सर्लाहीका गोरखकाली र त्रिभुवननगर नाकाबाट तस्करी बढेको आरोप, सुरक्षा निकायकै मिलेमतोको दाबी

सर्लाही । सर्लाही जिल्लाका सीमावर्ती क्षेत्र गोरखकाली र त्रिभुवननगर नाका पछिल्लो समय तस्करीका लागि सहज मार्ग बनेको आरोप स्थानीयस्तरबाट उठ्न थालेको छ । स्थानीय स्रोतका अनुसार ती नाकाबाट रातिको समयमा नेपाल–भारत सीमा हुँदै विभिन्न सामग्रीको अवैध ओसारपसार भइरहेको दाबी गरिएको छ ।

स्थानीयवासीहरूले नेपाल प्रहरी र सशस्त्र प्रहरी दुबैको मिलेमतो तथा संरक्षणमै तस्करी गतिविधि सञ्चालन भइरहेको आरोप लगाएका छन् । उनीहरूको भनाइ अनुसार सुरक्षाकर्मीको संलग्नता वा सेटिङबिना यति ठूलो मात्रामा अवैध कारोबार सम्भव नहुने दाबी गरिएको छ ।

मलङ्वा ट्रायल सेन्टर पूर्वी क्षेत्र अन्तर्गत पर्ने गोरखकाली नाका आसपास मोटरसाइकल प्रयोग गरी कपडा लगायतका सामान अवैध रूपमा ओसारपसार भइरहेको स्थानीय स्रोतको दाबी छ । स्रोतका अनुसार रातिको समयमा चोर बाटो प्रयोग गर्दै सामान ढुवानी हुने गरेको बताइएको छ ।

त्यस्तै, त्रिभुवननगर क्षेत्रमा पनि पछिल्ला दिनमा तस्करी गतिविधि बढेको स्थानीयको भनाइ छ । त्रिभुवननगरको पश्चिमी नहर साइडस्थित चोर बाटो प्रयोग गरी नेपाल र भारत दुवैतर्फ सामान ओसारपसार भइरहेको आरोप छ ।

स्थानीय स्रोतहरूले प्रहरी चौकी गोरखकालीका इन्चार्ज वरिष्ठ सई यज्ञ शाह र त्रिभुवननगरका इन्चार्ज वरिष्ठ सई प्रमाणन्द यादवको मिलेमतोमा तस्करी सञ्चालन भइरहेको आरोप लगाएका छन् । साथै सीमामा खटिएका सशस्त्र प्रहरीका केही व्यक्तिहरूको समेत संलग्नता वा संरक्षण रहेको दाबी गरिएको छ ।

यसैबीच, जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी योगेन्द्र बहादुर खड्काका घुमुवा सहायक हवल्दार धर्मेन्द्र पटेलमाथि पनि तस्करहरूसँग मिलेर रकम असुली गर्ने गरेको आरोप स्थानीय स्रोतले लगाएका छन् । एक व्यापारीले नाम नखुलाउने शर्तमा पटेलले तस्करहरूसँग मिलेर एसपीकै नाममा आर्थिक लेनदेन गर्ने गरेको दाबी गरेका छन् ।

यसअघि केही दिनअघि सर्लाहीका सीमावर्ती नाकाबाट भारततर्फ तस्करी गरिँदै गरेको ठूलो परिमाणको चिनियाँ लसुन र काँक्रोको बीउ भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले सीतामढी जिल्लाको लालबन्दी नाकामा बरामद गरेको घटना सार्वजनिक भएको थियो । उक्त घटनामा दुई वटा महिन्द्रा बोलेरो पिकअपसहित दुई जना व्यक्ति पक्राउ परेका थिए ।

त्यो घटनाले सर्लाहीका सीमा नाकाहरूमा तस्करी अझै सक्रिय रहेको संकेत गरेको स्थानीयको भनाइ छ । यद्यपि जिल्लामा तस्करी नियन्त्रणका लागि कडाइ गरिएको दाबी भइरहे पनि व्यवहारमा प्रभावकारी नदेखिएको गुनासो उठ्दै आएको छ ।

सरकारले भन्सार प्रक्रिया अनिवार्य गरेको भए पनि सीमाक्षेत्रमा तस्करी रोकिएको नदेखिएको स्थानीयको आरोप छ । सामान्य नागरिकमाथि कडाइ हुने तर तस्करहरू भने निर्बाध रूपमा सक्रिय रहने गरेको उनीहरूको भनाइ छ ।

यस सम्बन्धमा लगाइएका आरोपबारे सम्बन्धित प्रहरी निकायहरूको आधिकारिक प्रतिक्रिया भने प्राप्त हुन बाँकी छ । स्थानीयले भने निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

Facebook Comments Box
TOP
122 Shares