अख्तियार आयुक्त बन्न एआईजी शर्मा सक्रिय : कार्की आयोगपछि शक्ति केन्द्रमा तीव्र लबिङ

काठमाडौँ । नेपाल प्रहरीका अवकाशप्राप्त एआईजी विज्ञानराज शर्मा पुनः शक्ति केन्द्रतिर फर्किने प्रयासमा देखिएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त बन्न तीव्र लबिङमा जुटेका शर्माको सक्रियता यतिबेला राजनीतिक र प्रशासनिक वृत्तमा चर्चाको विषय बनेको छ।

भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनको घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगमा सदस्य भएर काम गरेका शर्माले प्रतिवेदन बुझाउनेबित्तिकै नयाँ संवैधानिक पदतर्फ दौड थालेको स्रोतहरूको दाबी छ। आयोगले पूर्वन्यायाधीश गौरीबहादुर कार्की को नेतृत्वमा साढे पाँच महिना लगाएर तयार पारेको प्रतिवेदन फागुन २४ मा बुझाइएको थियो।

स्रोतका अनुसार, आयोगभित्रै रहँदा पनि शर्माले अन्य पदाधिकारीभन्दा बढी ‘चलखेल’ गरेको आरोप छ। विशेषगरी नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकृतहरूमाथि पूर्वाग्रह राख्दै विभागीय कारबाही र फौजदारी अनुसन्धान सिफारिस गर्न उनले भूमिका खेलेको आरोप उठेको छ। एक उच्च प्रहरी अधिकृतका अनुसार, “प्रतिवेदन निष्पक्षभन्दा बढी प्रभावित देखिन्छ।”

राजनीतिक पहुँच विस्तारको प्रयास पनि समानान्तर रूपमा अघि बढेको देखिन्छ। प्रतिनिधिसभा निर्वाचनमा उल्लेख्य सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूसँग भेटघाट गर्दै शर्माले अख्तियार प्रवेशबारे छलफल गरेको जानकारहरू बताउँछन्। अख्तियारमा आयुक्त पद रिक्त भएपछि त्यसैलाई लक्षित गर्दै उनले आफ्नो सक्रियता बढाएको बुझिन्छ।

यसअघि अख्तियारका आयुक्त किशोर सिलवाल मंसिर २५ देखि अवकाशमा गइसकेका छन् भने प्रमुख आयुक्त प्रेम कुमार राई र आयुक्त जयबहादुर चन्द पनि करिब १० महिनापछि अवकाशमा जाने तयारीमा छन्। यही कारण आगामी नियुक्ति प्रक्रियामा प्रतिस्पर्धा तीव्र हुने देखिएको छ।

नेपालको संवैधानिक संरचनाअनुसार संवैधानिक परिषद् ले अख्तियारका पदाधिकारी नियुक्त गर्छ, जसको अध्यक्ष प्रधानमन्त्री हुने व्यवस्था छ।

तर, शर्माको विगत विवादरहित भने छैन। उनलाई आपराधिक पृष्ठभूमिका व्यक्ति राजु गोर्खाली सँग निकट रहेको आरोपसमेत लाग्दै आएको छ। एसएसपी हुँदा फरार अभियुक्त गोर्खालीलाई आफ्नै गाडीमा राखेर लैजाँदै गर्दा नियन्त्रणमा परेको घटना अझै पनि प्रहरी वृत्तमा चर्चित छ। यद्यपि, शर्माले यसबारे सार्वजनिक रूपमा स्पष्ट जवाफ दिएका छैनन्।

प्रहरी संगठनभित्र पनि उनी ‘स्वेच्छाचारी हाकिम’ का रूपमा चिनिने गरेको टिप्पणी पाइन्छ। संगठनमा रहँदा तत्कालीन आईजीपीको आलोचना गर्दै विभिन्न शक्ति केन्द्र धाउने प्रवृत्तिका कारण उनी विवादित छविमा देखिएका थिए भन्ने आरोपसमेत छ।

स्रोतहरूका अनुसार, व्यक्तिगत सम्बन्ध र पहुँचका आधारमा लबिङ सहज भएको दाबी पनि गरिएको छ, जसले नियुक्ति प्रक्रियाको पारदर्शितामाथि प्रश्न उठाएको छ।सोर्तका अनुसार विज्ञानराज शर्माको श्रीमती र अख्तियार प्रमुखको श्रीमती विच घनिष्ठ सम्बन्ध रहेकै कारण लविङमा सहजता भएको हो ।

यसरी हेर्दा, संवैधानिक निकाय जस्तो संवेदनशील संस्थामा नियुक्तिका लागि भइरहेको चलखेलले सुशासन र निष्पक्षताको बहस फेरि एकपटक सतहमा ल्याएको छ।

Facebook Comments Box
TOP
245 Shares