरीका पीडा : कोठाभित्रै त्रिपालको सहारा
गत हप्ता प्रहरी सहायक निरीक्षक मानबहादुर पालको टोली गस्तीमा सुवेडा पुग्यो । दिनभर परेको पानीले पालसहित अन्य दुई प्रहरी जवान निथ्रुक्क भिजे । पानी पर्दै थियो उनीहरु राति ८ बजे मात्रै विमानस्थल प्रहरी चौकीमा पुगे ।चौकीमा पुग्दा डिउटी सकेर आएकाहरू आ–आफ्नो कोठामा गए । कोठा भने बाहिरको भन्दा बढी भिजेको थियो । कोठाका भित्ताहरु पूरै भिजेर हिलाम्य भएका थिए । ओछ्यान र भुइँ पनि उस्तै । “बिहान गस्ती जाने बेलामा आकाश उज्यालै थियो”, प्रहरी सहायक निरीक्षक पालले भने, “दिउँसो यस्तो पानी पर्ला भन्ने सोचाइ नै भएन । कोठाभित्र त्रिपाल टाँग्न पनि बिर्सिएछु । साँझ त यस्तो हालत ।”प्रहरी सहायक निरीक्षक पालको कोठामा मात्रै होइन, विमानस्थल सुरक्षाको जिम्मेवारीमा खटिएका सबै प्रहरी कर्मचारीको अवस्था त्यही छ । झरी पर्दा त्रिपाल नलगाउने हो भने कोठाभित्र बस्नै सकिन्न । “प्रचण्ड गर्मीमा पनि तातो जस्ता छानाले शरीरै जलाउने जसरी पोल्छ”, उनी भन्छन्, “बाध्यताले बस्नै पर्छ ।”देवल विमानस्थलमा प्रहरी चौकी बसेको दुई दशकभन्दा बढी भइसक्यो । विमानस्थल बन्नुभन्दा अगाडिदेखि नै निर्माणाधीन विमानस्थलको सुरक्षाका लागि जस्ताको भवनमा प्रहरी चौकी बसेको थियो । त्यो भवन न अहिलेसम्म फेरियो न त त्यसको छानो नै । धुजाधुजा भइसकेको भवनमा अहिले पनि प्रहरी सहायक निरीक्षकको टोली त्यही ठाउँमा बसेर शान्ति सुरक्षा दिइरहेको छ ।
विमानस्थलको चौकी मात्रै होइन, अन्य ठाउँमा पनि प्रहरीका भवनहरू नहुँदा प्रहरी एकाइहरू बिचल्लीमा छन् । अहिले कतै भाडामा त कतै सामुदायिक भवनहरूमा राखिएका छन् ।
चौबिसै घण्टा डिउटी गरिरहनुपर्ने जिल्ला अस्पताल अगाडिको प्रहरी पोष्ट लामखुट्टेको घर जस्तै देखिन्छ । वल्लोपल्लो घर तथा अस्पतालको फोहोर जलाउने ठाउँ त्यतै भएको हुँदा लामखुट्टेले एकै ठाउँमा उभिन दिँदैन । डिउटीमा बसेका एक प्रहरी जवानले भने, “पोष्टभित्र बस्दा सिधै झुलभित्र छिनुपर्छ । बाहिर एकै ठाउँमा उभिए माहुरीको गोलोमा आएजस्तै लामखुट्टे आउँछन् ।”
उनले सडक छेउमा सवारी जाँजका लागि रोक्नुपर्ने हुँदा पनि बढी लामखुट्टे आउने गरेको बताउनुभयो । “गाडी जाँच गर्दा पनि धुवाँ थुप्रिन्छ । दिनमा दर्जनौँ सवारी जाँज गर्दा अन्य ठाउँको भन्दा बढी लामखुट्टे बढ्न थालेका हुन्”, उनले भने ।
अस्पताल अगाडिको पोष्टमा चुहिने अवस्था पनि उस्तै छ । पुरानो भइसकेको जस्तापाताबाट रङ गइसकेको छ । “पानी पर्दा २० प्रतिशत जति भित्रै आउँछ,” उनले भने, “डिउटी त गर्नैप¥यो ।”
छविसपाथिभेरा गाउँपालिकामा प्रहरी चौकी लामो समय विद्यालयको भवनमा थियो । शान्ति मावि चौघानपाटाले भवन दिएपछि चौकी बसेको हो । अहिले भने स्थानीयवासीले शान्ति सुरक्षाका लागि जमिन उपलब्ध गराएपछि बगडगाउँमा प्रहरी चौकीको भवन बनेको छ ।
बझाङ प्रहरी प्रमुख जागेश्वर भण्डारीका अनुसार अहिले जिल्लामा २९ वटा प्रहरी युनिट छन् भने नौ वटा अस्थायी प्रहरी पोष्ट रहेका छन् । तर, अहिलेसम्म चार ठाउँमा मात्रै प्रहरीका आफ्नै भवनहरू छन् । “जिल्ला प्रहरी कार्यालय, बुङ्गल नगरपालिका, तलकोटको मेलबिसौना र छविसपाथिभेराको बगडगाउँबाहेक अन्य ठाउँमा आफ्नै भवनहरू छैनन्”, उनले भने, “प्रहरी युनिट तथा अस्थायी प्रहरी पोष्टका लागि जमिन पनि खोजिरहेका छौँ ।”उनीका अनुसार प्रहरी चौकी बस्न कम्तिमा पाँच रोपनी जमिन चाहिन्छ । “प्रहरीको आफ्नै भवनका लागि पाँच रोपनी जमिन चाहिन्छ । त्यो पनि नम्बरी, खुला ठाउँमा”, उनले भने, “हामीले सबै ठाउँमा जग्गाको खोजी गरिरहेका छौँ । जता भेटिन्छ, त्यो जमिन किन्छौँ र प्रहरीको भवन निर्माण गर्छौं ।” उनले जिल्लामा अहिलेसम्म खोजेजस्तो जग्गा नपाएकाले प्रहरी चौकी निर्माणमा ढिलाइ भएको बताउनुभयो ।रासस
समाज
थप सामाग्री-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
-
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
-
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
-
आँबुखैरेनीमा तेल ट्याङ्कर र ट्रक ठोक्किँदा सडक अवरुद्ध, दुई चालक घाइते
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
२० घण्टा अगाडि
2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…



