आईजीपी कार्कीको दूरदर्शी योजना : नेपाल प्रहरी रूपान्तरणको नयाँ यात्रा

नेपाल प्रहरी संगठन पछिल्लो समय परम्परागत सुरक्षा ढाँचाबाट बाहिर निस्किएर आधुनिक, प्रविधिमैत्री र नागरिक–केन्द्रित संस्थातर्फ उन्मुख हुने संकेत देखिएको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तीन वर्षे रणनीतिक योजना केवल प्रशासनिक दस्तावेज होइन, संगठनको दीर्घकालीन रूपान्तरणको खाका बन्न सक्ने सम्भावना बोकेको छ ।

महानिरीक्षक दानबहादुर कार्कीले सार्वजनिक गरेको यो रणनीतिक योजनाले नेपाल प्रहरीलाई केवल अपराध नियन्त्रण गर्ने निकायको सीमित भूमिकाबाट बाहिर निकाल्दै ‘सेवा र भरोसाको संस्था’ का रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ । “नवप्रवर्तन, इमानदारिता र तत्परतामार्फत सेवाको रूपान्तरण” भन्ने मूल नाराले नै संगठनभित्र सोच परिवर्तनको प्रयासलाई संकेत गर्छ ।

योजनामा ‘चुस्त प्रहरी सेवा–सुरक्षित समुदाय’ भन्ने मुख्य दृष्टि तय गरिएको छ, जसले प्रहरी सेवाको केन्द्रमा नागरिकलाई राख्ने स्पष्ट सन्देश दिन्छ । सात रणनीतिक क्षेत्र, ३६ रूपान्तरणकारी रणनीति र ९९ मुख्य कार्यहरूको संरचनाले यो योजना केवल घोषणा मात्र नभई विस्तृत कार्यढाँचा भएको देखाउँछ ।

पछिल्ला वर्षहरूमा प्रहरी संगठनप्रति उठेका प्रश्न—अनुसन्धानको ढिलाइ, प्रविधिको सीमित प्रयोग, आन्तरिक अनुशासन र राजनीतिक प्रभावका आरोप—बीच यस्तो योजना आउनु आफैंमा महत्वपूर्ण संकेत हो । विशेषगरी अपराधको स्वरूप परिवर्तन हुँदै गएको वर्तमान समयमा साइबर अपराध, संगठित अपराध र सीमा–पार अपराधसँग जुध्न प्रविधि र विशिष्टीकृत अनुसन्धान प्रणाली अनिवार्य बन्दै गएको छ, जुन यस योजनाको मूल प्राथमिकतामा समेटिएको छ ।

आईजीपी कार्कीको नेतृत्वमा पछिल्ला समय देखिएका सुधार प्रयासहरू—डिजिटल प्रणाली विस्तार, कार्यसम्पादनमा आधारित मूल्यांकन, र नागरिक–प्रहरी सम्बन्ध सुधार—ले यस योजनालाई व्यवहारमा रूपान्तरण गर्ने आधार तयार गर्न खोजिएको देखिन्छ । संगठनभित्र उनलाई ‘वर्किङ आईजी’ का रूपमा चिनिने धारणा पनि यही सक्रिय शैलीसँग जोडिन्छ ।

तर, रणनीति जतिसुकै स्पष्ट र महत्वाकांक्षी भए पनि यसको वास्तविक परीक्षण कार्यान्वयनमा हुने छ । नेपाल प्रहरीजस्तो विशाल संगठनमा संरचनागत जटिलता, स्रोत–साधनको सीमितता र पुरानो कार्यसंस्कृतिको प्रभाव अझै चुनौतीका रूपमा कायम छन् । योजना कागजमै सीमित हुने हो भने सुधारको अपेक्षा केवल औपचारिकतामा सिमित हुन सक्छ ।

त्यसैले, यो रणनीतिक योजना सफल हुनका लागि नेतृत्वको निरन्तर प्रतिबद्धता मात्र होइन, राजनीतिक हस्तक्षेपबाट संगठनलाई सुरक्षित राख्ने संस्थागत वातावरण पनि उत्तिकै आवश्यक छ । साथै, पारदर्शिता, उत्तरदायित्व र नतिजामुखी कार्यसंस्कृति स्थापित गर्न सके मात्र नागरिकको विश्वास पुनः मजबुत बनाउन सकिन्छ ।

समग्रमा हेर्दा, यो रणनीतिक योजना नेपाल प्रहरीलाई आधुनिक, पेशेवर र प्रविधिमैत्री संगठनमा रूपान्तरण गर्ने दिशामा एउटा महत्वपूर्ण प्रयास हो । अब प्रश्न केवल दृष्टिकोणको होइन, कार्यान्वयनको हो ।

Facebook Comments Box
एनसेल–स्मार्ट टेलिकम लिलाम प्रकरण: अनुसन्धान लम्बिँदै, उच्च तहका अधिकारीमाथि प्रश्न
२२ घण्टा अगाडि

1.5kViews 451 Shares Share on Facebook Share on Twitter काठमाडौं । एनसेल र स्मार्ट टेलिकमसँग जोडिएको लिलाम प्रकरणमा मुख्य योजनाकारका…

TOP
243 Shares