कपिलवस्तु तनाव : झडपमा घाइते युवकको मृत्युपछि भ्रम र धार्मिक द्वेष फैलाउनेलाई कारबाहीको चेतावनी

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले महाराजगन्जमा भएको झडपमा गोली लागेर घाइते भएका युवकको मृत्यु प्रकरणलाई लिएर सामाजिक सञ्जालमा भ्रम र धार्मिक द्वेष फैलाउनेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रहरीले एक प्रेस विज्ञप्ति जारी गर्दै केही व्यक्ति तथा समूहले सरकारी कार्यालयको हुँदै नभएको नक्कली कागजात देखाएर र चिकित्सकको उपचार प्रक्रियाबारे सामाजिक सञ्जालमा भ्रम सिर्जना गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) रिपेन्द्र कुमार सिंहले यस्ता भ्रामक लेख, फोटो र भिडियो पोस्ट वा सेयर नगर्न आग्रह गरेका छन्। कसैले भ्रम सिर्जना गरी धार्मिक द्वन्द्व र साम्प्रदायिक द्वेष बढाउने गतिविधि गरेमा कानुनबमोजिम कडा कारबाही गरिने प्रहरीले स्पष्ट पारेको छ। घटनाको सही जानकारी चाहिएमा जिल्ला प्रशासन कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न पनि प्रहरीले सर्वसाधारणलाई अपिल गरेको छ ।गत चैत ७ गते कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ बर्गदास्थित काली मन्दिरमा ढुङ्गामुढा र तोडफोड भएपछि हिन्दु र मुस्लिम समुदायबिच झडप हुँदा तनावको स्थिति सिर्जना भएको थियो। दुवै समुदाय आमनेसामने भएपछि प्रहरीले सम्झाइबुझाइ गर्ने प्रयास गर्दा प्रदर्शनकारीले बाटो बन्द गरी सुरक्षाकर्मीमाथि ढुङ्गामुढा र सिसाका बोतल प्रहार गरेका थिए । स्थिति नियन्त्रणबाहिर जान थालेपछि जिल्ला प्रशासन कार्यालयले सोही दिन दिउँसो २ बजेदेखि लागू हुने गरी महाराजगन्जका विभिन्न क्षेत्रमा निषेधाज्ञा (कर्फ्यू) जारी गरेको थियो। तर, प्रदर्शनकारीले निषेधाज्ञा तोड्दै सुरक्षाकर्मीमाथि भाला, खुँडा र सिसाका बोतलसहित आक्रमण गरेर प्रहरीलाई समेत गम्भीर घाइते बनाएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले न्यूनतम बल प्रयोग गरेको थियो । सोही क्रममा महाराजगन्ज नगरपालिका–६ सानो बुटहनियाका २३ वर्षीय जितेन्द्र यादव (अरुण) को पेट र बायाँ हातको पन्जामा गोली लागेको थियो ।गोली लागेर गम्भीर घाइते भएका यादवलाई तत्काल भैरहवा मेडिकल कलेज लगिएको र त्यहाँबाट थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर लगिएको प्रहरीले जनाएको छ ।

चैत ८ गते आन्द्राको अप्रेसनपछि भेन्टिलेटर र आईसीयूमा राखेर उपचार गरिएका उनको स्वास्थ्यमा सुधार आएको थियो। तर, चैत २१ गते स्वास्थ्यमा अचानक थप समस्या देखिएपछि पुनः अप्रेसन गरिएको र उपचारकै क्रममा चैत २२ गते राति १२ बजे उनको मृत्यु भएको प्रहरी विज्ञप्तिमा उल्लेख छ।युवकको मृत्युपछि अहिले विभिन्न माध्यमबाट घटनालाई अतिरञ्जित गर्ने र दुई समुदायबिच सद्भाव बिगार्ने प्रयास भइरहेको भन्दै प्रहरीले सुरक्षा व्यवस्था कडा पार्नुका साथै भ्रामक सूचना फैलाउनेमाथि निगरानी बढाएको छ।

Facebook Comments Box
TOP
170 Shares