काभ्रे प्रहरीमा नयाँ नेतृत्व : एसपी रविन कार्कीद्वारा अपराध नियन्त्रण र जनसुरक्षामा कडा प्रतिबद्धता

काभ्रेपलाञ्चोक । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको नेतृत्व सम्हाल्दै प्रहरी उपरीक्षक (एसपी) रविन कार्कीले जिल्लामा शान्ति सुरक्षा मजबुत बनाउने, अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने तथा नागरिकमैत्री प्रहरी सेवामा जोड दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आज औपचारिक रूपमा पदभार ग्रहण गर्दै एसपी कार्कीले संविधान, प्रचलित कानुन तथा मानव अधिकारका अन्तर्राष्ट्रिय मूल्य–मान्यताको पूर्ण पालना गर्दै जिल्लाको सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाइने बताएका हुन् ।

उनले काभ्रेमा शान्ति, सुरक्षा र अमनचयन कायम राख्न सम्पूर्ण प्रहरी संयन्त्रलाई सक्रिय रूपमा परिचालन गरिने स्पष्ट पार्दै अपराध अनुसन्धानलाई व्यावसायिक, पारदर्शी र परिणाममुखी बनाउने आफ्नो प्राथमिकता रहेको बताए ।

“नेपालको संविधान र प्रचलित ऐन–कानुनको पूर्ण परिपालना गर्दै जिल्लाको सार्वजनिक सुरक्षा कायम राख्न म हरपल निष्ठापूर्वक प्रयत्नरत रहनेछु,” एसपी कार्कीले भने, “अपराध नियन्त्रण र अनुसन्धानमा कानुनी शासनको अनुभूति हुने गरी प्रभावकारी कार्यसम्पादन गरिनेछ ।”

उनले प्रहरी संगठनभित्र अनुशासन, व्यावसायिकता र उत्तरदायित्वलाई थप मजबुत बनाउने उल्लेख गर्दै मातहतका प्रहरी इकाइहरूको मूल्यांकन कार्यक्षमता र नतिजाका आधारमा गरिने बताए ।

एसपी कार्कीले प्रहरी कर्मचारीको मनोबल उच्च राख्दै जनविश्वास जित्ने गरी काम गर्न निर्देशन दिँदै नागरिकको सुरक्षालाई केन्द्रमा राखेर सेवा प्रवाह गरिने प्रतिबद्धता जनाए ।

नयाँ नेतृत्वसँगै काभ्रे प्रहरीको कार्यसम्पादन थप प्रभावकारी हुने अपेक्षा गरिएको छ । जिल्लामा बढ्दो साइबर अपराध, लागूऔषध कारोबार, सडक सुरक्षा तथा सामाजिक शान्ति कायम गर्ने चुनौतीबीच एसपी कार्कीको आगमनलाई महत्वका साथ हेरिएको छ ।

स्थानीयवासी तथा सरोकारवालाले पनि नयाँ नेतृत्वले काभ्रेको सुरक्षा व्यवस्थापनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन् ।

Facebook Comments Box
एनसेल–स्मार्ट टेलिकम लिलाम प्रकरण: अनुसन्धान लम्बिँदै, उच्च तहका अधिकारीमाथि प्रश्न
१५ घण्टा अगाडि

1.4kViews 451 Shares Share on Facebook Share on Twitter काठमाडौं । एनसेल र स्मार्ट टेलिकमसँग जोडिएको लिलाम प्रकरणमा मुख्य योजनाकारका…

TOP
367 Shares