

कारबाही भोगेका डीएसपी डेढ महिनामै ‘पुलिस अफ द मन्थ’, कैलाली प्रहरीको निर्णयमाथि प्रश्न
काठमाडौं । जिल्ला प्रहरी कार्यालय कैलालीले नसिहत कारबाही भोगेका प्रहरी नायव उपरीक्षक (डीएसपी) रणबहादुर चन्दलाई उत्कृष्ट प्रहरी अर्थात् ‘पुलिस अफ द मन्थ’ घोषणा गर्दै सम्मान गरेको छ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुखका रूपमा कार्यरत रहेका डीएसपी चन्द गत चैत दोस्रो साता वन्यजन्तुको अंग लुकाइएको घटनामा मुछिएका थिए। उक्त घटनामा उनीसहित तीन जना प्रहरी अधिकृतलाई कैलाली प्रहरीले नसिहत कारबाही गरेको थियो। तर कारबाही भएको करिब डेढ महिनामै उनी पुनः कैलाली प्रहरीको उत्कृष्ट प्रहरीका रूपमा छनोट भएका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीले २०८३ साल वैशाख महिनाको ‘पुलिस अफ द मन्थ’ घोषणा गर्दै बिहीबार डीएसपी चन्दलाई प्रशंसापत्रसहित सम्मान गरेको हो। कैलाली प्रहरी प्रमुख एसपी नरेन्द्र चन्दले उनलाई उक्त सम्मान प्रदान गरेका हुन्।
कैलाली प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार डीएसपी चन्दले फरार प्रतिवादी पक्राउ, नदीजन्य पदार्थको अवैध दोहन नियन्त्रण, सवारी साधन नियन्त्रण तथा राजस्व संकलन, लागूऔषध नियन्त्रण, अवैध काठ तथा हातहतियार बरामद तथा घरेलु मदिरा नष्ट गर्ने कार्यमा उल्लेखनीय भूमिका निर्वाह गरेका थिए।
त्यसैगरी समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत स्थानीय तहमा शान्ति सुरक्षा कायम गर्न, सर्वसाधारणमा सुरक्षाको अनुभूति दिलाउन तथा सामाजिक सहकार्यलाई मजबुत बनाउन योगदान पुर्याएको भन्दै उनलाई सम्मान गरिएको प्रहरीले जनाएको छ।
कैलाली प्रहरीले जारी गरेको विवरणमा डीएसपी चन्दले “उच्च व्यवसायिकता, कर्तव्यनिष्ठा तथा संगठनको नीति–निर्देशनको पूर्ण पालना गर्दै प्रहरी संगठनको छवि उच्च राख्न महत्वपूर्ण योगदान दिएको” उल्लेख गरिएको छ।
तर वन्यजन्तु अंग लुकाइएको जस्तो संवेदनशील घटनामा नसिहत कारबाही भोगेका एक प्रहरी अधिकृतलाई छोटो अवधिमै उत्कृष्ट प्रहरी घोषणा गरिनु आफैंमा विवादको विषय बनेको छ। प्रहरी संगठनभित्र अनुशासन र जवाफदेहिताको सन्देश कमजोर हुने तर्कसहित कैलाली प्रहरीको निर्णयमाथि प्रश्न उठ्न थालेको छ।
उल्लेखनीय कुरा के छ भने सम्मानित भएका डीएसपी चन्द हाल जिल्ला प्रहरी कार्यालय डोटीमा सरुवा भइसकेका छन्। कारबाहीको अभिलेख कायम रहेकै अवस्थामा गरिएको यो सम्मानले प्रहरी संगठनको मूल्यांकन प्रणाली, मापदण्ड र निर्णय प्रक्रियामाथि समेत बहस सुरु गराएको छ।
समाज
थप सामाग्री-
सुधन गुरुङको प्रेस काउन्सिलमा उजुरी, ‘पीत पत्रकारिता’ गरेको आरोप लगाउँदै कारबाहीको माग
-
रवि लामिछानेमाथिका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिन अदालतको अनुमति, सहकारी ठगी मुद्दा यथावत
-
एनसेलको बोर्डदेखि सेयर कारोबारसम्म प्रश्नै–प्रश्न : अर्बौं राजस्व विवाद, गोप्य प्रतिवेदन र नियामक निकायको मौनता
-
एसएसपी रमेश थापाद्वारा सरुवा भएका डिएसपीलाई स्वागत तथा बिदाइ
-
सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनीकरण अभियान २०८३ शुभारम्भ
काठमाडौँ उपत्यकामा सडक तथा सवारी लक्षित मनसुनजन्य विपद् न्यूनीकरण अभियान सुरु
१० घण्टा अगाडि
1.1kViews 445 Shares Share on Facebook Share on Twitter काठमाडौँ । “सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनीकरण अभियान २०८३”…



